मधेशी दलका अध्यक्षहरुलाई सीके राउतको चुनौती यस्तो छ

मधेशी नेताहरूले मधेशी जनतालाई दिग्भ्रमित गरेको, मधेशको नाउँमा राजनीति गरेको र मधेशमुखि कार्य नगरेको कारण अब आफू चुप लागेर नबस्ने संकेत राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका छन् । उनले फेसबुकमा यसरी लेखेका छन् :
मधेशी नेताहरूलाई विनम्र आमन्त्रण
(१) २०७१ साल भदौ २८ गते मेरो पक्राऊ हुँदा पक्राऊपूर्व सोही दिन बसेको बैठकमा मधेशी नेताहरूले मेरो पक्राऊका लागि खुला सहमति दिए, म चूप बसें ।
(२) म प्रहरी हिरासतमा हुँदा, मधेशी नेताहरूले, सबै हैन तर केही वकील र पत्रकारहरूलाई घुसपैठ गराएर झूठो प्रचार गर्न र मलाई बदनाम गराउन मिडिया अभियान नै चलाए, म चूप बसें ।
(३) म जेल भित्र हुँदा मन्त्री भइसकेका मधेशी नेताहरूले हामी त्यसै भन्दै गर्छौं, तपाईंहरूले जसरी पनि सीकेलाई जेल मै राख्नुस् भनेर मन्त्रिपरिषद् समक्ष निवेदन गरीरहे, म चूप बसें ।
(४) आफ्नो खुट्टा कार्यकर्ताबाट दूधले धून लगाउने मधेशी नेताहरूले नेपाली प्रशासनको खुट्टा ढोगी–ढोगी मेरो खुट्टा नै भाँच्न लगाए, म चूप बसें ।
(५) मधेशी नेताहरूले नेपाली प्रशासनको खुट्टा ढोगी–ढोगी हाम्रा आमसभाहरू विथोल्न लगाए, म चूप बसें ।
र अब लुकी–लुकी बन्द कोठामा केही मान्छेहरू जम्मा गरी अनेकौं अफवाह फैलाउन र मधेशी जनतालाई दिग्भ्रमित गर्न व्यस्त छन् उनीहरू । म उनीहरूलाई विनम्र आग्रह गर्न चाहन्छु कि यदि तपाईंहरूसँग कुनै प्रश्न, आलोचना वा आरोप छ भने आऔं कुनै खुला मञ्चमा वा लाइव टिवी कार्यक्रममा सँगै बसेर डिबेट गरौं, ताकि सम्पूर्ण जनताले सीधा थाहा पाओस् कि सत्य के हो । यदि तपाईंकै कुरो सांचो हो भने त्यो खुला रूपले जनतालाई थाहा होस्, खाली लुकी–लुकी बन्द कोठामा झगडा लगाएर त भएन । म मुख्य पार्टीका अध्यक्षहरूसँग खुलारूपमा डिबेट गर्न तयार छु । यसैद्वारा म नेपालका सम्पूर्ण मिडिया हाउस, पत्रकार र नागरिक समाजलाई पनि सो को व्यवस्था मिलाउनका लागि पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । सांचो सूचना पाउनु हरेक नागरिकको अधिकार हो, र त्यसका लागि हामी सबैले पहल गर्नुपर्दछ ।
एम्नेष्टीको रिपोर्ट : मानव अधिकार हनन् भयो
एम्नेष्टी इन्टरनेशनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनका ‘तराई क्षेत्रका मानव अधिकार हनन्’ शीर्षकमा डा. सीके राउतमाथि नेपाल सरकारले मानव अधिकार हनन् गरेको कुरा उल्लेख गरेको छ ।
