Header Ads

एसिड पीडित किशोरीले पत्र लेख्दै भनिन् ‘प्रधानमन्त्री ज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ?’ त्यसलाई फाँसी दिइयोस्

काठमाडौं । ‘प्रधानमन्त्रीज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ? १७ दिनसम्म ऊ किन पक्राउ परेन ? उसलाई पक्राउ गरी फाँसी दिइयोस् ।’ काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्न गएका बेला १७ दिन अघि एसिड आक्रमणमा परी घाइते भएकी सीमा बस्नेतले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई यस्तो व्यहोराको पत्र लेखेकी छन् । सीमाको पत्र लिएर बुधबार उनकी सानिमा प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेकी थिइन् ।

 एसएलसीको तयारीका क्रममा ट्युसन पढिरहेका बेला काठमाडौंको बसन्तपुरस्थित ट्युसन सेन्टरमा एसिड आक्रमणको शिकार बनेकी बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्र चार पृष्ठ लामो छ । यस्तो छ सीमाको पत्र ‘त्यो व्यक्ति को हो ? जसले आफ्नो जीवनको सपना पूरा गर्न साँझ बिहान अतिरिक्त मेहनत गरेर पढिरहेका हामीमाथि एसिड प्रहार गर्ने धृष्टता गर्‍यो ?’ सीमाले पत्रमा भनेकी छन्-‘ त्यो को होला ? १७ दिनसम्म पक्राउ नपर्ने कारण के होला ?’ सीमाले पत्रमा आफू रौतहटबाट भविश्य बनाउन हजुरआमाको साथ लागेर राजधानी आएको र हजुरआमाले दुख गरेर पढाएको उल्लेख छ ।

०६८ साल फागुन २५ गते हजुरआमाले आफूलाई कान्ति ईश्वरीय राज्यलक्ष्मी माविमा भर्ना गरेको उनले लेखेकी छिन् । ए प्लस टु्युसन सेन्टरमा एसएलसीको तयारीका लागि पढिरहेका बेला करिब एक हस्ता अघिमात्रै आफ्नो र संगीताको परिचय भएको सीमाले प्रधानमन्त्रीलाई लेखेकी छिन् । एसिड आक्रमणमा परेकी संगीताको अवस्था अहिले सीमाको भन्दा कमजोर छ । आफूहरु बिहान ६:१५ बजे शिक्षकलाई कुरेर बसिरहेका बेला अपरिचित व्यक्तिले एसिड खन्याएको उनले लेखेकी छन् । सीमाले अहिलेसम्म आफ्नो कुनै केटासाथी नभएको प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । त्यस्तै फेसबुक आइडी र आफूसँग मोबाइलसमेत नभएको उनले उल्लेख गरेकी छन् । आफ्नो जीवनको सपना पूरा गर्न रौतहटबाट काठमाडौं आएको उनले बताएकी छिन् ।

सबैभन्दा ठूलो चिन्ता एसएलसीको
सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफूले एसएलसी दिन पाउँछु कि पाउँदिन भन्ने गम्भीर चासो र चिन्ता व्यक्त गरेकी छिन् । सीमाजस्ता किशोर किशोरीको भविश्य एसएलसीसँग जोडिएको हुन्छ । सीमाले प्रधानमन्त्रीलाई लेखेकी छिन् ‘ म एसएलसी दिन पाउँछु कि पाउँदिन, अन्योलमा छु । एसएलसीको तयारी पनि भएको छैन, सेन्टर कहाँ हो ?’

अपराधीलाई फाँसीको 
माग सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफ्नो जीवन र सपना चकनाचुर पार्नेलाई चााडो पक्राउ गरी फाँसी दिन माग गरेकी छिन् । ‘दोषीलाई पक्रिएर कावाही नभए हामीजस्तै अरु दिदी बहिनीमाथि पनि यस्तै हुन सक्छ,’ सीमाको पत्रमा भनिएको छ ।

उपचारस्थलबाटै एसएलसी दिन पाउने
सीमाको पत्र आउनासाथ प्रधानमन्त्री सुशील कोइरालाले अपराधीलाई चाँडो पक्राउ गर्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन् । साथै पीडित किशोरी सीमा र संगीता दुबैलाई उपचारस्थलबाटै एसएलसी दिने व्यवस्था गर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

‘सीमा र संगीतालाई उपचारस्थलबाटै एसएलसी दिन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले अनलाइनखबरलाई भन्यो, ‘गृहमन्त्रालयलाई पनि दोषीलाई चाँडो पक्राउ गर्न प्रधानमन्त्रीले फेरि दोस्रोपटक निर्देशन दिनुभएको छ ।’ -स्रोत /जस्ताको तस्तै साभार /अनलाइन खबर डट कमबाट
Powered by Blogger.