एसिड पीडितलाई अर्जुन मैनालीद्वारा २० हजार सहयोग

काभ्रे सिपाली मूलघर भई हाल अमेरिकामा बस्दै आएका रक्तदाता अर्जुन मैनालीले उपचार र पढाइ खर्चबापत २० हजार कान्तिपुरमार्फत पठाइदिएका हुन्। मैनालीले गत आइतबारको घटनामा पीडित रामेछाप मूल घर भई जैसीदेवलमा बस्दै आएकी १६ वर्षीया संगीता पुलामीमगरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरेको बताएका छन् ।
संगीताको हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। अनुहार, छाती र तिघ्रामा गम्भीर चोट लागेकी संगीताका अभिभावक अरूको भाँडा माझेर गुजारा गर्दै आएका छन्।
यस घटनामा रौतहट मूलघर भई भीमसेनस्थान बस्ने १५ वर्षीया सीमा बस्नेत पनि घाइते भएकी थिइन् । यसैबीच मैनालीले हृदयाघातबाट मृत्यु भएका पत्रकार सञ्जीव घिमिरेका बच्चाहरूको लालनपालनका लागि १० हजार रुपैयाँ सहयोग पठाएका छन्।
मैनालीले एसिडपीडित संगीतालाई उपलब्ध गराएको सहयोग पत्रकार सञ्जीव घिमिरेको नामबाट दिएका छन्।
