Header Ads

सात महिनामै तीन लाख बढी नेपाली वैदेशिक रोजगारीमा गए

चालु आर्थिक वर्ष २०७०/७१ मा सुरुको सात महिनामै तीन लाख २० हजार २८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा दुई लाख ५८ हजार ८० जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए ।

यसवर्ष साउनदेखि माघ मसान्तसम्म ६२ हजार २०० जना गतवर्षको भन्दा बढी रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । विदेशिने मध्ये तीन लाख छ हजार ४०४ पुरुष र १३ हजार ८७६ महिला रहेका छन् ।

विदेशिनेमा सबैभन्दा बढी मलेसीयामा एक लाख ३७ हजार ९८५ जना रहेका छन् । त्यस्तै कतारमा ७४ हजार ८३ जना, साउदी अरबमा ५५ हजार ६८७ जना, दुबईमा ३२ हजार ८३० जना र कुबेतमा ६ हजार १६ जना वैदेशिक रोजगारमिा गएका छन् ।

त्यस्तै आकर्षक गन्तव्य मानिएको कोरियामा इपिएस माध्यममार्फत दुई हजार ६६३, जापानमा एक हजार २५० र इजरायलमा २८८ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा सात महिनाकै अवधिमा ८८० जना पुरुष र पाँच जना महिला गरी ८८५ जना रोजगारीका लागि गएका छन् । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
Powered by Blogger.