यौन शक्तिबर्धक औषधि भन्दै आयुर्वेदिक पसल र टेलिसपको अवैध धन्दा
काठमाडौ । टेलिसप पसल र केही आयुर्वेदिक पसलहरुले यौन शक्तिबर्धक र लिङ्ग बढाउने औषधीहरु भन्दै औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधी तथा कस्मेटिक प्रोडक्टहरु विक्री वितरण गरेका छन्। कस्मेटिक प्रोडक्टहरु खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता गर्नुपर्ने भएपनि यस्ता औषधि र खाद्यपदार्थ न औषधि व्यवस्था विभागमा दर्ता भएका छन् न त खाद्य तथा गुण नियन्त्रण विभागले नै ।
यी दुवै विभागले यसमा चासो बढाउन नसक्दा बजारमा भने केहि आयुर्वेदिक पसल र टेलिसप पसलहरुले खुलेआम ग्राहकको स्वास्थ्य माथि खेलबाड गरेका छन्। आयुर्वेदिक पसल र टेलिसपहरुमा यस्ता औषधिहरु छ्याप्छ्याप्ती भेटिन्छन्। टेलिसपहरुले भने यस्ता औषधिको विक्री बढाउन केहि छापा तथा इलेक्ट्रोनिक सञ्चारमाध्यममा प्रचार प्रसार समेत गर्दै आएका छन्। औषधि व्यवस्था विभागले असार २३ गते एक सूचना प्रकाशित गर्दै यस्ता सामाग्रीको प्रचारप्रसारमा समेत रोक लगाएको छ।
औषधिको बिज्ञापन गर्न औषधि ऐन २०३५ को दफा १९ र औषधि दर्ता नियमावली २०३८ को नियम ७ बमोजिम औषधि व्यवस्था विभागबाट इजाजत लिनुपर्दछ। तर यो प्रावधानको बर्खिलाप गरि विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमले यस्ता यौन शक्तिबद्र्धक र लिङ्ग बढाउने तथा घटाउने औषधिको प्रचार प्रसार गरिरहेको औषधि व्यवस्था विभागको भनाई छ।
‘अंगको आयतन बढाउने,घटाउने,उच्चरक्तचाप,मधुमेह जस्ता रोगमा छुटकारा पाउने भन्ने लगायतका विभिन्न भ्रमात्मक सन्देश मार्फत आर्थिक लाभ लिन खोज्ने मानव स्वास्थ्यमा खेलबाड गर्ने ब्यक्ति, फर्म वा सञ्चारमाध्यमलाई औषधि ऐन बमोजिम कारवाही हुनेछ। ’विभागले असार २३ गते जारी गरेको सुचनामा उल्लेख गरिएको छ।यी दुवै विभागले यसमा चासो बढाउन नसक्दा बजारमा भने केहि आयुर्वेदिक पसल र टेलिसप पसलहरुले खुलेआम ग्राहकको स्वास्थ्य माथि खेलबाड गरेका छन्। आयुर्वेदिक पसल र टेलिसपहरुमा यस्ता औषधिहरु छ्याप्छ्याप्ती भेटिन्छन्। टेलिसपहरुले भने यस्ता औषधिको विक्री बढाउन केहि छापा तथा इलेक्ट्रोनिक सञ्चारमाध्यममा प्रचार प्रसार समेत गर्दै आएका छन्। औषधि व्यवस्था विभागले असार २३ गते एक सूचना प्रकाशित गर्दै यस्ता सामाग्रीको प्रचारप्रसारमा समेत रोक लगाएको छ।

विभागले यस्तो सूचना जारी गरेको एक महिना बित्दा सम्म पनि विभिन्न सञ्चारमाध्यममा यस्ता भ्रमात्मक विज्ञापनको प्रचारप्रसार रोकिएको छैन । यौन शक्तिबर्धक र लिङ्ग बढाउने यस्ता औषधिहरुको प्रचार प्रसार मात्रै नभई विक्री वितरण समेत गर्न नपाइने औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए। २०६० सालतिर नेपालमा टेलिसप पसलहरु खुल्न थालेका थिए । यस्ता औषधीहरु अहिले नेपालमा भारत, चीन र थाइल्याण्डबाट आउने गरेका छन् । यस्ता औषधिहरु ९० प्रतिशत जति चीनबाट आउने गरेको व्यवसायीहरुको भनाई छ। अहिले यौन शक्तिबर्धक र लिङ्ग बढाउनको लागी टेलीसपले विभिन्न खालका औषधिहरु विक्री वितरण गरेको छ। टेलीसपले म्याक्सम्यान नामको औषधि लिङ्ग बढाउने भन्दै विक्री वितरण गरेको छ।
अमेरिकन कम्पनीबाट उत्पादित यो औषधि विभागमा दर्ता नभएको पुरानो बाँनेश्वरमा रहेको टेलिसपका सञ्चालक सुमन श्रेष्ठ बताउँछन्। यो औषधीका विभिन्न साइड इफेक्ट हुनेभएपनि यो खुलेआम रुपमा विक्री वितरण भएको छ नत विभागबाट नै यो औषधीको बारेमा अध्ययन गरिएको छ। म्याक्सम्यान औषधिको २५ सय रुपैयाँ पर्ने टेलिसप सञ्चालक श्रेष्ठ बताउँछन्। यस्ता औषधिको विक्री वितरण गर्दा बिक्रेताहरुले एक सय प्रतिशत भन्दा बढि नाफा कमाउँछन्। केहिले प्रभावकारी नभए पैसा फिर्ता गर्ने आश्वासन समेत दिन्छन् । एक स्रोतका अनुसार यसरी यौन शक्तिबद्र्धक औषधीको ५० प्रतिशत रकम ग्राहकलाई फिर्ता गर्दा समेत विक्रेताले ५० देखि सय रुपैयाँ सम्म नाफा कमाउँछन्। तर टेलिसपका सञ्चालहकहरुले भने बजारमा प्रचार प्रसार भएजस्तो रकम फिर्ता नगर्ने बताउँछन्।
अहिले देशभरमा रहेको टेलीसपका एक सय २० भन्दा बढि पसलमा यस्ता यौन शक्तिबद्र्धक र लिङ्ग बढाउने औषधी पाइन्छन्। यौन शक्तिबद्र्धक औषधिहरु पसल पिच्छे फरक फरक भेटिन्छन्। अहिले टेलीसप तथा आयुर्वेदिक पसलहरुमा यौन शक्तिबद्र्धक र यौनउत्तेजना बढाउने मेन अफ आइरन , हर्बल लिबेट्रा, हर्माेटेक्स, पावरप्रास र शक्तिप्रास जस्ता नामका औषधिहरु भेटिन्छन्। शिघ्रपतन रोक्ने भन्दै आयुर्वेदिकपसल र टेलीसपहरुमा पाइेन मेनअफ आइरन जर्मनी कम्पनीबाट उत्पादित हो भने यसको नेपालमा एक बट्टालाई ४ हजार ५ सय रुपैयाँ पर्दछ। हर्बल लिबेट्रा र हर्माेटेक्स भने भारतमा उत्पादन हुने गर्दछ। साथै यि दुवै औषधिलाई विक्रेताहरुले २ हजार ५ सय रुपैयाँ सम्म विक्री गर्ने गरेका छन्।
त्यस्तै पावरप्रास र शक्तिप्रास पनि भारतमै उत्पादन हुने गर्दछ भने यि दुबैलाई नेपालमा ५ हजार रुपैयाँमा विक्री वितरण गर्ने गरिएको छ। पुतलीसडकमा रहेको ग्लोबल टिभी प्रोडक्ट सपले लिङ्ग बढाउने भन्दै डिमोइल तेल बेच्ने गरेको छ। कुमार भारतीले सञ्चालन गरेको यो सपले ग्यारेन्टीका साथ लिङ्ग बढाउने दाबी गर्दछ। साथै यसको दुईहजार रुपैयाँ पर्ने भारतीको दाबी छ। डिल्लीबजारमा रहेको लोकहित आयुर्बेद पसललले पनि यस खालका औषधिहरु पाइने बताउँछ। गणेश श्रेष्ठद्वारा सञ्चालित यो आयुर्वेदिकपसलमा लिङ्ग बढाउने तेल र ह्यान्डसम अप भन्ने पाइने गर्दछ।
एक विक्रेताका अनुसार यस्ता यौन शक्तिबर्धक औषधिहरुमा भियग्रा जियग्रा जस्ता एलोपेथिक औषधिहरु मिसाइएको हुन्छ। यसका उपभोक्ता भने धेरैजसो विवाहित र बिशेषत ४० देखि ४५ वर्ष सम्मका मानिसहरु हुने गरेका छन्। मानसिक तनाव, मधुमेह तथा उच्चरक्तचापका कारण यौन उत्तेजनामा कमी आउने गर्दछ । तर यस्ता औषधिको प्रयोगकर्ता भने डाक्टरहरुको सल्लाहबिनानै यस्ता आयुर्वेदिक पसल र टेलसपमा भियग्रा र जियग्रा मिसाइएका औषधिहरु खाने गरेका छन्।
