प्रधानमन्त्रीले ढोगेपछि कहाँ के गर्दैछन् छन् रामबहादुर बमजन ? बिस्तारमा जान्नुहोस् !
काठमाडौँ । झन्डै १० वर्षअघि निराहार बसेर ज्ञान प्राप्त गरिएको प्रचारपछि नेपाललगायत संसारका विभिन्न मुलुक र सञ्चारमाध्यमको आकर्षण बनेका बारा, रतनपुरका युवक रामबहादुर बमजन अहिले गुमनाम छन् । कहिले बाराको गढीमाइ मेलामा मारकाट नगर्न सन्देश प्रवाह गर्ने त कहिले तपस्या गरेको स्थलमा विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको प्रसंगमा पनि जोडिने बमजन त्यतिखेर नेपालका ‘लिटिल बुद्ध’का नाममा चर्चामा थिए । बाराको हलखोरिया जंगलमा बमजनका कार्यकर्ताले यातनागृह, आवास बनाएर जंगल कब्जा गरेको भन्दै अदालतमा मुद्दामामिला र सशस्त्र प्रहरी लगाएर आवास भत्काउने कामसमेत भएको थियो ।

बाराको हलखोरिया जंगलमा रहेका बमजन र उनका अनुयायीले राम्रो काम गरेनन् भनेर आलोचनासँगै उनीहरुलाई त्यहाँ बस्न नदिन सबै एकजुट भएपछि सिन्धुली गएका भनिएका बमजन अहिले कहाँ छन् ? धेरैले उनकाबारे चासोसमेत लिन छाडेका छन् । सर्लाहीबाट कहिले गोर्खा र कहिले लमजुङ अनि सिन्धुपाल्चोक गएका भनिएका बमजनको चर्चा अहिले कम नै छ ।
सुरुका ६ वर्ष तपस्या गरेर तपस्वी बमजन बनेका भनेर संसारभर चर्चा गरिएका बमजन कहिले युुवतीसँग भेटिनु, कहिले हतियार बोकेर गाउँले लखेट्नु त कहिले आफ्नै आमालाई पनि पिटेको भन्ने खबर बाहिर आउनुले उनको प्रशंसासँगै आलोचना पनि भयो । रतनपुर जंगलमा उनको क्रियाकलाप चलिरहँदा भक्तजनका नाममा हजारौँले लाखौँ रुपैयाँ चढाए ।

सिन्धुपाल्चोकमा बमजन
करिब २२ महिनाअघि हेलिकप्टर चार्टर गरेर सिन्धुपाल्चोक गएका बमजन अहिले बोडेगाउँको जंगलमा छन् । बारामा रहँदा तपस्वी लिटिल बुद्ध भनिएका उनी पछि धर्मसंघ बमजनका नाममा जन्मदर्ता गरेका व्यक्ति हुन् । उनका अनुयायीले यो नाममा जन्मदर्ता गरेर रातो पासपोर्ट मागेर सडक आन्दोलनसमेत गरेपछि आलोचित बमजनको अहिलेको नाम महासम्बोधी धर्मसंघ गुरु हो । उनी अहिले बोधिश्रवण धर्मसंघका संरक्षक हुन् । संघको बारा, सिन्धुली, सिन्धुपाल्चोक, रौतहट र लम्जुङलगायत २५ जिल्लामा शाखा खुलेको बारा अध्यक्ष राजु शाहले बताए । संघका केन्द्रीय अध्यक्ष चैँ बाराकै निलबहादुर थिङ छन् । १० फागुन ०७० मा लमजुङको खुदीमा पनि पुगेका बमजनले यसअघि २७ चैत ०६९ मा सर्लाही पत्थरकोटमा सम्बोधन गरेका थिए । त्यतिखेर बाराको रतनपुरी र हलखोरियाबाट उनलाई हटाउने काम भएपछि पत्थरकोटमा आफन्तकहाँ पुगेका थिए । त्यहाँ सम्बोधन गरेका उनी लगत्तै सिन्धुली गएका थिए । त्यहाँ पनि उनले पत्रकारसम्मेलन गरे तर अनेकौँ विवादमा तानिएका उनले केही बोलेनन् । किताब लेख्न लागेका भन्दै कार्यकर्ता दर्शन लिम्वूले पत्रकारको जवाफ दिए ।
६ महिना टिकेनन् सिन्धुली
०७० वैशाखतिर सिन्धुली गएका बमजन त्यहाँ पाँच महिना पनि राम्रोसँग बस्न सकेनन् । जंगलमा बसेका उनी स्थानीयसँग विवादमा तानिए । आफूले पाएको ज्ञान लेख्न व्यस्त भनिए पनि उनले यो दुईवर्ष चार महिनामा त्यस्तो केही लेखेको सार्वजनिक भएन । बरु उनी ५ असोजमा एकाएक हेकिप्टर चार्टर गरेर सिन्धुपाल्चोक आए । त्यसयता उनी सिन्धुपाल्चोकको बोडेगाउँ जंगलमा छन् । सडकबाट करिब ४५ मिनेट हिँडेपछि उनी बसेको स्थलमा पुग्न सकिन्छ ।
किताब लेख्दैछन् बमजन
सिन्धुलीमा किताब लेख्न व्यस्त भनेर पत्रकारसँग नबोलेका बमजनले अहिले पनि आफूले पाएको ज्ञान उतार्न व्यस्त रहेको उनका अनुयायी तथा संघका बारा अध्यक्ष राजु शाहले बताए । भने, ‘चार जना आचार्य (खेन्पो)ले गुरुले भनेका कुराहरु लेख्दै हुनुहुन्छ ।’ ६ वर्षको तपस्या र त्यसयता प्राप्त ज्ञानलाई पुस्तकका रुपमा लेख्न व्यस्त भएकाले अहिले गुरुको कुनै सम्बोधन नहुँदा चर्चा कम भएको तर गुरु विश्वशान्तिको चिन्तामै रहेको शाहले बताए । ५० चेला छन् बोडेगाउँमा हेलिकप्टर चार्टर गरेर सिन्धुपाल्चोक बोडेगाउँ आएका बमजन सुरुमा एक्लै आएका थिए । यहाँ आएपछि उनको नाम धर्मसंघ बमजनबाट महासम्बोधी धर्मसंघ गुरु भएको छ । उनको नागरिकता, पासपोर्ट पनि यही नामबाट बनेको छ । एक्लै बोडे जंगल पुगेका बमजनलाई साथ दिन अहिले ५० जति चेला जंगलमा छन् । चार खेन्पोले उनको कुरा सुनेर लेख्दैछन् । उनी फेरि संसार र प्राणीजगतलाई नयाँ केही दिन तल्लीन रहेको शाहले बताए ।
बमजनका नाममा थांकाको व्यापार
पछिल्लो समय बमजन सिन्धुपाल्चोकको बोडेमा छन् । घरपरिवारसँग उनको सम्बन्ध टुटेको छ । परिवारका अधिकांश मलेसिया गइसकेका छन् । यता बमजन भने विश्वलाई नयाँ सन्देश दिने भनेर ध्यानमा छन् । ज्ञानका कुरा किताब लेख्दैछन् । यही बेला १२ वैशाखमा विनाशकारी भूकम्प गयो । नौ हजार मानिस मरे । अझ भन्नुपर्दा सिन्धुपाल्चोक त ध्वस्त नै बन्यो । तर बमजन बसेको स्थानमा भूकम्पको असर परेन । उनी सुरक्षित रहे । केहीलाई यही विषय व्यापारको बहाना बन्यो । अहिले काठमाडौँमा रहेका थान्का बनाउनेहरु ज्योति झलमल्ल देखाएर बमजन तपस्या बसेको स्थलको थान्का प्रिन्ट गरेर संसारभर व्यापार गरिरहेका छन् । हाम्रा गुरु यति बलशाली छन् भनेर प्रचार गरेर कमाउ भन्दा चलेको छ । संघका बारा अध्यक्ष राजु शाह चैँ यो खबर थाहा नपाएको बताउँछन् ।
वेवसाइट कति कति
बमजन बारा, सिन्धुली, सिन्धुपाल्चोकमा जंगल कब्जाका लागि मात्र प्रयोग भएका छैनन् । उनका नाममा कोही थान्का बेचिरहेका छन् । कोही पेन्टिङ बेचिरहेका छन् । पछिल्लो समय उनको नाम पाल्देन दोर्जी पनि थियो । गुगलमा रामबहादुर बमजन, पाल्देन दोर्जी, बमजन, महासम्बोधी धर्मगुरु टाइप गरेर खोज्दा उनका अनेकौँ लिंकहरु भेटिन्छन् । कतिपय वेवसाइट डाइभर्ट गरिएका छन् । गुगलमा एउटा भेटिन्छ, क्लिब गर्दा अर्को साइट खुल्छ । उनका नाममा ४० भन्दा बढी वेवसाइट, सामाजिक सञ्जाल, ब्लग निर्माण भएका छन् । उनका भिडियोहरु युटुबमा पोस्ट भएका छन् र डिजिटल संसारमा पनि बमजनको नाममा व्यापार गर्नेहरु कम छैनन् । शाह चैँ भन्छन्, ‘गुरुका अनुयायीहरुले गुरुको प्रचार नै गरेका छन् ।’
५६ राष्ट्रको निम्तो
बमजनलाई ५६ राष्ट्रबाट निम्तो आएको बताइएको छ । शाह भन्छन्, ‘पहिला ४० राष्ट्रमा चर्चा थियो, अहिले ५६ राष्ट्रबाट भ्रमणको निम्तो नै आएको छ ।’ आफ्नै परिवारका ४ जना चैँ मजदुरीका लागि मलेसिया पुगेका बेला बमजन भने ५६ राष्ट्रको निम्तो आउँदा पनि गएका छैनन् । किताब लेख्ने भनेर बसेका छन् । उनका अनुयायीले यसैलाई आम्दानीको बहाना पो बनाए कि ?
प्रधानमन्त्रीले पनि ढोगे ::
बमजनले प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटे । प्रधानमन्त्री भेट्न पुगेका बमजन प्रधानमन्त्री आउँदा उठेनन् । बरु प्रधानमन्त्री कोइराला निहुरेर बमजनलाई ढोगे । बमजनले खादा लगाइदिए । पत्रकारसँग अनेक आलोचनाको उत्तर दिनुपर्छ भनेर नबोल्ने बमजन प्रधानमन्त्रीलाई शान्तिको जिम्मा हामीलाई दिनुस् पनि भन्छन् । प्रधानमन्त्री बमजनको बोलीमा लठ्ठ हुन्छन् । प्रधानमन्त्रीले नै आफ्नो च्याम्बरमा बमजनलाई ढोगेको भिडियो युटुबमा हालेपछि अनुयायीलाई पक्कै उनका नाममा कारोबार सहज हुने नै भयो ।
हलखोरिया फर्कन चाहन्छन् बमजन
प्रधानमन्त्री कोइरालासँगको भेटमा उनका अनुयायीहरुले भनेका छन्, ‘हलखोरियामा हामीलाई धार्मिक वन चाहियो । हामी त्यहीँ बस्न चाहन्छौँ ।’ हलखोरियामा बमजनको आवास भवनहरु प्रहरीले भत्काएको छ । प्रधानमन्त्रीले ढोगे पनि बारा वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका बमजनलाई त्यहाँ बस्न असहज भएपछि सिन्धुली हुँदै सिन्धुपाल्चोक पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटको भिडियो हेर्दा उनी र उनका टोली बाराको हलखोरिया जंगल नै फर्कन आतुर छन् । यसका लागि उनीहरुले मुलुकका कार्यकारी प्रमुखलाई समेत प्रभावमा पार्ने प्रयास गरेका छन् ।
पाठ्यक्रममा पनि बमजन
विवादास्पद र शंकास्पद चरित्र देखाउने काम भएपछि आलोचित बमजनबारे शुभारम्भ प्रकाशन प्रालि काठमाडौँले निजी विद्यालयमा कक्षा ५ मा पढाइने ‘स्पार्क इङ्गलिस रिडर’ मा एउटा जीवनीको अध्याय नै राखेको थियो । ‘रामबहादुर बमजन’ शीर्षकको तीन पेजको जीवनीमा खाना र पानी नखाई ६ वर्षसम्म रामबहादुरले तपस्या गरेको उल्लेख छ । बारा रतनपुरी–५ का रामबहादुरले तपस्यास्थलमा भेट्न पुगेका लामा गुरुलाई दिएको जानकारी भन्दै ‘दुई नागले खुवाएर आफूलाई बचाएको’ उल्लेख छ । ‘सानै उमेरदेखि अध्ययन, ध्यान र पूजामा रुचि राख्ने ज्ञानी’ भन्दै उनको प्रशंसा गरिएको पाठमा रामबहादुरलाई सिद्धार्थ गौतम बुद्धको पुनर्जन्म समेत भनिएको छ । पाठमा रामबहादुरसँग जोडिएका विवादास्पद र शंकास्पद कुनै घटना उल्लेख छैनन् ।
चामल मिलमा काम गर्थे बमजन
पुस्तकका दाजु गंगाजितको भनाइ भन्दै २ जेठ २०६२ देखि रतनपुरीको जंगलमा रामबहादुरले ध्यान गर्न थालेको लेखिएको छ । तपस्यामा बस्नुअघि उनले ज्ञानको खोजीमा भारतको देहरादुन, लुम्बिनी र पोखराको भ्रमण गरेको उल्लेख छ । जबकि, ध्यान सुरू गर्नुअघि उनी निजगढका एक व्यापारीको पोखरास्थित ससुरालीको चामल मिलमा काम गर्दा शरीरको तल्लो भाग चल्न छाडेपछि बारा फर्केका थिए ।
बन्धक बनाएर यातना दिन्थे बमजन
७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेका जस्ता रामबहादुरका विवादास्पद क्रियाकलाप देखेका बारा निजगढका शिक्षक श्याम खरेल त्यस्ताको जीवनी पाठ्यक्रममा समावेश हुनु आश्चर्यजनक भएको बताए । हिमाल खबरडटकमका अनुसार बमजनले जंगलमा घाँस दाउरा खोज्न गएका मनहर्वा र रतनपुरी गाविसका चार दर्जन भन्दा बढी गाउँलेलाई हातपात गरेका थिए भने रिपोर्टिङ गर्न त्यहाँ पुगेका सञ्चारकर्मीलाई उनका अनुयायीले आक्रमण गरी क्यामरा फुटाइदिएका थिए । स्लोभाकियाकी ३५ वर्षीया सुजना टकाज (मारिची) र सिन्धुपाल्चोककी एक वृद्ध महिलालाई बोक्सी भन्दै तीन महिनासम्म बन्धक बनाएका थिए । त्यसअघि पनि उनले एक गोठालोलाई ‘जासुस’ भन्दै तरबार प्रहार गरी घाइते बनाएका थिए ।
सिन्धुलीमा पनि पाएनन् साथ
हलखोरिया जंगल छाडेका रामबहादुर सर्लाहीको पत्थरकोट–१ मा आफन्तको घरमा बस्थे । त्यसपछि सिन्धुलीको कमलामाई गएका थिए । त्यहाँ पनि स्थानीयसँग विवाद भएर बस्न नसकेका उनी हलखोरिया फर्कने तयारीमा रहेको थाहा पाएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी त्यहाँ उनका अनुयायीले बनाएका दुई पक्की घर भत्काएको थियो । ‘फेरि हलखोरियामै आउँदैछन् भन्ने थाहा पाएर प्रहरी परिचालन गरेर रोकेको बारा प्रशासनले जनाएको छ । लामो समय ‘धार्मिक इस्यु’ भन्दै रामबहादुरका क्रियाकलापबारे मौन प्रशासन गुरुलाई रातो पासपोर्ट र नागरिकता दिन माग गर्दै अनुयायी सडकमा उत्रिएपछि आक्रोशित हुने नै भयो ।
पक्राउ पुर्जी जारी
तपस्वी बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको थियो । अवैध रुपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बमजनसहित बोधीश्रवण धर्म संघका कार्यबाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले त्यतिखेर जानकारी दिएका थिए । उनीहरुविरुद्ध वन ऐन बमोजिम कारबाही हुने तयारी थियो ।
बमजन बने धर्मसंघ बमजन
तपस्वी कहलिएका बमजनको नागरिकता बनाउन परिवारजनलाई थाहै नदिई बोधी श्रवण धर्म सङ्घले नक्कली जन्मदर्ता प्रमाणपत्र बनाएपछि बमजनका आफन्तले पनि दुईवर्षअघि सिडिओ कार्यालय बारामा उजुरी दर्ता गराएका थिए । सङ्घका केही व्यक्तिले १३ वैशाख ०६९ मा रतनपुरी गाविसको कार्यालयबाट बमजनको नक्कली जन्मदर्ताको प्रमाणपत्र बनाएको थियो । चर्तुमान बोम्जनका नाति वीरबहादुर बोम्जन तथा माया तामाङ्नीका छोरा जन्म मिति २०४६/१२/२७ र नाम धर्मसङ्घ बोम्जनका नाममा जन्मदर्ता बनाइएपछि परिवारकै आपत्ति थियो । जन्मदर्ता किर्ते भएको बमजनका माइला दाजु दिलबहादुर बमजनले बताएका थिए ।
दिलबहादुरका अनुसार रामबहादुरको नाममा रतनपुरी गाविसको कार्यालयबाट २०५२/०१/०८ मा जन्मदर्ता प्रमाणपत्र बनिसकेको छ । भाइ रामबहादुरको नामै परिवर्तन गरी घरका सदस्यसँग सहमति नगरी बाहिरी व्यक्तिले जन्मदर्ता प्रमाणपत्र बनाइदिन गोप्य तरिकाले लागिपर्नु रहस्यमय भएको तपस्वीका परिवारका सदस्यले बताएका थिए ।
बमजन तपस्वी कहलिएपछि तत्कालीन नमोबुद्ध तपोवन संरक्षण तथा संवर्धन समिति रतनपुरी एवं हालको बोधी श्रवण धर्म सङ्घ हलखोरिया र तपस्वीको नाममा केही व्यक्तिले व्यक्तिगत स्वार्थका लागि चलखेल सुरु गरेको बमजन परिवारको भनाइ छ । एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रबाट भ्रमणका लागि तपस्वी बमजनलाई आग्रह आएको भन्दै सङ्घका पदाधिकारीले नागरिकता र राहदानी बनाउन चलखेल गरेका थिए ।
