Header Ads

लिपिस्टिकको कुरा छाड्नूस् न, भूकम्पपछि के गरेँ त्यो सोध्नूस् - कोमल ओली, संचारकर्मी एवम् कलाकार

साच्चै भन्नु पर्दा शनिबारको भूकम्प जाँदा म गाडीकै ऐना हेरेर लिपिस्टिक लगाइरहेकी थिएँ । राष्ट्रिय नाचघरको एक कार्यक्रममा जाने तयारीमा थिए । बल्खु नजिक पुगेपछि सडक छेउको खुला ठाउँमा गाडी पार्क गरेर लिपिस्टिक लगाउन मात्रै के खोजेकि थिए, भूकम्प सुरु भइहाल्यो । तर त्यसपछिका रातहरु रेडियो नेपालको स्टुडियोमा बसेर लगातार सूचना सम्पे्रेषण गरिरह्यौं ।

सूचनासँगै मानिसहरुमा हौसला जाग्ने, त्रासबाट छुटकारा पाउँने शन्देस, सामाग्री प्रस्तुत गरिरह्यौं ।
भूकम्प सुरु भएपछि सबैलाई पहिले आफ्नै चिन्ता हुँदो रहेछ । भूकम्प सकिएपछि मलाई मेरो घर परिवारको चिन्ता लाग्यो । गाडी छाडेर दौडदै घर पुगेँ । सबै ठिक ठाक भेटेँ । त्यसपछि बहिनीको घर पुगेँ । त्यहा पनि सबै सकुशल रहेछन् । त्यसपछि आफ्नो टोल र मुलुकको सम्झना अनि चिन्ता लाग्यो ।
हामीलाई हल्लाइरहेको छ, तपाईहरु सुरक्षीत रहनु होला
त्यही दिन रेडियो नेपाल दिउँसो साढेपाँच बजे पुगे । बिहान सात बजेसम्म रेडियोमा अनवरत सूचना सम्प्रेषण गर्ने काम सुरु भयो । भूकम्पका कारण काठमाण्डुका कतिपय एफएम स्टेसनहरु नै ढले । केही टिभी बन्द भए, केही सडकबाट समाचार प्रशारण गर्न थाले । त्यो बेलामा मनमा यस्तो सोच आयो की अबको भर भनेको रेडियो नेपाल कै हो । जनताले सूचना पाउने सशक्त माध्यम अब रेडियो नेपाल नै हुनेछ । नभन्दै हामी निरन्तर सूचना सम्प्रेषणमा जुट्यौं ।
रडियोमा बोलिरहँदा पनि भूकम्पका पराकम्पन गइरहेका थिए । स्रोताहरुलाई मैले पटक पटक हामी भूकम्पको पराकम्पले हल्लिरहेका छौ, तपाईहरु चाहिँ सुरक्षीत रहनुहोला भन्ने सन्देश दिइरहरहें । रेडियो नेपालको भवनकै विश्वासमा हामी निर्भयपूर्वक काम गर्न सकेका थियौं । जापान सरकारले ४२ सालमा बनाइदिएको भवन भूकम्प प्रतिरोधी पनि छ ।
त्यसले १० रेक्टर स्केलसम्मको भूकम्प थाम्न सक्छ भन्ने विश्वास छ ।
भूकम्पका कारण घर लेडेर हामीलाई किच्दैन भन्ने पूर्ण विश्वास थियो । त्यही विश्वासले आफू बसेको कुर्सी हल्लिरहँदा पनि सूचना रोकेनौं । भूकम्पबाट जोगिनु भएकाहरुलाई आशा नछाड्न आग्रह गरिरह्यौं ।
11038252_580364072067291_6311141852593940004_n
प्रशंसा गर्नुपर्छः भूकम्प मापन केन्द्र र उद्धारकर्मीको
अनवरत प्रशारणमा व्यस्त भइरहदा सरकारी अधिकारीहरुसँग सम्वाद पनि जारी रह्यो । उद्धार र राहतमा खटिएका धेरै निकायका अधिकारीहरुको भूमिका असाध्यै सह्रानीय लाग्यो । त्यसमा पनि सबैभन्दा अपडेट र जिम्मेवार भएर काम गर्ने निकायमा चाहिँ राष्ट्रिय भूकम्प मापन केन्द्र नै लाग्यो ।
केन्द्रका अधिकारीहरु रातरातभर हरेक विवरण दूरुस्त राखेर बस्नु भएको हुन्थ्यो । जति बेला रेडियोमा कुराकानी गर्दा पनि उहाँहरु तयारी अवस्था मै हुनुहुन्थ्यो । उहाँहरुले दिने जवाफ सटिक, चुस्त र भरपर्दीला हुन्थे ।
सुरु दिनदेखि भूकम्पका बारे उहाँहरुले जे जे भन्नु भएको थियो, ती सबै मिले, सत्य प्रमाणित भए । उहाँहरुलाई आफ्नो कार्यालयमा खान बस्न समेत समस्या भइसकेको रहेछ । तर पनि उहाँहरु निरन्तर काममा लागिरहनु भयो । उहाँहरुले सर्वसाधारणका लागि पनि सजगता अपनाउन सल्लाह दिनु भयो । ती सन्देशहरु हामीले पनि निरन्तर सम्प्रेषण गरिरह्यौं ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका जति प्रशंसा गरे पनि कम हुन्छ ।
हामी त कोठामा बसेर काम गर्यौं तर उहाँहरु त संकटग्रस्त क्षेत्र मै गएर खटिनु भयो । धेरैलाई जीवितै उद्धार पनि गर्नुभयो ।
यस्तो महाविपत्को बेला उद्धारकर्मीहरु आफै पनि जोखिममा हुन्छन् । तर उद्धारकर्मीहरु आफ्नो ज्यानको परवाह नगरी निरन्तर उद्धारमा खटिए । अझै खटिरहेका छन् ।
YATAYAT

आपत्का लुटेराहरु
यसपटकको भूकम्पमा सञ्चारकर्मीको रुपमा मैले निर्वाह गरेको भूमिका कस्तो थियो, त्यो आमस्रोताहरुले मूल्यांकन गर्नु नै होला । यो बाहेक पनि भूकम्पले धेरैलाई धेरै किशिमको पाठ पढाएर गयो । मैले पनि यो भूकम्पमा अरुको पीडामा आँशु झार्नेहरु पनि देखे । त्यही पीडालाई फाइदामा बदल्नेहरु पनि देखे ।
आपत्मा परेकाबाट फाइदा उठाउनेहरुको सूची बनाउनु पर्यो भने म यातायात व्यवसायीहरुलाई एक नम्बरमा राख्छु । (सबै थिएनन् होला, तर धेरै थिए) कसैको घर भत्केको छ, कसैले परिवारका सदस्य गुमाएका छन्, रुदैं कराउँदै आफन्त भेटन घर फर्कन चाहनेहरुलाई दोब्बर भाडा दिने भए चढ्न दिन्छु नत्र दिन्न भन्नेहरु कति निर्दयी होलान ? आफै कल्पना गर्नूस त !
मानवीयता हराएकाहरु पनि हाम्रो यहि समाजमा बस्दा रहेछन्, दुःख लाग्छ । यातयात व्यवसायीका सम्बन्धमा यात्रुहरुले विगतमा पनि धेरै किशिमका गुनासा र आरोप लगाउँथे । ती सत्य हुन् की होइनन् भन्ने दुविधा अब छैन । यसपटक उनीहरुले व्यवहारबाटै प्रमाणित गरिदिए ।
नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रमा परेको मूलुक हो । यो कुरा हामीलाई पहिले पनि थाह थियो । तर भूकम्प गइहाले कसरी उद्धार, राहत व्यवस्था पन गर्ने भन्ने चाहिँ हामीले थाह पाएका रहेनछौ जस्तो पनि लागेको छ । हरेक नेपालीसँग अब पाल र नेपाल हुनै पर्छ । पालको अभाव अहिले पनि लाखौ नागरिकलाई छ ।
गाउँमा ढुंगामाटोले बनेका घर तत्काल भत्कन्छन्, भाग्नै पाइन्न । काठमाण्डुमा त भागेर जाने पनि ठाउँ छैन । यसकारण हरेक टोल, वस्तीमा एक एक वटा पार्क चाहिने रहेछ । यसपटक कम्पाण्ड वालले थिचेका कारण पनि धेरैले ज्यान गुमाए ।
अब मनमा प्रश्न उब्जेको छ, यी पर्खालहरु नभएमा के हुन्छ ? पर्खाल नभइ नहुने संरचना होइन । कैयन मुलुकमा बसाइएका वस्तीमा पर्खाल बनाएर घर घेर्ने चलन छैन । चलेकै छ त ।
भूकम्पको बेला फाइदा लिनेमा केही कालोबजारी गर्ने व्यापारीहरु पनि हुन् । त्यस्तालाई के गर्न सकिन्छ भनेर मैले प्रहरीका एआइजी विज्ञानराज शर्मालाई सोधे । उहाँले आफ्नो मोबाइल नम्बर रेडियोबाटै अन एअर गरिदीनु भयो । तोकिएको मूल्य भन्दा बढि लिने व्यापारीलाई पाँच मिनेट भित्रमा पक्राउ गरेर कारवाही गरिने दावी गर्नु भयो ।
त्यसो गर्न नसके शर्माले पदबाटै राजिनामा दिन्छु पनि भन्नु भयो । म छक्क परे । सोचेँ यस्तै तदारुकता, यस्तै क्रियाशीलता सबै कर्मचारीमा सधै हुने हो भने नेपाल कस्तो बन्थ्यो होला ?
भूकम्प गइरहँदाको क्षणको सोचाइ र त्यसपछि सम्हालीनु पर्ने दुई फरक अवस्था हुन् । भूकम्प गइरहदा मैले पनि भगवानको नाम जपिरहेँ ।
तपाइले आफै अनुमान लगाइसक्नु भयो होला । हो, मैले महादेव कै नाम लिए । ॐ नमः शिवायः जपिरहेँ । तर विवाह नै नगरी मरिन्छ की भन्ने सोचाइ चाहिँ मनको कुनै कुनामा पनि आएन ।
(प्रस्तुतिः ध्रुव रिजाल)स्रोत/काठमान्डूटुडे बाट साभारित सामाग्री !
Powered by Blogger.