Header Ads

औद्योगिक ग्राहकको विद्युत् महसुल २० प्रतिशतले बढाउने प्रस्ताव

काठमाडौं, ९ माघ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक र सामुदायिक ग्राहकको बिजुलीको महसुल बढाउने प्रस्ताव गरेको छ ।

 प्राधिकरण सञ्चालक समितिको २१ पुसको बैठकले औद्योगिक ग्राहकको महसुल २० प्रतिशतले बढाउने प्रस्ताव स्वीकृतिका लागि विद्युत् महसुल निर्धारण आयोगमा पेस गरेको हो ।

नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्राधिकरणले हरेक वर्ष स्वतः निर्धारण हुने गरी विद्युत् महसुल सूत्र निर्धारण गरिदिन पनि आयोगलाई आग्रह गरेको छ । आयोगले स्वीकृति दिएमा मात्रै प्राधिकरणको निर्णय कार्यान्वयनमा आउनेछ ।

 यसअघि प्राधिकरणले गत साउनबाट सबै ग्राहकको महसुल औसतमा करिब १९ प्रतिशतले बढाएको थियो ।

प्राधिकरणको वित्तीय अवस्था कमजोर भएकाले यसको सुधार नहुन्जेलसम्मका लागि औद्योगिक ग्राहकको अहिलेको दरमा २० प्रतिशत बढाउन प्राधिकरणले प्रस्ताव गरेको आयोगका अध्यक्ष जगतकुमार भुसालले जानकारी दिए । गत असारसम्ममा प्राधिकरणको सञ्चित नोक्सानी ३७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

विगतमा लोडसेडिङको मारमा परेका उद्योगलाई प्राधिकरणले अहिले दुई सिफ्टमा चल्ने गरी विद्युत् दिइरहेको छ ।

औद्योगिक ग्राहकबाट साढे २५ प्रतिशत नोक्सानी
 प्राधिकरणले आयोगमा पेस गरेको विवरणअनुसार औद्योगिक ग्राहकबाट प्रत्यक्ष रूपमा २५ दशमलव ५७ प्रतिशत नोक्सानी छ ।

औद्योगिक वर्गका ग्राहकको औसत महसुल दर प्रतियुनिट ९ रुपैयाँ ६६ पैसा छ । सेवाको लागत भने १२ रुपैयाँ१३ पैसा छ । अर्थात् प्रतियुनिट २ रुपैयाँ४७ पैसा नोक्सानी रहेको प्राधिकरणको तथ्यांक छ ।

‘औद्योगिक ग्राहकलाई सहुलियतपूर्ण महसुल निर्धारण गर्ने नीति हुँदाहुँदै पनि वित्तीय अवस्था कमजोर भएको र यसलाई सुधार गर्न आवश्यक भएकाले आगामी केही समय वित्तीय अवस्था सुधार नहुन्जेलसम्म महसुल वृद्धिको प्रस्ताव गरिएको हो,’ प्राधिकरणले उल्लेख गरेको छ ।
Powered by Blogger.