Header Ads

तेइस वर्षपछि नेपाललाई स्वर्ण, फुटबलमा नवयुग सुरुः फोटो फिचर सहित

काठमाडौँ । आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए । एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो । यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । 

नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे । गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण ग¥यो । नेपालका लागि ६५ औंँ मिनेटमा बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो । नेपाली राष्ट्रिय टोलीले तीन साताअघि पनि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि जितेको थियो । उक्त उपाधि राष्ट्रिय टोलीले २३ वर्षपछि जितेको उपाधि थियो । छैटौँ साफ गेम्स (ढाका) मा स्वर्ण जित्दाका कप्तान थिए राजुकाजी शाक्य । उनको कप्तानीमा नेपालले २–२ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराएर २३ वर्षअघि स्वर्ण जितेको थियो ।

अहिले उनी प्रशिक्षक छन् र उनले सम्हालेको नेपाली यु–२३ टोलीले नै १२ औँ सागको स्वर्ण जितेको हो । श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले शनिबार दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धापछि माल्दिभ्सलाई ४–३ ले पन्छाउँदै १७ वर्षपछि सागको फाइनल यात्रा तय गरेको थियो । विराजकै कप्तानीमा नेपाल तीन साताअघि फाइनलमा बहराइन यु–२३ लाई ३–० ले हराएर बङ्गबन्धु गोल्डकप च्याम्पियन भएको थियो । अहिलेका सबै खेलाडी त्यही टोलीका सदस्य हुन् । श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । आर्मीका फर्वार्ड श्रेष्ठले पछिल्ला पाँच खेलमा तीन ह्याट्रिक सहित १० गोल गरेका छन् । बङ्गबन्धु गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले १२ औँ सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि ह्याट्रिक गरेका थिए । 

 संयोग नवयुगको हयाट्रिकमा नेपालले बङ्गबन्धुको सेमिफाइनलमा पनि माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । सागको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध सनसनीपूर्ण विजय पाउँदा उनैले ह्याट्रिक गरेका थिए । दशरथ रङ्गशालामा १९९९ मा भएको आठौँ साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बङ्गलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टोली सहभागी हुन्थे । नवाँैं साफ गेम्स २००४ देखि फुटबलमा यु–२३ टोलीले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कास्य हात पारेको थियो । सागमा नेपालले फुटबलमा अहिलेसम्म तीन स्वर्ण, दुई रजत र दुई कास्य जितिसकेको छ । फुटबल प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकाबाट देशलाई स्वर्ण पदक दिलाउने दाउमा थिए । आफ्नै देशबाट सन् १९८४ मा सुरु साफ (तत्कालीन दक्षिण एसियाली महासङ्घीय खेलकुद, साफ) खेलकुदको पहिलो संस्करणमा नेपालले फुटबलको स्वर्ण जित्दा उनी खेलाडी थिए । सन् १९९३ मा ढाका साफमा उनकै कप्तानीमा नेपाली फुटबल टोलीले स्वर्ण जितेको हो ।

 सन् १९९९ मा आफ्नै भूमिमा आठँौं साफ हुँदा शाक्य सहायक प्रशिक्षकमा थिए । त्यतिखेर नेपालले रजत पदकमै चित्त बुझाउनुपरेको थियो । त्यसयता नेपाली टोली उपाधिविहीन बन्दै आएको अवस्थामा नेपालले तीन साताअघि ढाकामा सम्पन्न बङ्गबन्धु गोल्डकप जितेर उपाधिको खडेरी २३ वर्षपछि मेटेको थियो । आर्मीका फरवार्ड श्रेष्ठले पछिल्ला छ खेलमा तीन ह्याट्रिक सहित ११ गोल गरिसकेका छन् भने सागमा मात्रै दुई ह्याट्रिक सहित सात गोल गरिसकेका छन् । अघिल्लो महिना बङ्गबन्धु गोल्डकपको उपाधि जितेर हौसिएका कप्तान विराज महर्जनले भारत प्रस्थान गर्नुअघि भनेका थिए “हामी पुनः उपाधि जितेर फुटबलप्रेमी समर्थकलाई खुसी बनाउने छौँ ।” उक्त भनाइ आज सार्थक भएको छ । हुन पनि आज नेपालले भारतजस्तो बलियो प्रतिद्वन्दीलाई उसकै घरेलु मैदानमा हराएर स्वर्ण जितेको छ ।
Powered by Blogger.