सार्वजनिक यातायातमा जिपिएस सिस्टम राख्ने सरकारको यस्तो तयारी
काठमाडौं । लगातारको सवारी दुर्घटनाले ल्याएको विपत्तिसँगै सरकारले सुरक्षित सवारी यात्राका लागि नयाँ व्यवस्था लागु गर्ने भएको छ। सडकमा गुडीरहेका सार्वजनिक बसको बास्तविक स्थान अवस्था, गती, रुट लगायतका कुराहरुको निगरानी गर्न प्रविधिको प्रयोग गर्दै ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) व्यवस्था लागु गर्न लागिएको हो।
यातायात व्यवस्था विभागले आगामी महिनाबाट पहिलो चरणमा पाँचवटा सरकारी बसबाट नमुनाको रुपमा जिपिएस व्यवस्था शुरु गर्न लागेको छ।

यस्का लागि विभागले आवश्यक पाँच सेट उपकरणहरु ल्याइसकेको छ । तर, ति उपकरण कुन कुन सरकारी बसमा राखेर नुमनाका रुपमा सेवा शुरु गर्ने भन्ने विषयमा भने छलफल गरीरहेको विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए। 'सरकारी बसबाट नै सेवा शुरु गर्ने निश्चित भैसकेको छ,' उनले भने, 'तर कुन कुन निकायका बसमा राखेर सेवा शुरु गर्ने भन्ने विषयमा छलफल भैरहेको छ। केही दिनमा नै सेवा शुरु गर्ने बसको टुंगो लगाएर उपकरण जडान गरी सेवा शुरु हुने छ ।'
उनले पहिला सरकारी बसमा केही समय नमुना प्रयोगपश्चातमात्र सार्वजनिक बसहरुमा यो व्यवस्था अनिवार्य गर्ने बताए। महानिर्देशक बुर्लाकोटीका अनुसार गुडीरहेको बसको बास्तविक अवस्था पत्ता लगाउन शुरु गर्न लागिएको जिपिएस व्यवस्था दुर्घटना न्युनिकरण, बसको स्पिड नियन्त्रण र अपराध न्युनिकरणका लागि उपयोगी हुने छ । उनका अनुसार यो व्यवस्था लागु भएपछि देशभरमा कुन बस कहाँ र कुन रुटमा गुडिरहेको छ तथा बस रोकिराखेको छ वा गुडेको छ भने कति रफ्तारमा गुडिरहेको छ भन्ने जानकारी केन्द्रमा नै बसेर अनुगमन गर्न सकिन्छ। विभागले भारतको गुजरातका सार्वजनिक सवारीमा लागु भएकै मोडलका आधारमा नेपालमा पनि नयाँ प्रविधि जीपीएस जडान भएका बसहरु सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्दैै सवारी सुरक्षाका लागि प्रयोग हुने उक्त सिस्टमका लागि बसहरुमा अनिवार्य रुपमा जिपिएस उपकरण जडान गर्नु पर्ने हुन्छ। बसमा जडान गरिने यस्ता उपकरण बढीमा १५ हजारसम्म पर्ने महानिर्देशक बुर्लाकोटी बताउँछन्। बुर्लाकोटीका अनुसार बसमा जडान भएका जिपिएस उपकरणले सोझै भू–उपग्रह (स्याटेलाइट) मार्फत केन्द्रमा रहेको कन्ट्रोल रुममा सुचनाहरु पठाउने छ। यस्तो सुचनालाई कम्प्युटर मार्फत इन्टेरनेटमा समेत राख्न सकिने छ। 'कन्ट्रोल रुम र गाडीमा रहने जीपीएस डिभाइसको कनेक्सनबाट बसका वास्तविक अवस्थाको जानकारी लिन सकिने छ,' उनले भने, 'यसरी आएको सुचनाका आधारमा यदी बस रुट भन्दा बाहिर वा बढी रफ्तारमा गएको छ भने तुरुन्तै नजिकै रहेको प्रहरीको सहयोगमा कारबाही गर्न सकिने छ।'
चौबीसै घण्टा काम गर्ने उक्त सिस्टममा बसका लागि निश्चित गति समेत निर्धारण गर्न सकिने छ । यदी निर्धारीत गति भन्दा बढी गतिमा सवारी गुडाइएको पाइएमा सिस्टममले अटोमेटिक रुपमा केन्द्रदेखी बसमा नै घण्टी मार्फत जानकारी प्रदान समेत गर्ने महानिर्देशक बुर्लाकोटी बताउँछन् । 'निर्धारीत गतिभन्दा बढी भएलगत्तै तुरुन्तै सिस्टमले अलर्ट गरीहाल्ने छ,' उनले भने, 'उक्त अलर्टका आधारमा बसको गती कम गर्न लगाइनेछ । यदी चालकले गती कम नगरे तुरन्त कारबाहीमा पर्नेछ ।' गुगल नक्सा र जिपिएस प्रविधिको सहयोगमा स्याटेलाइट मार्फत निगरानी हुने यो व्यवस्था अनुसार बसले निर्धारीत रुटभन्दा बाहिर गएर चलाएको समेत निगरानी गर्न मिल्ने छ ।
यस्का अलवा बस दुर्घटना भएमा कस्तो अवस्थामा थियो भन्ने जानकारी समेत पाउन सकिने छ । 'दुर्घटनाको अनुसन्धानका लागि पनि यो प्रणालीले सहयोग गर्नेछ,' बुर्लाकोटीले भने, 'रोकिराखेको बसमा अर्कोले आएर ठक्कर दिएको हो वा तिव्र गति तथा अन्य कारणले दुर्घटना भएको हो भन्ने अनुसन्धान गर्न यो उपयोगी हुने छ ।' उनका अनुसार पहिलो चरणमा यो प्रणालीको निगरानीका लागि विभाग, ट्राफिक प्रहरी, प्रहरी तथा अन्य सरोकारवाला निकायहरुले हेर्न मिल्ने गरी युजेर नेम र पासवर्ड बनाएर उपलब्ध गराइने छ ।-नगरिकन्यूजबाट
