Header Ads

पागल केसीको अनशनको सन्दर्भमा सभासद पाण्डेलाई चिठ्ठी

कुरा लुकाएर गरौ कि कुरा फुकाएर गरौँ, राजेन्द्र प्रसाद पाण्डे ज्यु ? मैले यो पत्र अन्जानमै लेखेको हुला सायद तर त्यति मुर्ख पनि छैन कि देशमा के सहि भएको र के गलत भएको छुट्याउनै नसक्ने । तपाइँहरुले गर्ने राजनीतिशास्त्र अनुसार म तपाइँको घोर बिरोधी हुँ भने बास्तविक राजनीतिशास्त्र अनुरुप म तपाइँको शुभ-चिन्तक हुँ । आशा छ, जति बिरोध गरेपनि दरो मुटु बनाएर पुरा पत्र पढीदिनु हुन्छ । केहि समय अगाडी जनताले तपाइँलाई भोट दिएर संबिधान बनाउन पठाएका थिए । धादिङ क्षेत्र नम्वर ३ बाट सभासदमा चयन पनि हुनु भयो तर संबिधान बनाउन जानु भएको तपाइँ त्यो कामलाई चटक्क छोडेर आफैलाई मालिक बनाउने हेतुले होला सायद २४ सय जनताको पछी लागेर मेडिकल कलेजतिरको ब्यबसाय तिर व्यस्त बन्नु भएछ ।

अनि आफुलाई घाटा लाग्ने भएपछि जनताको स्वास्थ्य संग सम्बन्धित भएर अनसन बस्नु भएका डा गोविन्द केसीलाई पागल भन्न भ्याउनु भएछ । संबिधान नदिने निश्चित भएरै हुनसक्छ- धेरै अघि देखि एउटा मेडिकल कलेज चाही दिन्छु भन्ने हेतुले यतातिर लाग्नु भएको’ तर त्यो डा गोविन्द केसी भनिने पागलले गर्दा अलपत्र पर्नु भयो । त्यसैले मलाई त्यो केसीको माग सम्बोधन भए २ अर्व डुब्ने खतराले मृत्यु सैयामा अन्तिम स्वास लिईरहेको बिरामी सरह बन्नु भएको तपाइँ प्रति ठूलो दया जागेर आयो अनि केहि लेखें । हुन त फेरी यसरी तपाइँको विपक्षमा लेखिएको पत्र देखेर तपाईलाई लाग्ला यो मान्छे एमाले बाहिरको कुन चाही पागल रहेछ भनेर । बिबेक शुन्य म एउटा नेपाली भएको नाताले हुन् सक्छ, पैसा भन्दा धेरै देशको भविष्य प्रति चिन्ता लाग्छ । देशको दुरावस्था देखेर कहिलेकाही पागलले झैँ एक्लै रुने बिचित्रको मान्छे म पनि हुँ । त्यसैले माफियाहरुको बिरुद्धमा बोल्ने पागल डा. गोविन्द केसीसंगै उनको सबै अनुयायी पागल भए झैँ मलाई म आफैले पागल भन्न रुचाएँ । तपाइ राम्रा मानिसहरुको नजरमा हामी नराम्रा पागलहरुको कुरा नपच्नु स्वभाविक नै हो । हामी पागलले देखेको सारा नेपालीको सम्वृद्धिको सपनालाई पुरा गर्ने पागल मान्छे नभेटेर हुन सक्छ हामी पागलहरुले तपाइँलाई सभासद बनाएर संबिधान सभामा पुर्यायौ । संबिधान नबने पनि त्यहि कामको लागि राज्यले दिएको भत्तालाई सहि उपयोग गरेर तपाइँ मेडिकल खोल्ने काम गर्दै हुनुहुँदो रहेछ । यो कुरामा तपाइँ सहित ६ सय १ जनाले यस्तै के-के गरे होलान । अनि कसरि बनोस संबिधान ? सभासद पाण्डे ज्यु, डा गोविन्द केसी कुन राजनीतिक आस्था बोकेका नागरिक हुन् मलाई मतलव छैन ! मलाई मतलव सिर्प ति पागलको जायज मागमा छ, उनि के चाहन्छन भन्ने कुरामा छ र देशको सिंगो भविष्यसंग गासिएको कुरासंग छ । एउटा मेडिकल कलेज खोलेर ब्यवसाय चौपट हुने भयो भन्दै प्रधानमन्त्रीलाई सिंगो एमालेको समर्थन फिर्ता गरि सरकार गिराउँछु भन्ने तपाइँ जस्तोको मेडिकल कलेजमा भोली कुनै बिरामी तल-माथि भए कसले कारवाही गर्न आँट गर्ने ? भोली तपाइँको मेडिकल कलेजमा बिद्यार्थीलाई सिकाउन पाईएन भनेर २/४ जना जिउँदा नागरिकलाई लास घोषित गरेर जे परिक्षण गरे पनि कसले के भन्ने ? आज एउटा मेडिकल कलेज खोल्न पाइएन भनेर सरकार गिराउछु भन्दै डुग्रने तपाइँले भोली तपाइँको अधिनमा रहेको मेडिकल कलेजमा भएको बेथितिको भन्डाफोर वा अनुगमनमा जानेले कत्रो छाती लिएर जाने ? तपाइँले एक कल फोन गरेर मेरो मेडिकल कलेज राम्रै छ भनेर भन्दिदैमा अनुगमनकर्ताहरु फर्कने हुन् कि ? त्यति बेला वास्तविकता जसले देख्छ उसैमा सिमित रहनेछ । पाण्डे सरलाई थाहा नभएको हो वा भएर पनि जे गरे पनि हुन्छ भन्ने लागेको हो, पसल खोले झैँ मेडिकल सजिलै खोल्दै सम्बोधन दिंदै जाने हो भने यसको मार कसलाई पर्छ ? हामी नेपालीलाई हैन ? सभासद पाण्डेज्यु, धेरै अस्पताल हुँदा त्यसको असर स्वास्थ्यमा भन्दा पनि पैसामा पर्छ । कसैले पनि घाटाको ब्यापार गर्दैन, अनि नाफाकै लागि एउटा सानो रोगीलाई पनि ठूलो रोगि बनाएर महिनौं हस्पिटलमा राखेर लगातार जनता लुट्ने खेल हुन थाल्छ । तपाइँले भन्नु भएछ -‘अरु मेडिकल कलेजले भन्दा झण्डै १० लाखभन्दा पनि कममा हामी पढाउँछौं ।’ यही त छ कमजोरी ।

तपाइँ जस्तो जिम्मेवार मान्छे एउटा ब्यबसायीको हिसावले कलेजको बिज्ञापन गर्दै हिड्ने कि लाखौँ पढ्न नपाएका र पढेर पनि आफ्नो देशमा काम नपाई खाडी मुलुकमा अर्काको लागि बिकास उभ्याईरहेका लाखौँ युवाहरुलाई देशमै केहि गर्ने वातावरण बनाउन नीति निर्माणमा जुट्ने ? यसो गर्न सके त देशमा एउटा डाक्टरी पढ्न लाग्ने सानो-तिनो रकम बार्गेनिंगको कुरामा अल्झिनु पर्ने थिएन कि ? के तपाइँ जस्तो जिम्मेवार मान्छेले यो देशमा नयाँ नीति ल्याएर समग्र कुरामा सकारात्मक परिवर्तन ल्याउन सक्नु हुन्न ? कस्तो अभ्यास ? एउटा मेडिकल कलेज खोल्न नपाउँदा सरकार गिराउनेसम्मको प्राभाव पर्छ है हाम्रो देशमा ? तपाइले केसी अनसन बस्दा हजारौं जनतालाई भएको घाटाको बिषयमा धेरैको टाउकोमा गुदी भर्नु भएछ तर दैनिक अब्यबस्थित अस्पताल र डाक्टरले गर्ने लापरवाहिले मरिरहेका लाखौँ मान्छेहरुको बिषयमा किन सोच्न सक्नुहुन्न ? के पागल मानिसको दिमागले मात्र नेपाल अनि नेपालीको बारेमा सोच्ने हो ? तपाइँ जस्तो सध्य मानिसलाई देश र जनताको बारेमा सोच्न आउँदैन ? सभासद पाण्डे ज्यु, डा. केसीले उठाएको एउटा महत्त्वपूर्ण नीतिगत प्रश्न ध्यान दिनुहोस- मेडिकल कलेज राजधानीमा चाहिएको छ कि राजधानी बाहिर ? मुलुकको नीति बनाउनु पर्ने ठाउँमा पुग्नुभएको तपाइँ जस्तो मान्छे आफै ब्यबसाय गर्न थालेपछी देश कताबाट उभो लाग्छ ? के तपाइँले तपाइको कलेज कर्णालीमा लगेर खोल्न आँट गर्नु हुन्छ ? छ हिम्मत ? त्यो हिम्मत छ भने भन्नुस यदी छैन भने तपाइँले यति धेरै अस्पताल र मेडिकल कलेज भएको काठमाडौँमै के आशाले मेडिकल कलेज खोल्न लाग्दै हुनुहुन्छ ? राजधानी र आसपासमा अहिले ८ वटा मेडिकल कलेज छन् ।

ठुल्ठूला सरकारी अस्पताल र च्याउसरी उम्रेका निजी अस्पताल यहीँ छन् । अस्पताल धेरै, बिमारी थोरै भएर अस्वस्थ प्रतिस्पर्धा बढेको बढ्यै छ । अस्पताल छिरेको बिमारीलाई अँचेटेर अस्पतालको खर्च उठाउनकै लागि सारा परीक्षण भिडाउने र आवश्यकताबिना जिउ चिर्न लगाउने विकृति बढेको छ । काठमाडौंमा निजी मेडिकल कलेज थपिएर तिनले पुर्‍याउने योगदान यही विकृतिमा मात्रै हो । त्यसैले तपाइँलाई पत्याउने जनता तपाइको ब्यवसायमा सेयर हाल्ने २४ सय र तिनको परिवार बाहेक कोहि छैनन् र पछी तपाइँले खोल्नु भएको मेडिकल कलेजको पनि माथिकै हालत हो । सक्नु हुन्छ भने पहिले विश्वास दिलाउनुस कि तपाइँ जनताको स्वास्थ्यमा हुने अनियमितता तथा लापरवाहि हटाउन सक्नु हुन्छ । बढ्दो बेथिति खबरदारी गर्नुपर्ने तपाइँ जस्तो नेता नै जानी-नजानी लुटतन्त्रको मतियार जस्तो बनेर नीति-निर्माण नबनाई आफै ब्यबसायीको बिल्ला बोकेर आउनु किमार्थ देशको लागि राम्रो हुँदै होइन ।

त्यसैले अझै भन्छु – केसीको अनसनमा म पूर्ण समर्पित छु । केसीले उठाएका मागमा विमति जनाउनुपर्ने कारण म देख्दिन । गोबिन्द केसी जस्तो अरु मान्छेका लागि आफुलाई बाजीमा राखेर काम गर्ने अर्को मानिस यो दुनियाँमा बिरलै पाइन्छन । यस्तो अवस्थामा तपाइँको विश्वास कसरी गर्ने ? यसै कारण पनि नेपालको लागि दिनरात पसिना बगाउने हरेक नेपालीहरु तपाइँ भन्दा पनि केसीको साथमा छन् । उनको अनसनले रातारात अर्बपति हुने सपना देख्ने हजारौं व्यवसायीहरूको गोडा काप्नु स्वभाविक नै हो । माननीय सभासद महोदय, करोडौं गरिब नेपालीको पसिनाको कमाई करमार्फत सभासद्को तलब खाने हजुरको मुख्य काम राम्रो नीति निर्माण तथा संबिधान बनाउने हो र तिनै नीतिलाइ अबलम्बन गरि अघि बढ्ने हो तर आज तपाइँ स्वयम् स्वास्थ्य र मेडिकल जस्तो संबेदनसिल क्षेत्रलाइ खुद्रा ब्यापार तथा काठमाडौँका ब्यबस्थापन, मानविकी कलेज जस्तो बुझेर नियम, कानुनको धज्जी उडाई व्यापार गर्न खोज्नु सिंगो देशको लागि कति न्याय संगत हो त्यो आफैले बुझ्नु जरुरि छ ।

डा. केसी जस्तो साधारण मान्छेले स्वस्थ क्षेत्र जस्तो संवेदनशील र गरिब नेपालीका छोराछोरीको स्वस्थ भबिष्यको लागि गरेको सत्याग्रहलाई गलत मुल्ल्यांकन गरि उनैलाई तथानाम गाली गर्दै हिड्नु तपाइको नैतिकताले किमार्थ दिंदैन यदी बुझेर पनि त्यसो गर्नु भएको हो भने तपाइँलाई दुषित मानसिकताको नेताको रुपमा हामी जनताले बुझ्न आवश्यक छ । केसीले भने जस्तै चिकित्शाशास्त्रमा निश्चित नीति तर्जुमा गरि त्यसै अनुरुप ब्यबस्थापन गर्न तपाइँले किन सक्नु हुन्न ? मनमोहन मेमोरिअल मेडिकल कलेज जुन तपाइको राम्रो उदेश्यले खोल्न लाग्नु भएको हुन सक्छ तर अहिलेको अवस्थामा तपाईलाई यसको संबन्धन दिंदा अरु माफियाहरुले पनि हात पसार्ने मौका पाउँछन् ।

तपाइँको काम जति असल नियतले खुल्न लागेको भए पनि अहिले जनता तपाइँको पक्षमा हुँदैनन्, त्यसैले खराब समयमा, खराब प्रक्रियाबाट काम गरि भए-नभएका भाषण गरेर झन् माहौललाई उत्तेजित बनाएर आफै चढेको रुखको फेदमा बन्चरो हान्दै हुनुहुन्छ । त्यसैले बेलैमा परिस्थिति बुझेर उत्तेजक भाषण नगर्नुहोला । अझैपनि तपाइँ आफ्नो दम्भ तोडी केसीको समर्थनमा आउनु हुन्न भने याद राख्नुस् – महाभारतमा धृतराष्ट्रहरुसँग लड्न कृष्णको उत्पति भए जस्तै आज मेडिकल माफियाहरु सँग लड्न कृष्णको रुपमा डा.केसीको उत्पति भएको छ ।

साथमा उनलाई साथ दिन पाण्डवको रुपमा म लगायत ३ करोड नेपालीहरु एकजुट हुँदैछन् । केसीको सकारात्मक कदमले सफलता चुमोस्, जनता मारेर स्वास्थ्य ब्यबसाय गर्ने गलत मनशाय बोकेकाहरु आफै बिलिन हुँदै जानेछन् । त्यो समय आउँदै छ । अन्यथा लगातार फोहोर राजनीतिको पोखरीमा डुबेर संबिधानको नाममा जनता लुटिरहेकाहरुलाई जनताले नंग्याउनेछन् । -अनिल अधिकारी/सम्बादमिडियाबाट 
Powered by Blogger.