Header Ads

अँध्यारोको व्यापार हुन्छ यो उज्यालो शहरमा, यौनकर्मीको कथा

पोखरा । सात कक्षामा पढाइ राम्रै थियो । गीत गाउनमा सिपालु पनि थिइन् । बाबुका तीन श्रीमतीमध्ये माहिलीकी छोरी । घरमा कचमच पर्‍यो । सुदूरपश्चिमको एउटा जिल्लाबाट भागेर घर छाडेपछि उनी नजिक एउटा सहरमा आफन्तकहाँ केही महिना बसिन् । त्यहाँबाट पढाइको साटो काम गरिखाने रहरले काठमाडौं पुर्‍यायो । रेस्टुराँको जागिरबाट संगतले यौनकर्मी बनायो । केही वर्षपछि  पोखरा आइन् । यहाँ पनि केही वर्ष बिते । दिनहुँ आफ्नै शरीरको व्यापारले वाक्क बनायो । सही बाटो बताउने भेटिएपछि उनले घर फिर्ने निधो गरिन् । गइन् पनि । तर, बस्न मन अडिएन । नौ महिनापछि फेरि पोखरा आएर उनी धन्दामा छिन् ।
तनहुँको खैरेनीटारबाट साथीहरूसँग पोखरा आइपुगेकी विपन्न परिवारकी एउटी छोरीले होटलमा काम थालिन् । वेटर भनेर राखिएको थियो । सञ्चालकले ग्राहक पनि रिझाउन दबाब दिए ।

गर्दागर्दै उनी यौनकर्मी भइन् । केही वर्षपछि उनलाई दौतरी शिक्षकले भेटे । सुरक्षित यौनव्यवहारबारे बताए । दिनदिनै धेरैसँगको यौन व्यवहारले वाक्क उनले बिस्तारै त्यो बाटोबाट आफ्नो सक्रियता घटाइन् । अहिले पेसा परिवर्तन गरेर अरू नै काम गर्छिन् । पर्यटकीय सहर फेवाताल र माछापुच्छ्रे हिमालका दृश्यले जति सुन्दर र उज्यालो छ, उति नै यहाँ यौनव्यापारको अँध्यारो जीवन बाँच्नेहरू पनि छन् । माथिका दुई यौनव्यापारसँग जोडिएमध्येका दुईको भोगाइका सारांश हुन् । आफ्नै योजनामा तालको सहर घुम्न आउनेले झट्ट खोज्दा दृश्यमा तुरुन्तै भेट्न गाह्रो पर्ने यी अँध्यारोका पेसाकर्मी यहाँ अनुमानभन्दा धेरै छन् ।
'छोरीजस्तो उमेरकी केटी वन्ली वन थाउजेन्ट रुपिज भनेर अगाडि आउँछे । म पहिले त झसङ्ग भएँ,' उनले भने, 'बाटो छेक्न खोज्दै बारम्बार त्यही कुरो भनेपछि एकपटक हकारेँ । अनि म काम दिन्छु, आऊ गरेर खाऊ भनेको उल्टै गाली गरेर गइन् ।' यहाँको लेकसाइडका पर्यटन व्यवसायी हरि पहारीले एक साँझ फेवा किनारमा डुल्दाको घटना यसरी सुनाए । उनले भने, 'त्यस्तो पेसामा लागेर छिनमै आम्दानी गर्न थालेकालाई मेहनतको काम किन पो गर्न मन लाग्दो होला ।'

यहाँ जहाँ धेरै पर्यटक रिझाउन धेरै थरी होटल रेस्टुराँ छन्, उति नै व्यवसायका तरिका पनि छन् । विभिन्न मुलुकबाट यहाँ आइपुग्नेलाई खान बस्न मात्रै होइन, प्याराग्लाइडिङ, अल्ट्राइटमा उडाउनेदेखि लामो छोटा दूरीका पदमार्गको यात्रा गराउने, पर्वतारोहणका लागि बाटो देखाउने काम गर्ने लेकसाइडमा धेरै छन् । यहीँ अर्को अदृश्य पेसा वेश्यावृत्तिको हो ।
गत फागुनको अन्तिम साता यहाँको वडा प्रहरी कार्यालय बगरले तीन दर्जन पेसेवरलाई पक्राउ गरेको थियो । पक्राउको तेस्रोपटक २८ हजार धरौटीमा छुटेकी महिलाले भनिन्, 'बाध्यताको पेसा हो । रहरले कसले गर्छ ?' बाबुले सौता हालेपछि कान्छीआमाको प्रताडना, त्यसपछि एक युवकसँगको सम्बन्धले पोखरा आइपुगेको बताएकी उनले यस्तो पेसामा रहेका धेरैजना बाध्यताले आएको बताइन् ।

यौनकर्मीलाई एचआईभीको जोखिमबारे सचेत गराउँदै वैकल्पिक पेसामा जान सल्लाह दिने 'नयाँ गोरेटो' की अध्यक्ष लक्ष्मी रानाभाट भन्छिन्, 'पोखरामा मात्रै करिब ५ हजार यौनकर्मी छन् । यिनीहरूमाथि जतिजति कडाइ हुन्छ, उति नै जोखिम समाजका लागि बढ्छ ।' खास-खास ठाउँमा बढी भेटिने सूचना पाएर प्रहरीले कडाइ गर्दा जथाभावी फैलिएर बसाइँ सर्दै देहव्यापार गर्नेबाट समाजलाई यौनरोगको जोखिम हुने उनले बताइन् ।
प्रहरीमा जब उच्च अधिकारी फेरिन्छन्, यहाँको बागलुङ बसपार्कसँगै आधा दर्जन ठाउँमा धरपकड सुरु हुन्छ । यसपटक पनि गत फागुनमा जिल्लाका प्रहरी उपरीक्षक फेरिए । महिनाभर निगरानी र छापा मार्ने अभियानलाई तीव्रता दिएका प्रहरी युनिटहरूले ५० जनाको हाराहारी महिलालाई नियन्त्रणमा लिए । केही भोलिपल्टै छुटे । केही पक्राउको सातापछि जिल्ला प्रशासनमा धरौटी बुझाएर छुटे । मुद्दाको प्रक्रिया जारी रहेकाले आधा दर्जन अझै हिरासतमा छन् ।

यहाँको लेकसाइडस्थित वडा प्रहरी बैदामका इन्चार्ज नमराज भट्टराई भन्छन्, 'पेसेवर हेर्दै चिनिन्छन् । धेरै पटके छन् । पक्राउ गरेर ल्यायो, जरिवाना तिर्छन् छुट्छन् । फेरि उनै समातिन्छन् ।' उनका अनुसार पटकपटक पक्राउ परिरहनेमा अधिकांश विपन्न परिवारका हुन्छन् । 'बुबाले कान्छीआमा ल्याएपछि खप्न नसकेर हिंडेका, केटाले पोखरा ल्याएर अलपत्र पारेका र कुनै न कुनै कारणले घर बिग्रेका नै धेरै पर्छन्,' उनले भने, 'सोखले यो पेसामा लागेकाहरू नभएका होइनन्, उनीहरू निकै थोरै समातिन्छन् ।' पटकपटक पक्राउमा देहव्यापार गर्नेभन्दा गराउनेलाई कारबाही गर्नुपर्ने भएकाले यौनव्यापार निरुत्साहित हुन चुनौती रहेको उनले बताए ।
रेडक्रस र जागृति महासंघमार्फत प्राप्त कार्यक्रम चलाइरहेको नयाँ गोरेटोमा ३० जना दौतरी शिक्षक छन् ।

जसले यौनकर्मीको खोजी गरी उनीहरूलाई सुरक्षित व्यवहार सिकाउने काम गरिरहेको छ । शिक्षकको काम पनि गर्दै रहेकी संस्था उपाध्यक्ष श्रीमाया गुरुङ भन्छिन्, 'यौनकर्मीका समस्या यति अप्ठ्यारो छ कि बाहिरबाट देखिँदैन, भित्र बुझेर यो बाटो छुटाइदिन कसैले काम गर्दैन ।' लामो समयदेखि सुरक्षित यौनव्यवहारमा रहन परामर्श दिने गरेपछि कन्डम र सल्लाह लिन आउने भए पनि पेसाकर्मीमाथिको धरपकडले असुरक्षा समाजमा नजानिँदो पाराले फिँजिएको उनले बताइन् । हाल यो संस्थाको सम्पर्कमा रहेका तीन सय हाराहारी छन् । 'धेरै डुलुवा छन्, एक ठाउँबाट अर्को ठाउँ जान्छन्, खोज्दा भेटिँदैनन्,' उनले भनिन्, 'कतिपय यही सहरको विभिन्न भागमा छन् ।' बागलुङ बसपार्कलगायत केही क्षेत्रमा प्रहरीको निरन्तरको निगरानी र धरपकडबाट उनीहरू बस्ने र भेटिने ठाउँ परिवर्तन भएको उनले बताइन् । 'धेरै दिदीबैनी यो पेसा छाड्न चाहेको भेटिन्छन् तर, समाजमा गतिलो काम गरेर खान सजिलो नभएर फेरि आएको सुनाउँछन्,' उनले भनिन्, 'हामीले पनि भेट्न, चिन्न र उनीहरूको विश्वास जितेर परामर्श दिन सजिलो छैन ।'
केही स्थानमा पटकको तीन सय लिएर आधा पैसा होटल र आधा आफूले पाउने यौनकर्मी त्यही होटलमा खानेबस्ने गर्दा दासको जीवन बिताउन बाध्य भएको पाइएको उनले बताइन् । नयाँ गोरेटोकी अध्यक्ष रानाभाटले भनिन्, 'त्यस्तालाई पक्राउ गरेर लगेको छ । भेट्न, कुरा गर्न जाँदा हामीलाई समेत प्रहरीको व्यवहार राम्रो हुन्न । मनपरी भन्छन् । त्यही पेसाकर्मी हुन् भनेर अपशब्द बोल्छन् ।' यौनकर्मी भएको आशंकामा पक्राउ गरिएकालाई प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाउने गरेको छ । केहीलाई त्यस्तो पेसामा लाग्न बाध्य पार्ने होटल, रेस्टुराँ सञ्चालकविरुद्ध बयान दिन लगाई मानव बेचबिखन मुद्दा पनि चलाउने गरिएको छ । तर, पक्राउ परेकाले भोलि उही सञ्चालकसँग मिलेर पेसालाई निरन्तरता दिने चाहना राख्दा बयान दिन मान्दैनन् ।
प्रारम्भिक बयान न्यायिक निकाय पुग्दा फेरिएका छन् ।

प्रहरी निरीक्षक नमराज भट्टराईले भने, 'त्यस्तो पेसामा लाउनेविरुद्ध बयान दिए पो कारबाही चलाउन सक्नु ? प्रहरीले बल गरेर समाजको सहयोग नभए कसरी काम गर्ने ?' कास्की जिल्ला प्रशासनमा गत वर्ष सार्वजनिक अपराधका १ हजार ६ सय ८५ मुद्दा थिए भने चालु वर्ष साउनदेखि माघसम्ममा ५ सय २४ छन् । मुद्दा शाखाका नायबसुब्बा केदारनाथ लामिछानेले भने, 'महिला पक्राउ परेर ल्याइएका मुद्दाको संख्या अधिक छन् । तर, अपराध पुष्टि नभई यस्तोउस्तो पेसाका भन्न पाइँदैन ।' यौनकर्मी भएको शंकामा ल्याएर सार्वजनिक अपराधमा मुद्दा चलाएकालाई कम्तीमा ४/५ हजार र बढीमा २८ हजारसम्म धरौटी लिई तारेखमा छाड्ने गरिएको उनले बताए । प्रत्येकपटक कास्कीका प्रहरी प्रमुखको परिवर्तनलगत्तै यौनकर्मीमाथि धरपकडका घटना भएका छन् । केही स्थानमा गरेको धरपकडको विरोधमा स्थानीयले प्रहरी कार्यालयमै आएर आक्रोश पोखेका घटना पनि छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको केही अघिको सर्वेक्षणअनुसार यहाँ यौनकर्मी पेसामा रहेकामध्ये ८० प्रतिशत बाहिरका छन् ।

सामुदायिक सहयोग समूहमा रहेर लामो समयदेखि कास्कीका लागूऔषध प्रयोगकर्ताका लागि काम गर्दै आएका दिलिप गुरुङका अनुसार यौनकर्मी महिलाबाट एचआईभीको जोखिम उच्च छ । 'यो नापेर यति नै भन्न सकिंदैन तर, जो ड्रग्स लिन्छन्, उनीहरू डोजका लागि जे गर्न पनि तयार हुन्छन्,' उनले भने, 'उनीहरू आफैं पनि असुरक्षित छन् ।' तीन सय हाराहारी महिला लागूऔषध प्रयोगकर्तामध्ये ५५ प्रतिशत यौनकार्यमा संलग्न रहेको पाइएको उनले बताए । लागूऔषधको तलतल मेट्न जेसुकै गर्न तयार हुनेदेखि लगातार आफ्नो ज्यानसँग अरूलाई खेल्न दिनेले दुखाइ-पीडा बिर्सन दुव्र्यसनमा परेको अवस्था पनि रहेको उनले बताए ।
लागूऔषध प्रयोगकर्ता केटा साथीको संगतले लत लागेपछि महिलाको बाटो यौनकर्मी हुनुको दिशातर्फ अघि बढ्ने उनले बताए । 'यो आफैंमा जटिल छ । केही यो पेसामा सुरक्षित तरिका अपनाउन सचेत छन्, धेरै तलतलका अगाडि आजित भएर जे गर्न पनि तयार छन्,' उनले भने, 'यो सेक्टरमा पक्रने, यातना दिनेभन्दा पनि फसेकालाई निकाल्ने र विकल्प दिने, नयाँलाई पस्न नदिने काम आवश्यक छ ।'

यौनकर्मीका पोखरेली ग्राहक सवारी चालक, सहयोगीदेखि विभिन्न पेसाका छन् । यिनमा अलि बढी राम्रो पैसा दिनेमा पर्यटक पर्छन् । गत वर्ष यहाँकी सामाजिक कार्यकर्ता कमला रिमालले 'यौनव्यवसायीका अवस्था र मनोविज्ञान' बारे लामो शोध गरेकी थिइन् । त्यस क्रममा भेटिएकाले पेसा छाड्न चाहे पनि नसकेको, रुग्ण आर्थिक अवस्था र समाजको कारण उनलाई बताएका थिए । उपमहानगरका यौनकर्मीमा ५२.४ प्रतिशत १५ देखि २४ वर्षका, यिनमा ३६.४ प्रतिशत दलित, ३६ प्रतिशत गुरुङ समुदायका र ६५ प्रतिशत विद्यालय शिक्षा नै पूरा नगरेका भेटिएको शोधमा उल्लेख छ ।
पर्यटकको आवागमन भइरहने भएकाले यहाँको यौन व्यापार जतिसुकै कडाइका बाबजुद पनि पूरै हराउने अवस्था छैन । तर, सुरक्षित क्षेत्र तोकेर यस्ता पेसाकर्मीलाई काम गर्न दिइनुपर्छ भन्ने आवाज उठाउन पर्यटन व्यवसायी मान्दैनन् ।
पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतरात पराजुलीले भने, 'हामी कुनै हालतमा त्यस्तो व्यापारका पक्षमा छैनौं । होटलमा त्यस्ता पेसाका मान्छे आएको थाहा भए हामी नै प्रहरीलाई भनिदिन्छौं ।' प्रहरीले गरेको कडाइमा आफूहरू सकारात्मक रहे पनि रातबिरात छापाका नाममा परिचय दिएर दम्पती बसेका ठाउँमा प्रहरीले केरकार गरी दुःख दिन नहुने उनले बताए । पोखराको लेकसाइडमा मात्रै विभिन्न स्तरका करिब चार सय होटल रेस्टुराँ छन् । य&#23#2367;नमा काम गर्ने ७० प्रतिशतमा महिला संख्या अधिक छ । केहीले यौनजन्य व्यवहारमा आफ्ना कर्मचारीको संलग्नता हुन नदिन निगरानी गर्ने र कामबाटै निकाल्ने पनि गरेका छन् । तर, केहीले ग्राहक रिझाउन उनीहरूको दुव्र्यवहारको जबाफ मौन भएर बस्न आदेश दिने गरेका छन् ।
समाज र कानुनले बन्देज लगाएको हुनाले यौन पर्यटन पोखरेली व्यवसायीको प्राथमिकतामा नरहेको दाबी अध्यक्ष पराजुलीले गरे । यहाँका अबेरसम्म चल्ने दोहोरी रेस्टुराँ, डिस्को र बारमा भेटिने यौनकर्मी अहिले धेरैले डेरा लिएर बस्न थालेको र सम्पर्कमार्फत ग्राहकलाई आफ्नै डेरामा बोलाउने क्रम बढेको छ । होटल र सडकमा राति हुने प्रहरीको चेकजाँचको कडाइले उनीहरूको बानी फेरिएको हो ।
Powered by Blogger.