नेपालमा सडक दुर्घटनाबाट प्रतिदिन ६ जनाको मृत्यु, ३३ घाइते
विश्वमा वर्षेनी १३ लाख मानिसको दुर्घटनाबाट मृत्यु
पोखरा । प्राथमिक उपचार र सडक सुरक्षाबारे चारदिने तालिम आइतवार पोखरामा शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दैै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डोलराज पाण्डेले प्राथमिक उपचारको महत्व बढ्दै गएको बताउनुभयो ।
शाखाका मन्त्री एवम् तालिमका कोर्ष कोअर्डिनेटर कृष्ण तिमील्सीनाले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताउनुभयो ।
तालिममा लेखनाथ र शिशुवा उपशाखाका २४ जनाको सहभागिता रहेको छ ।
तालिममा मिना सुवेदी, मोहनसिंह खड्का, रेखा कार्की र मुक्तिराम बराल सहजिकरण गर्नुहुनेछ । सडक सुरक्षा र सडक दुर्घटना, प्राथमिक उपचार, घाइतेको जाँच र वर्गीकरण, बेहोसी, श्वास—प्रश्वास समस्या, रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट, भँचाई, घाउचोट र पट्टी, पोलाई, मनोवैज्ञानिक प्राथमिक उपचार लगायतका विषयमा तालिम प्रदान गरिने छ ।
तालिम पश्चात उनीहरुले स्वयमसेवीको रुपमा कार्य गर्नेछन् ।
प्राथमिक उपचार र सडक सुरक्षा परियोजनाका फिल्ड कोअर्डिनेटर प्रतिभा सापकोटाले कास्कीको कोत्रेदेखि लुम्लेसम्म परियोजना सञ्चालन भइरहेको जानकारी दिदै यस क्षेत्रका स्थानीयलाई सडक सुरक्षाबारे तालिम प्रदान गरिने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यक्रम भएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा सडक दुर्घटना मानिसहरुको मृत्युको आठौं मुख्य कारण रहेको छ । साथै २५ देखि २९ वर्षका युवाहरुको मृत्युको मूल कारण पनि सडक दुर्घटना बनेको छ । विश्वमा वर्षेनी सडक दुर्घटनाका कारण १३ लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने नेपालमा प्रतिदिन ६ जनाको मृत्यु र ३३ जना घाइते हुने गरेको तथ्याङ्क छ । - स्रोत/न्यूजअभियान डट कम बाट
