Header Ads

सरकार ढल्ने खतरामा : माधवको चाल, प्रतिपक्षमा उत्साह

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको वर्तमान सरकार ढल्ने खतरा बढेको छ ।

हालको सरकारमै रहेको नेकपा (एकीकृत समाजवादी) लाई सत्ता पक्षले विभेदकारी व्यवहार गरेका कारण सरकारको आयुमाथि प्रश्न उठ्ने अवस्था आएको हो ।

खासगरी सरकारमै सामेल गरेर प्रधानमन्त्री दाहाल र अर्को दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेकपा एसलाई पनि जनता समाजवादी पार्टी नेपाललाई विभाजन गरे जसरी विभाजन गर्ने खेल खेल्ने तयारी भैरहेको अवस्था छ । 


सोही अवस्थालाई ख्याल गरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आप्mनो दल र आफ्नो रक्षाका लागि नयाँ चाल चल्न लागेको समाचार स्रोतले दाबी गरेको छ ।

सरकारमा राखी दोस्रो दर्जाको व्यवहार गरिएको भनी अध्यक्ष नेपाल आक्रोशित बनेका छन् ।

एकीकृत समाजावादी सरकारमा भए पनि उसलाई बाहेक गरी मधेश प्रदेशमा सरकार बनाउने तयारी एमाले र माओवादी केन्द्रले गरेकाले नेता नेपाल थप आक्रोशित बनेका हुन् ।

मधेशमा सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने कार्य एमाले र माओवादी केन्द्रले गर्दा एकीकृत समाजवादीसँग कुनै सल्लाह नगरिएको भनी नेता नेपाल थप चिढिएका हुन् ।

सरकारमै रहेको आफ्नो दलसँग कुनै सल्लाह नगरी मधेश सरकार ढाल्ने निर्णयमा उनीहरु पुगेका भन्नेमा अध्यक्ष नेपाल स्पष्ट छन् ।

वैकल्पिक सरकार गठनमा समेत आफ्नो दललाई गणनामा नराखिएको बुझाइमा नेता नेपाल पुगेका बताइन्छ ।

त्यहाँ जसपा नेपालको नेतृत्वमा रहेको हालको सरकारलाई अल्पमतमा पार्ने गरी एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

एकीकृत समाजवादीलाई बेवास्ता गरी नयाँ सरकारका लागि जनमत, फुटेको जसपा, लोकतान्त्रिक समाजवादी पार्टीलाई सामेल गराउने नीतिका साथ एमाले र माओवादी केन्द्र बढिरहेका छन् ।

हाल अल्पमतको अवस्थामा देखिएको जसपा नेपाल नेतृत्वको मधेश प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिए पनि एकीकृत समाजवादी भने सरकारमै छ ।

यसरी आफू र आफ्नो दललाई तिरस्कृत गर्ने कार्य एमाले र माओवादी केन्द्रबाट पटक पटक भैरहेको अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीबीच छलफल भएपछि प्रधानमन्त्री दाहाल र ओली झस्किन पुगेका छन् ।

बैठकबाट कांग्रेसका सभापति देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका बीचमा छलफल भएको थियो ।

बैठकमा वर्तमान राजनीतिक अवस्था र मधेश सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीकातर्फबाट मुख्यमन्त्री बनाइए पनि त्यसलाई एमालेले मनैदेखि समर्थन नदिएको अवस्था छ ।

एकीकृत समाजवादीलाई मुख्यमन्त्री, प्रधानमन्त्री केही पनि दिनु हुँदैन भन्ने मान्यतामा रहेका ओलीले त्यस प्रदेशमा ‘मुटुमाथि ढुंगा राखी’ विश्वासको मत दिए पनि हालसम्म पनि सरकारमा सामेल नभएको अवस्था छ ।

यसरी सुदूरपश्चिम प्रदेशमा समेत अवरोध गरिरहेको बुझाइमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पुगेका छन् ।

बुधबार बूढानीलकण्ठमा बसेको बैठकमा नेता नेपालले सुदूरपश्चिममा हालको सरकारलाई टिकाउने गरी कांग्रेस सरकारमा जाने अवस्था आएमा गण्डकीमा कांग्रेस नेतृत्वको हालको ठूलो दलको हैसियतमा बनेको सरकारलाई टिकाउने सबैले प्रयास गर्ने सहमति पनि भएको बताइएको छ ।

यसैगरी मधेशमा जसपाको नेतृत्व, सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्व र गण्डकीमा कांग्रेसको नेतृत्वको सरकारलाई टिकाउनकालागि नयाँ गठबन्धन बनाउने कुरामा शीर्ष नेताहरु सहमत भएको बताइएको छ ।

एमालेका अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन जुनसुकै खेल खेल्न सक्ने कुरालाई नेता नेपालले महसुस गरेका बताइन्छ ।

सोही कारण आफू प्रधानमन्त्री नबने पनि प्रदेशहरुमा सरकार गठनमा आफ्नो भूमिका देखाउने तथा एमाले र माओवादी केन्द्रलाई समेत सरकारबाट विस्थापित गराइदिने सोचका साथ नेता नेपाल अघि बढिरहेको बताइन्छ ।

नेता नेपालको कदमलाई साथ दिनैपर्ने अवस्थामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका छन् । आफू विदेशमा रहेको बेला प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले षडयन्त्र गरी आफ्नो दललाई ‘विभाजन’ गर्ने प्रयास गरेको बुझाइमा यादव पुगेका हुन् ।

केन्द्रमा सरकारबाट आफ्नो दललाई विस्थापित गरी आफ्नो दललाई विभाजन गरी विभाजितहरुलाई सरकारमा सामेल गरेकोमा यादव निक्कै नै आक्रोशित बनेका छन् ।

त्यतिले मात्र नपुगेर मधेश सरकारलाई समेत विस्थापित गराउने खेलमा एमाले र माओवादी केन्द्र लागेको भनी यादव एमाले र माओवादी केन्द्रलाई देखाई दिने पक्षमा रहेका बताइन्छ ।

मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवाद मिलेर सरकार बनाउने हो भने ५६ सांसद पुग्ने अवस्था छ । १०७ सदस्यीय प्रदेश सभामा एमाले र माओवादी केन्द्रलाई सत्ता बाहिर राखेर बहुमत पु¥याउने योजनामा नेता नेपाल र यादव रहेका छन् ।

मधेशमा हालको सत्ता गठबन्धनभन्दा फरक ढंगले प्रदेश सरकार बनाउने योजना सफल भएमा त्यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्ने आंकलन गरिएको छ ।

एकीकृत समाजवादी र सिंगो जसपा नेपालले साथ नदिएको अवस्थामा वर्तमान केन्द्रीय सरकारमाथि ‘खतराको घण्टी’ कुन बेला बज्ने हो ठेगान नभएको अवस्था छ ।

रवि लामिछानेका विवाद काण्डहरुले रुमलिएको रास्वपाले पनि कतिबेला सरकारबाट बाहिरिने निर्णय गर्ला भनी प्रधानमन्त्री दाहाल निरास अवस्था रहेको स्रोतले बताएको छ ।

उता, सरकार नै ढल्ने अवस्थामा पु¥याउने तागत देखाउन माधवकुमार नेपाल र उपेन्द्र यादव लागेको अवस्थामा प्रधानमन्त्री दाहालले झलनाथ खनालको सहारा खोजेका छन् ।

हिजो विहीबार खनाललाई प्रधानमन्त्री निवासमा बोलाएर दाहालले सरकारलाई टिकाउन अनुनय विनय गरेको समाचार स्रोतको दाबी छ ।

उता, प्रमुख प्रतिपक्षमा रही सत्ता पक्षको पेलान्मा पर्दै आएको महसुस गरिरहेको कांग्रेस भने पछिल्ला घटनाक्रमले उत्साहित बनेको छ ।

गण्डकी प्रदेशमा सर्वोच्च अदालतले सही न्याय दिई आफ्नो दलको नेतृत्वमा सरकार हुन पुगेमा कांग्रेस उत्साहित बनेको हो ।

यसैगरी सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानविन गर्नका लागि संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै आएको कांग्रेसले उक्त माग पनि ९५ प्रतिशत सम्वोधन भएको बुझेको छ ।

रवि लामिछानेको नाम उल्लेख नभए पनि उनी विवादमा परेका सहकारीहरुको नाम नै उल्लेख गरेर समिति गठन गरेको अवस्थामा त्यसलाई कांग्रेसले सकारात्मक रुपमा लिएको हो ।

मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपासहितको नयाँ गठबन्धन बनाउन सकेका खण्डमा ती प्रदेशमा हालको केन्द्रीय गठबन्धन भंग हुने सोचमा कांग्रेस रहेको छ ।

सैगरी कोशी प्रदेशमा पनि विचाराधीन मुद्दामा केदार कार्कीको पक्षमा फैसला आउनेमा कांग्रेस आशावादी देखिएको छ ।

कांग्रेसले संविधानको सही व्याख्या भएको खण्डमा कोशीमा केदार कार्कीको नेतृत्वमा बनेको उपधारा ५ अनुसारको सरकारले दुई वर्षसम्म विश्वासको मत फेरि लिनु नपर्ने कुरा स्थापित हुने आशा गरेको छ ।

यसरी कोशीमा समेत एमाले नेतृत्वको सरकार विस्थापित हुन सक्ने वातावरण बन्ने अवस्थाप्रति कांग्रेस आशावादी देखिएको नयाँ विमर्शमा खबर छ ।

यसैगरी एकीकृत समाजवादीले सरकारको साथ छोडेको खण्डमा बाग्मती प्रदेशमा समेत हालको प्रदेश सरकार अल्पमलमा पर्न जाने हुन्छ ।

त्यस्तो स्थितिमा नयाँ गठबन्धनको सरकार बन्न सक्ने अवस्था जिवित बन्न पुग्ने हुन्छ ।

यसैगरी लुम्विनी प्रदेशमा पनि हालको गठबन्धन भत्किँदा कांग्रेसलाई सत्तारोहण गर्न सहज हुने बुझाइमा कांग्रेस पुगेको अवस्था छ ।  

स्रोत : न्यूज अभियान बाट 

Powered by Blogger.