Header Ads

जन्म, मृत्यु, विवाहलगायतका व्यक्तिगत विवरण अब अनलाइनबाटै दर्ता गर्न सकिने

काठमाडौँ, चैत्र ११ । जन्म, मृत्यु, विवाहलगायतका व्यक्तिगत विवरण दर्ता गर्न स्थानीय निकायमा नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय पञ्जीकरण विभाग आजदेखि सञ्चालनमा आएपछि सेवाग्राहीले आफ्ना व्यक्तिगत विवरणलाई अनलाइनबाट नै दर्ता गराउन सक्ने भएका हुन् ।

यसअघि सोसम्बन्धी कार्य पञ्जीकरण महाशाखाले गर्दै आएको थियो । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उक्त सेवाको यहाँ शुभारम्भ गर्दै यसले सरकार र जनता दुवैलाई सहज हुने बताउँदै सरकारी तथ्याङ्कमा पनि सहयोग हुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले मुलुकका विभिन्न स्थानमा हुने आगलागी, बाढी पहिरोजस्ता प्रकोप व्यवस्थापनका लागि मन्त्रालयले छिट्टै नै विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण विभाग स्थापना गर्नेे जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव सोमलाल सुवेदीले विभिन्न नगरपालिका, गाविसजस्ता निकायलाई काम गर्न सहज हुनुका साथै यसले सही तथ्याङ्क दिने बताउनुभयो । महाशाखाका महानिर्देशक बसन्तराज गौतमले सरकारले लागू गर्ने राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई यसले मद्दत गर्ने बताउनुभयो ।

अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गर्न लागिएको सो सेवाले व्यक्तिगत विवरण दोहोरिने समस्यासमेत समाधान हुने बताइएको छ ।
Powered by Blogger.