Header Ads

सम्भव होला काठमाडौं उपत्यकामा केवलकार ?

काठमाडौँ, चैत्र १२ । काठमाडौँ उपत्यकामा यातायातको वैकल्पिक साधनका रुपमा केवलकारको सम्भाव्यता अध्ययनका लागि फ्रान्सेली सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

उपत्यकामा बढ्दो सवारी जाम र प्रदूषणलाई नियन्त्रण गर्न केवलकारको सम्भाव्यता अध्ययन गर्न फ्रान्सको सरकारी कम्पनी एमडिपी सिस्ट्रा कन्सोल्टियमलाई अनुमति दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो ।

 “उपत्यकामा ट्याक्सी भाडाभन्दा आधा सस्तो र सार्वजनिक सवारीसाधनभन्दा पाँच गुणा बढी भाडा पर्ने भए पनि वैकल्पिक साधनका रुपमा केवलकार प्रभावकारी देखिएकाले अध्ययनका लागि अनुमति दिइएको हो”– पौडेलले भन्नुभयो ।

सरकारले अनुदान दिए केवलकारको भाडामा अझ कमी गर्न सकिने मन्त्रालयले जनाएको छ । केवलकारलाई यातायातको वैकल्पिक साधनका रुपमा प्रोत्साहन गर्ने नीति सरकारले चालु आवको बजेट वक्तव्यमार्फत गरेपछि अहिले मन्त्रालयमा एक दर्जन सङ्घसंस्थाले सञ्चालनका लागि अनुमति माग गरेको मन्त्रालयका प्राविधिक अधिकृत जगन्नाथ घिमिरेले बताउनुभयो ।

नेपालमा विसं २०५५ देखि मनकामना दर्शन प्रालि र ‘चितवनकोइ’ ले धादिङको कुरीनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केवलकार सञ्चालन गर्दै आएको छ । केवलकारमा दुर्घटनासमेत नहुने भएकाले सुरक्षित सवारीसाधनका रुपमा लिइने गरिएको छ ।

करिब एक वर्षको सम्भाव्यता अध्ययनपछि उपत्यकामा केवलकार सञ्चालन गर्न सकिने वा नसकिने तथ्य ठोसरुपमा बाहिर आउने पौडेलले बताउनुभयो ।
Powered by Blogger.