विश्वकप क्रिकेट : आज भारत र आयरल्याण्ड भिड्दै
काठमाडौ, फागुन २६ । अप्रत्याशित नतिजा निकाल्न माहिर आयरल्यान्ड चालू विश्वकप क्रिकेटमा आज भारतविरुद्ध मैदानमा उत्रिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको समूह ‘बी’ मा रहेको एसोसियट टोली आयरल्यान्डले टेस्ट खेल्ने मान्यता पाएको वेस्टइन्डिज र जिम्बावेलाई हराएर विश्वकपमा आफ्नो प्रभाव छाडिसकेको छ।
ब्याट्सम्यानलाई साथ दिने ह्यामिल्टनको पिचमा भारतविरुद्ध पनि अप्रत्याशित नतिजा निकाल्दै क्वार्टरफाइनलमा पुग्ने धुनमा रहेको आयरल्यान्डकाका लागि उक्त लक्ष्य प्राप्त गर्नु सोचेजस्तो सहज भने पक्कै छैन।

साबिक विजेता भारत यतिबेला उत्कृष्ट लयमा छ। भारतीय टोली लिग चरणमा हालसम्म आफूले खेलका चारवटै खेल जितेर समूहको अग्रस्थानमा रहेको छ। भारत चालू विश्वकपको उपाधि जितेर ह्याट्रिक गर्ने सोचमा पनि छ। भारतले यसअघि विश्वकपमा लगातार आठ खेल जितिसकेकाले पनि उसको मनोबल उच्च देखिन्छ। भारतीय टोलीको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट देखिएको छ।
आफूले खेलेका चार खेलमा ३७ विकेट लिएर भारतीय बलरले पनि आफ्नो क्षमता देखाइसकेका छन्। एसोसिएट राष्ट्र आयरल्यान्डले सन् २००७ को विश्वकपमा पाकिस्तानलाई तथा सन् २०११ को विश्वकपमा इङल्यान्ड र बंगलादेशलाई हराएर सनसनी फैलाएको थियो। आयरल्यान्डका कप्तान विलियम पोर्टरफि ल्ड प्रतिद्वन्द्वी जतिसुकै शक्तिशाली भए पनि त्यसले आफूहरूलाई कुनै फरक नपार्ने दाबी गर्छन्।
‘हरेक खेलमा हामी जितकै लागि मैदानमा उत्रने गरेका छौं। प्रतिद्वन्द्वी कस्तो छ भन्ने कुराले हामीलाई कुनै असर पार्दैन’, उनी भन्छन्। उनले समूहगत चरणको अन्तिम दुई खेल भारत र पाकिस्तानसँग खेल्नु पर्दा केही असहज भएको भने स्वीकार गरे। वेस्टइन्डिजले तीन सय चार र दक्षिण अफ्रिकाले चार सय ११ रन बनाएको स्मरण गर्दै उनले आफ्नो टोलीको बलिङ तुलनात्मक रूपमा कमजोर रहेको बताए।
भारतीय टोलीका कप्तान महेन्द्र सिंह धोनीले पनि आफ्नो टोलीको बलिङ केही कमजोर रहे पनि विश्वकपमा त्यस्तो अनुभव नभएको प्रतिक्रिया दिए। उनले वेस्टइन्डिजलाई एक सय ८२ र दक्षिण अफ्रिकालाई एक सय ७७ रनमा समेटेर भारतीय बलरले आफ्नो प्रतिभा देखाएको बताए। धोनीले उमेश यादव र मोहम्मद सामीको तेज बलिङको पनि प्रशंशा गरे। क्वार्टरफाइनलमा पुगिसकेको भारत पनि शतप्रतिशत नतिजाको प्रतीक्षामा छ।
ह्यामिल्टनको सेडन पार्क मैदानमा यसअघि भारतको प्रदर्शन भने कमसल देखिन्छ। भारतीय टोलीले उक्त मैदानमा खेलेका १० मध्ये दुई खेलमा मात्र सफलता पाएको छ। उक्त मैदानमा भारतका लागि वीरेन्द्र सेहवागले मात्र शतक बनाउन सकेका छन्। पछिल्लो पटक सन् २०११ को विश्वकपमा भारतीय टोलीले आयरल्यान्डलाई पाँच विकेटले हराएको थियो। -एजेन्सी
