Header Ads

पुर्ननिर्माण सम्मेलन सम्पन्नः चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने उद्देश्यले विहिबार आयोजित ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०७२’ सम्पन्न भएको छ । सम्मेलनका क्रममा नेपालको विकासका द्विपक्षीय, बहुपक्षीय साझेदार, दातृ निकायबाट चार खर्ब ४० अर्बको सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

घोषित सहायता प्रतिबद्धतामध्ये दुई खर्ब २० अर्ब अनुदान सहयोग हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । सम्मेलन समाप्तिपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा रामशरण महतले भारत, चीन, बेलायत, जापान, संयुक्त राज्य अमेरिका, नर्वेलगायत मुलुकले उदार हृदयले आर्थिक सहयोगको घोषणा गरेको बताउँदै वित्तीय सहयोगका अतिरिक्त प्राविधिक, परामर्श, सेवा र तालिममा पनि नेपाललाई मद्दत गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिए ।

सम्मेलन आयोजक समितिका संयोजक डा महतले भने, “संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय निकायले आर्थिक एवम् भौतिक सहयोगबाहेक त्यस्तो मद्दत गर्ने आश्वासन दिएका छन् ।” विपद् व्यवस्थापन, पूर्व तयारीका क्षेत्रमा प्राविधिक, परार्श र तालिम आवश्यक भएकाले ती क्षेत्रमा पनि दातृ निकायले सघाउने तत्परता देखाएको उनले बताए । महाविपत्तिपछिको छोटो अवधिमा नेपालले उक्त सम्मेलन आयोजना गर्न नसक्ने शङ्का उपशङ्का व्यक्त भइरहेका बेला अभूतपूर्वरुपमा सम्मेलन सम्पन्न भएको उनलेबताए । अर्थमन्त्रीले सम्मेलनमा ६० भन्दा बढी देशका उच्च प्रतिनिधिमण्डलले भाग लिएको र सम्मेलनमा व्यक्त सहायता प्रतिबद्धताअनुरुप परियोजना तयार पारेर इमान्दारीपूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे ।

 पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास एवम् नवनिर्माणका सम्पूर्ण काम प्रभावकारी एवम् पारदर्शी रुपमा कार्यान्वयन गर्न प्राधिकरण स्थापना, प्रमुख कार्यकारी अधिकृतको नियुक्तिलगायत काम शीघ्र गरिने जानकारी दिँदै उनले कार्यकारी अधिकृत उच्च नैतिक आचारण र स्वच्छ छविको व्यक्ति हुनुपर्छ भन्ने मान्यतामा सरकार अडिग रहेको स्पष्ट गरे । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनपछि विपद्को अवस्थामा नेपाल एक्लो छैन भन्ने सन्देश विश्वसामु प्रस्तुत गर्न मुलुक सफल भएको बताए ।

उनले भारत, चीन, जापान, नर्वे, विश्व बैंक, एसियाली विकास बैंकलगायत द्विपक्षीय र बहुपक्षीय निकायका प्रतिनिधिसँग सौहार्द्रपूर्व वातावरणमा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल भएकाले पनि सम्मेलन सफल भएको बताए । मन्त्री पाण्डेले विपद्का समयमा पनि धैर्यसाथ एकताबद्ध भएर अगाडि बढ्ने नेपालीको संस्कारले विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सफलता प्राप्त भएको जनाउँदै भने–“कूटनीतिक रुपमा समेत मुलुकको छवि उच्च पार्न सम्मेलन फलदायी भयो ।” - रातोपाटि बाट
Powered by Blogger.