Header Ads

मध्यराति एक हजार बढी कर्मचारीको सरुवा गरेपछी, को को परे त ?

काडमाडौं । सामान्य प्रशासन मन्त्रालयले साउनमा एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको छ । सोमबार राति झन्डै ९ बजे एकैपटक चार सय कर्मचारीको सरुवा भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

मन्त्रालयले साउनमा कार्यालय सहयोगीदेखि उपसचिवस्तरका एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको हो । उपसचिवस्तरका ७५ तथा शाखा अधिकृतस्तरका एक सय ३२ कर्मचारीको सरुवा गरिएको छ । नायब सुब्बा तहका तीन सय २४, खरिदार तहका चार सय एक र कार्यालय सहयोगी तथा हलुका सवारीचालक तहका गरी दुई सय १९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरमा कर्मचारी सरुवा गर्ने गर्छ । मन्त्रालयका कर्मचारीका अनुसार कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रूपनारायण भट्टराई सोमबार बिहानदेखि राति अबेरसम्म व्यस्त थिए ।

स्रोतका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सबै कर्मचारी सहसचिव भट्टराईकै कार्यकक्षमा थिए । सरुवा मापदण्ड बनाए पनि सोर्सफोर्सका आधारमा कर्मचारी सरुवा भएको सामान्यकै केही कर्मचारीको आरोप छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले भने सरुवा विगतमा भन्दा पारदर्शी र विवादरहित भएको दाबी गरे । ‘मन्त्रीज्यूकै निर्देशनअनुसार मापदण्डका आधारमा सरुवा भएको छ,’ आलमले भने । गलत किसिमको सरुवा भए देखाउन उनले चुनौती दिए ।

सामान्य प्रशासन मन्त्रालयले केही जिल्लाका स्थानीय विकास अधिकारीको सरुवासमेत गरेको छ । सोमबार राति ४४ जना उपसचिवको सरुवा भएको छ । सुनसरीका स्थानीय विकास अधिकारी युवराज अधिकारी, कास्कीका तारानाथ अधिकारी, कैलालीका कृष्णप्रसाद लम्साल, दाङका पुष्पराज शाही, बाँकेका ज्ञानेन्द्रप्रसाद ढकाल, बर्दियाका डिल्लीराम सिग्देल, महेन्द्रनगरका कार्यकारी अधिकृत लोकबहादुर सुनार, जाजरकोटका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल, स्याङ्जाका पुण्यविक्रम पौडेललगायतको सरुवा भएको छ ।

सामान्य प्रशासनमन्त्रीका निजी सचिव होमप्रसाद लुइँटेलले लामो समयसम्म एकै निकायमा रहेका उपसचिवको सरुवा गरिएको दाबी गरे । सबैलाई समान अवसर दिनुपर्छ भन्ने मान्यताले सरुवा गरिएको उनको भनाइ छ ।
Powered by Blogger.