Header Ads

काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र छपाइको तयारी

 काभ्रेपलाञ्चोक, २० कात्तिक । काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र छपाइको तयारी थालिएको छ ।

यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रमार्फत् सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ थाल्ने तयारी गरेको सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक देभराज ढुंगानाले जानकारी दिए ।

सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको शुक्रबार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरुवात गर्ने कार्यक्रम छ ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच लाइसेन्स छपाइ थाल्ने समझदारी भए अनुसार दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छाप्ने विभागले जनाएको छ ।


सुरक्षण मुद्रण विभागका अनुसार सबै प्रक्रिया पूरा गरेर ढिलोमा ६ महिनामा सवारीचालक अनुमतिपत्र उपलब्ध हुने सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

‘बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न केन्द्र सक्षम छ,’ ढुंगानाले भने ।

गत जेठ ९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी सवारीचालक अनुमतिपत्र छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

जेठमा एमओयू भए पनि दुबै सस्थाको प्राविधिक मूल्यांकन पछि एक हप्ता अघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर भएको थियो ।

‘छ महिना अघि देखि नै तयारीमा थियौं । एक हप्ता अघि कार्यान्वयनमा जाने निर्णय भयो । शुक्रबारबाट सवारीचालक अनुमतिपत्र छाप्ने काम सुरु हुन्छ,’ सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक ढुंगानाले भने ।

केन्द्रका अनुसार विभागसँगको समन्वयमा पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने तयारी भइरहेको छ ।

सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ ।

मुद्रण केन्द्रमा छपाइ गर्दा यातायात व्यवस्था बिभागले पहिले छापेको भन्दा १ सय रुपैयाँ सस्तो पर्नेछ ।

विभागले केन्द्रलाई छाप्नुपर्ने सवारीचालक अनुमतिपत्र नमूना उपलब्ध गराएपछि स्याम्पलिङको काम भइरहेको छ ।

विभागले लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको तीन दिनपछि छपाइ थाल्ने केन्द्रको तयारी छ ।

Powered by Blogger.