Header Ads

भारतीय गाडीले जनकपुर जाम !

काठमाडौं, २६ भदौं । देश-२ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्नका लागि आचार संहितामै उल्लेख गरेको भएपनि यहाँ सबै पदका उम्मेदवार प्रचारप्रसारमा झण्डा र पोष्टरहरु टाँगेर भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन्।

आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमती लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधनमात्र प्रयोग गर्न पाउने उल्लेख गरेको छ। जिल्लामा मेयर र उपमेयरका उम्मेदवारले एकजनाले १० देखी १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्। नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।

भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ। यता, नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारीका गाडी धनीहरु मलामाल भएका छन्। गाडीमा कार्यकर्ता नभए पनि चालकले झण्डासहितको गाडी नगर क्षेत्रमा घुमाइराखेका छन्।

राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रर्दशनका लागि समेत यस्ता गतिवीधि सञ्चालन गरेका छन्। भारतीय गाडीको चापले नगरक्षेत्रमा ट्राफिक जामको समस्या समेत दैनिक हुन थालेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
Powered by Blogger.