Header Ads

लकडाउनमा ७० प्रतिशतले घट्यो संगठित अपराध

काठमाडाैं, १४ जेठ । लकडाउनअघिसम्म काठमाडौंमा अपराधको घटनामा तीव्र वृद्धि भएको थियो । हत्या, अपहरण, बैंक ठगी, साइबर क्राइमलगायत घटना नभएको दिनै हुन्नथ्यो । त्यही भएर काठमाडौंलाई अपराधको समेत राजधानी भन्न थालिएको थियो । लकडाउनको दुई महिनामा भने अपराधको घटना करिब ७० प्रतिशतले घटेको प्रहरीको भनाइ छ । विगतमा काठमाडौं उपत्यकाका प्रहरीको हिरासत कक्ष भरिभराउ हुन्थे । तर, यतिवेला काठमाडौं प्रहरीको हिरासत कक्ष प्रायः सुनसान छन् ।

सामान्य दिन भए महानगरीय प्रहरी परिसर काठमाडौंमातहतका हिरासत कक्षमा प्रत्येक दिन कम्तीमा पाँच सयको संख्यामा थुनुवा रहन्थे । तर, अहिले सबै हिरासत कक्षमा ३३ थुनुवा राखिएका छन् । परिसरमातहत १४ वृत्त छन् । सबै वृत्तका आ–आफ्नै हिरासत कक्ष छन् । महानगरीय प्रहरी परिसर प्रमुख काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले काठमाडौंका प्रहरी हिरासत सुनसान भएको इतिहासकै पहिलो घटना भएको बताए । ‘सामान्य दिनमा परिसरमातहतका हिरासत कक्षमा प्रत्येक दिन पाँच सयदेखि सात सयको संख्यामा थुनुवा रहन्थे । तर, अहिले जम्मा ३३ थुनुवा हामीसँग छन् । सधैँ खचाखच हुने यहाँका हिरासत कक्ष सुनसान भएको सायद यो इतिहासकै पहिलोपटक हो,’ उनले भने ।

काठमाडौंपछि मोरङमा अपराधका घटना धेरै हुने गर्थे । तर, अहिले मोरङ प्रहरीका हिरासत कक्ष पनि सुनसानजस्तै छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीका अनुसार सधैँ एक सय ४० देखि एक सय ५० सम्म थुनुवा रहने मातहतका हिरासत कक्षमा अहिले ७४ मात्रै थुनुवा राखिएका छन् । ‘यहाँका हिरासत कक्षमा सामान्य दिनमा एक सय ४० देखि एक सय ५० सम्म थुनुवा रहन्थे । तर, अहिले ७४ मात्रै थुुनुवा रहेको तथ्यांक छ । यसअघि यसरी हिरासत कक्ष सुनसान भएको मेरो जानकारीमा छैन,’ उनले भने ।

गण्डकी प्रदेशको कास्की पनि अपराध धेरै हुने जिल्लामा पर्छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकअनुसार विगतमा जिप्रकाको हिरासत कक्षमा मात्रै प्रत्येक दिन एक सय ५० देखि एक सय ६० सम्म थुनुवा रहन्थे । तर, अहिले ३० जना हिरासत कक्षमा छन् । ‘जिप्रकाबाट चलेका जम्मा २४ मात्रै मुद्दा छन् । सामान्य दिनमा यो संख्या निकै धेरै हुने गथ्र्यो । मुद्दा नै कम भएको हुँदा थुनुवा संख्या कम हुनु स्वाभाविक हो । त्यसैले हामीकहाँ अहिले ३९ थुनुवा छन्,’ जिप्रका प्रमुख एसपी दानबहादुर कार्कीले भने ।

नेपाल प्रहरीका अनुसार अपराध नै कम भएकाले हिरासत कक्ष सुनसान हुन पुगेका हुन् । प्रहरीले उपलब्ध गराएको लकडाउनअघिको दुई महिना र पछिको दुई महिनाको तथ्यांकले पनि त्यही देखाउँछ । लकडाउनअघिको माघ र फागुनमा मुलुकुभर सात हजार आठ सय नौवटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका थिए । तर, लकडाउनपछिको दुई महिनामा जम्मा दुई हजार चार सय १४ मात्रै मुद्दा दर्ता भएको देखिन्छ । यो संख्या अघिल्लो दुई महिनाको तुलनामा ६९.०९ प्रतिशतले कम हो । यसले पनि मुलुकभर लकडाउनयताको दुई महिनामा झन्डै ७० प्रतिशतले अपराध घटेको देखिन्छ । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले समाचार लेखेका छन् ।
Powered by Blogger.