Header Ads

राजधानीमा हैजाका जीवाणु, यसपालिको हैजा तीन–चार वर्षयताकै ‘कडा’, हैजाका लक्षण

काठमाडौं । राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको हो । यस पटकको हैजा तीन–चार वर्षयताकै ‘कडा’ रहेको विशेषज्ञहरूको दाबी रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला भनिन्छ । पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यो हैजा हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाको बेलामा उपचार भएन भने बिरामीको मृत्युसम्म हुन सक्छ । राजधानीमा डेढ दशकयता बर्सेनि वर्षायाममा हैजा देखिँदै आएको छ ।

टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् । ‘अस्पताल भर्ना भएका ५ पुरुष र १ महिलामा हैजा देखिएको हो,’ टेकु अस्पतालका डा।राजेश साहले भने । टेकु अस्पतालकै डा शेरबहादुर पुनले यस पटकको हैजा पहिलेको दाँजोमा फरक रहेको बताए । ‘यस पटक पखाला र बान्ता भएको केही समयमै अचेत भएर अस्पताल आएका देखिएका छन्,’ डा पुनले भने, ‘पहिले हैजाका बिरामी ३ दिनमा राम्रो भएर जान्थे ।

यस पटक ४ दिनमा पनि खास सुधार देखिएको छैन ।’ हैजाको ब्याक्टेरियाबाट संक्रमित दूषित खाना वा पानी खाँदा यो संक्रमण हुन सक्छ । ‘हैजा देखिएकाहरूले धारा र जारको पानी खाने गरेका थिए,’ डा साहले भने, ‘जारको समेत पानी प्रशोधनपछि मात्र खानुपर्ने स्थिति देखिएको छ ।’ चिकित्सकले बल्खु, कुलेश्वर, कालिमाटी तथा टेकुक्षेत्रबाट नयाँ बिरामी आइरहेको बताए । हैजा ब्याक्टेरियाद्वारा आन्द्राको संक्रमणले गर्दा उत्पन्न हुने झाडापखालासम्बन्धी गम्भीर रोग हो ।

संक्रमित आहार वा पानीले यसको जिवाणु शरीरमा प्रवेश गर्छ । यसले तीव्र गतिले आन्द्रामा आक्रमण गर्छ । आन्द्राको कोशिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन थाल्छ । डब्लूएचओका अनुसार संसारभर बर्सैनि १४ लाखदेखि ४३ लाखसम्म हैजाका बिरामी हुन्छन् । तीमध्ये २८ हजारदेखि १ लाख ४२ हजारसम्मको मृत्यु हुन्छ । हैजाको करिब ८० प्रतिशत रोग जीवनजलबाट उपचार गर्न सकिन्छ ।

गर्मी समयमा बजारमा पाइने बरफ, आइसक्रिमलगायतका पदार्थ शुद्ध पानीबाट बनेको ग्यारेन्टी नहुने डा शाहले बताए । हैजाको जिवाणु शरिरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिन सक्छ । यसले छिटोभन्दा छिटो फैलिने क्षमता राख्छ । हैजा तथा झाडापखालाबाट बच्न खानुभन्दा अघि साबुनपानीले राम्ररी हात धुन, झिंगा भन्केको, बासी वा चिसो खाद्यपदार्थ नखान, पानी उमालेरमात्र पिउन, बजारमा पाइने बरफ, आइसक्रिमजस्ता खाद्यपदार्थ नखान चिकित्सकले सुझाव दिएका छन् ।

हैजाका लक्षण 
# एक्कासि पातलो दिसा हुनु
# सुरुमा खैरो पातलो र पछि चौलानी जस्तै दिसा हुनु
# कहिलेकाहीं वाकवाकी लाग्नु र बान्तासमेत हुनु
# अत्यधिक तिर्खा लाग्नु, तिर्खाले गर्दा मुर्छासमेत हुन सक्नु
# शरीरमा अत्यधिक पानीको कमीले छाला, मुख, घाँटी सुक्न थाल्नु
# पिसाब धेरै कम र गाढा पहेँलो हुनु
Powered by Blogger.