Header Ads

रामेछापबासीले पनि दोलखा सरह तामाकोशीको शेयर पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता

काठमाडौ, फागुन २० । राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजनाको शेयर विक्री भइरहेका बेला रामेछापबासीले पनि शेयर पाउनुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । तामाकोशी प्रभावित क्षेत्र दोलखाभन्दा रामेछाप बढी भएको भन्दै अधिवक्ता थरिप्रसाद कँडेलसहित १२ जनाले दोलखालीले जत्तिकै शेयर पाउनुपर्ने माग गर्दै रिट दायर गरेका हुन ।

प्रभावित क्षेत्रका बासिन्दाले पाउने शेयरको हक रामेछापबासीको पनि छ भनेर रीट दायर गरेका हौं अधिवक्ता कँडेलले भन्नुभयो, समानताको सिद्धान्त बमोजिम रामेछापबासीले पनि दोलखाबासीको जत्तिकै शेयर पाउनुपर्छ । रिटमा रामेछापका ११ गाविस तामाकोशीबाट प्रभावित भन्दै सदरमुकाम मन्थली र विमानस्थलसमेत तामाकोशी किनारामा रहेकाले प्रभावितको परिभाषामा रामेछापबासीलाई पनि पार्नुपर्ने माग गरिएको छ । दोलखाबासी सबैले शेयर पाउँदा रामेछापबासीले पनि पाउनुपर्ने दावीसहित रिट दायर भएको हो ।

१२ लाख घनमिटर जलाशययुक्त आयोजना फुटेमा सबैभन्दा ठूलो क्षति रामेछापबासीले ब्यहोर्नुपर्ने दावी गरिएको छ । आयोजनाको मुख्य निर्माणस्थल दोलखाको लामाबगर गाविसमा भए पनि यसको मुख्य प्रसारण केन्द्र भने रामेछापको फुलासी–१ देवीटारमा निर्माण भइरहेको छ । तामाकोशीवारिको देवीटारका जनताले रामेछापबासी भए बापत शेयर नपाउने, तर पारि किर्नेटारका बासिन्दाले दोलखाबासी भएबापत पाउने भन्ने कुरा न्याय हुन्न रिटमा उल्लेख छ ।

सर्वोच्च अदालतले रिटमाथिको पेशी फागुन २२ गते शुक्रबारका लागि तोकेको छ । रिट निवेदकको तर्फबाट गोविन्द बन्दी, रामप्रसाद भण्डारी लगायतले बहस गर्ने भएका छन । ४५६ मेगावाट क्षमताको तामाकोशी आयोजना नबन्दै यसको शेयर विवाद अदालतमा पटकपटक पुगिरहेको छ । आयोजनास्थल लामाबगर र गौरीशंकर गाविसलाई मात्र बढी प्रभावित भन्दै त्यहाँका बासिन्दालाई ३०० कित्ता शेयर छुट्याएकोमा दोलखाकै अन्य ११ गाविसको तर्फबाट अदालतमा रिट दायर भएको छ ।

त्यस्तै कर्मचारी सञ्चयकोषका कर्मचारीले धेरै शेयर पाउने र सञ्चयकोषमा रकम दाखिला गर्ने अन्य सरकारी कर्मचारीले कम पाउने प्रावधानमा समेत असहमति जनाउँदै दायर भएको मुद्दा विचाराधिन रहँदै आएको छ ।
Powered by Blogger.