Header Ads

केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ? महिनामै साढे ३ लाख कमाइ हुने

 काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर)का लागि आवेदन माग भएको छ ।

इजरायलसँगको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले २ हजार ३ सय संख्यामा केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । आगामी जेठ १७ गतेदेखि असार ७ गतेसम्म इच्छुकले आवेदन दिन पाउने विभागले जनाएको छ ।

२५ देखि ४५ वर्ष ननाघेको उमेर समूहले आवेदन दिन सक्नेछन् । अन्य विभिन्न मापदण्ड पनि तोकिएको छ । जसमा १.५ मिटर उचाइ (४.९२ फिट), कम्तीमा ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमई सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ पास वा सो सरहको शैक्षिक योग्यता पूरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर (कम्तीमा ३ महिना)को तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । 


त्यसका साथै विगतमा इजरायल गई काम नगरेको हुनुपर्नेछ । बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसेको वा काम नगरेको समेत मापदण्ड तोकिएको छ ।

त्यस्तै शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको, कुनै प्रकारका जीर्ण रोग (क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया, एड्स) बाट ग्रसित नभएको, गह्रौ सामान उचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्य गर्न सामथ्र्य भएको र दुव्र्यसनमा नलागेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहनुपर्ने मापदण्ड तोकिएको छ ।

विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने र त्यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, केयरगिभरको तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

अनलाइन प्रणालीमा दर्ता भएका दरखास्त स्वीकृत/अस्वीकृत भए पश्चात आवेदकलाई प्रणालीमा दर्ता भएको मोबाइल नम्बर/इमेलमा सूचना पठाइनेछ । अपुग कागजात अपलोड गर्न सिस्टमबाट उम्मेदवारलाई जानकारी गराइने र सिस्टमबाट अपलोड गर्नुपर्ने भनी जानकारी गराएका कागजात अपलोड नगरेमा दरखास्त अस्वीकृत हुने सूचनामा उल्लेख छ ।

त्यस्तै आधारभूत तहको अंग्रेजी भाषालाई समेत अनिवार्य गरिएको छ । उम्मेदवारले अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रुपमा इजरायलको पीबाले तोकेको त्रिपुरेश्वरमा रहेको सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनबाट लिइएको क्याम्ब्रिज अपस्किल इन्टनेसनल अंग्रेजी टेस्ट कम्तीमा रिडिङ– ए २, राइटिङ–ए १, लिसनिङ–ए २, स्पिकिङ–बी २ भएको प्रमाण पत्र अपलोड गर्नुपर्नेछ । तोकिएको न्यूनतम मापदण्ड नपुगेको दरखास्त अस्वीकृत हुने जनाइएको छ ।

त्यस्तै पासपोर्ट र प्रहरी रिपोर्ट समेत स्यानकपी आवेदन फारममा अपलोड गर्नुपर्छ । अनलाइनमा अपलोड गरिएका कागजत गलत ठहरिएमा कानुन अनुसार कारबाही हुने समेत विभागले चेतावनी दिएको छ ।

पहिलो चरणमा अनलाइन प्रणालीबाट स्वीकृत भएका उम्मेद्वारको सूची तयार पारिनेछ । छनोट समितिले योग्य उम्मेदवारको सूचीको अन्तिम रोष्टर तयार पारी पिबालाई जाँचबुझ (नेमचेक) का लागि पठाउनेछ । जाँचबुझका क्रममा पिबाले कोही नातेदार तथा पहिला इजरायल गएको वा नगएको लगायतका विषय समेत हेर्नेछ ।

पिवाको जाँचमा सफल भएका उम्मेद्वारहरूको सूची पाएपछि विभागले वेबसाइटमार्फत सार्वजनिक गर्नेछ । त्यसरी सार्वजनिक भएका उम्मेद्वारको सूचीबाट फेरि लक्की ड्रमार्फत कामदार छनोट हुनेछन् ।

छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई यथाशीघ्र रोजगारी प्रक्रियामा समावेश गरिने विभागले जनाएको छ । बाँकी रहेका १ हजार ३ सय जनालाई पहिलो चरणको प्रक्रिया सकिएपछि पिवाले आवश्यकताका आधारमा रोजगारी प्रक्रियामा समावेश गराउनेछ ।

लक्की ड्रमार्फत छनोट भएकाहरूले इजरायल सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्नेछ ।

त्यसरी कामका लागि इजरायल जाने केयरगिभरले मासिक पारिश्रमिकको १२.५ प्रतिशत रकम रोजगारदाताले कामदारको नाममा खोलिएको बैंक खातामा विदेशी कामदार कोषमा जम्मा गर्नेछ ।

छनौट भएर जाने केयरगिभरले मासिक ६ हजार ४ सय ४३.८६५ इजरायली सेकेल अर्थात् नेपाली रुपैयाँ करिब ३ लाख ४८ हजार पाउनेछन् । हप्तामा ६ दिन काम गर्नुपर्ने, प्रतिहप्ता न्युनतम ४२ घण्टा काम गर्नुपर्नेछ । ओभरटाइम सुविधा समेत हुने र त्यसको लागि इजरायली सरकारको नियमानुसार अतिरिक्त भत्ता पाउनेछन् ।

खानाको लागि कामदार स्वयम्ले व्यहोर्नुपर्ने, आवासको व्यवस्था रोजगारदाताले गरिदिने तर, त्यसको खर्च कामदारले व्यहोर्नुपर्नेछ । सुरुमा करार अवधि १ वर्षको हुनेछ, त्यसपछि अधिकतम करार अवधि ५ वर्षसम्म हुनेछ ।

Powered by Blogger.