Header Ads

छोराको हत्यारामाथि कारबाही नगरिए आत्मदाह गर्ने चेतावनी

काठमाडौं, चैत्र ११ । १८ माघमा नवलपरारीको जङ्गलमा मृत अवस्थामा फेला परेका दीपेन्द्र पाण्डेका बाबु गजेन्द्र पाण्डेले छोराको हत्या भएको दाबी गर्दै हत्यारालाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेकाले न्यायका लागि सबैबाट सहयोगको आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले घटनास्थलको प्रकृतिले हत्या देखिन आउँदा समेत बेवास्ता गरी आत्महत्या उल्लेख गरेकोतर्फ प्रहरीप्रशासनको आलोचना गरे । दोषी पत्ता लगाई तत्काल कारबाही नगरिए आफूहरू आन्दोलनमा जान वाध्य हुने चेतावनी दिए । छोरालाई धारिलो हतियार प्रहार गरी हत्या भएको र त्यसमा शंकास्पद व्यक्तिहरूलाई समेत प्रहरीले विना कारबाही उन्मुक्ति दिएको बताए ।
कावासातीमा होटल व्यवसायी गरेर बसेका पीडित पाण्डेले भने,‘छोरालाई हत्या गरिनुपूर्व केही व्यक्तिहरूले ज्यानको धम्की दिएका थिए ।’ धम्की दिनेहरूसँग आफूहरुको होटलमा बसेको र रकम लेनदेनमा विवाद रहेको समेत उल्लेख गरे । शंकास्पद व्यक्तिहरूको नाम दिदा समेत बेवास्ता हुनुले शंका जन्माएको उनको भनाई थियो । हत्यारा पत्ता लगाउन सकेमात्र पनि मनमा केही शान्ति हुने भन्दै आवश्यक दबाब सृजना गर्न सहयोगका लागि संचारमाध्यमसँग आग्रह गरे । भावविह्ल बनेका पाण्डेले दीपेन्द्रकी पत्नी र तीन वर्षीय छोरा दीपसागर पाण्डे घटनापछि निकै पीडामा रहेको सुनाए । आफूहरूमाथि अन्याय भएको भन्दै न्यायका लागि सबैको सहयोग पाउने आशा व्यक्त गरे ।

२८ वर्षीय दीपेन्द्र पाण्डे १७ माघको अपरान्हबाट हराएको भन्दै बाबु गजेन्द्रले १८ माघमा विभत्स अवस्थामा जङ्गलमा शव फेला परेको सुनाए । घटनावस्थाको तस्वीरसहित पत्रकार सम्मेलनमा सहभागी भएका उनले घाँटी रेटिएको अवस्थामा शव फेला परेको बताए । प्रहरीले चाहिं दीपेन्द्रले आफैले घाँटी रेटेको अनुसन्धान विवरण तयार पारेको छ । मृतकका बाबु गजेन्द्रका अनुसार सामान्य अवस्थामा रहेको, मद्यपान र धुम्रपान समेत नगर्ने छोराले आत्महत्या गर्ने कल्पना समेत गर्न नसकिने बताए ।

घटनाको दिन क्याटरिङ संचालन गरिरहँदा छोरा काम प¥यो भन्दै स्कुटी लिएर निस्केको सुनाए । फर्कन ढिलाई गरेपछि फोन सम्पर्क गर्दा नलागेको र सोही राति १० बजे घण्टी गएको तर नउठाएको विवरण सुनाए । खोज्दै जाँदा पूर्व पश्चिम राजमार्गको मध्यबिन्दुको थुम्कीदेवी सामुदायिक वनमा फेला परेको बताए । घटनास्थल राजमार्गबाट डेढ किलोमिटर भित्र पर्ने समेत सुनाए । घटनास्थलभन्दा सय मिटर वर स्कुटी फेला परेको थियो । -न्यूजअभियान डट कम बाट
Powered by Blogger.