Header Ads

प्रेम प्रस्ताव राख्नेको संख्या १०१ पुग्यो - नविना लामा

काठमाडौं । पछिल्ला केही बर्षयता प्रेम प्रस्ताव राख्नेको लेखाजोखा गर्ने गरेकी छु । कतिपय आफ्नै पार्टी सिनियले पनि प्रेम प्रस्ताव राखे, तर मैले वास्ता गरिन । पछिल्लो गन्तिमा प्रेम प्रस्ताव राख्नेको संख्या १०१ पुगेको छ । तर म एउटैको प्रेममा छु । हा हा हा ...

नविना लामा (महासचिव अनेरास्ववियूं)

नविना लामालाई विद्यार्थी राजनीतिकी सेलिबे्रटी पनि भन्छन् । तपाईंलाई के लाग्छ ?
– सेलिब्रेटी विभिन्न प्रकारका हुन्छन् । कोही योग्यता, प्रतिभाले, कोही सुन्दरता त कोही अनेक चर्चाले सेलिब्रेटी बन्न पुग्छन् । म विद्यार्थी आन्दोलनमा निरन्तर क्रियाशील छु, हर परिवर्तनका आन्दोलनमा अग्रमोर्चामै छु, यस सन्दर्भमा मलाई सेलिब्रेटी भन्नु स्वाभाविकै हो । अग्रज नेताहरुको बनाएको, देखाएको जगमा इँटा थप्न म निरन्तर लागेकी छु । यस अर्थमा मलाई सेलिब्रेटी भनिएकोप्रति मलाई गर्व छ ।
रंगमञ्चका सेलिब्रेटीसँग फ्यानले कस्ता खाल्का अपेक्षा गर्दछन, त्यो भनिरहनु परेन । तर राजनीतिक सेलिब्रेटीसँग कस्तो अपेक्षा राख्दा रहेछन् ?
– स्वाभाविक रुपमा शुभचिन्तक, फ्यानहरुले मप्रति सद्भाव नै राख्नुहुन्छ । मेरो प्रगति चाहनुहुन्छ । राजनीति लागिरहोस् भन्ने नै चाहनुहुन्छ । विद्यार्थी आन्दोलनमा अहिलेसम्मको मेरो भूमिका, छवि जे छ, त्यसलाई जोगाओस् भन्ने नै चाहेको पाएकी छु ।
तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भन्ने चर्चा छ । प्रेम कहिलेदेखि र कसरी सुरु भयो ?
– हो, म पनि कसैको माया, शुभेच्छामा छु । कलेज जीवनताका नै मलाई कसैले खास चासो दिने र मेरो प्रगति चाहने गर्थे ।
अहिलेसम्म कतिजनाले प्रेम प्रस्ताव राखे ?
– धेरैले राखे । पहिला प्रेम प्रस्ताव राख्नेको यकिन छैन, तर पछिल्ला केही बर्षयता प्रेम प्रस्ताव राख्नेको लेखाजोखा गर्ने गरेकी छु । कतिपय आफ्नै पार्टी सिनियले पनि प्रेम प्रस्ताव राखे तर मैले वास्ता गरिन । पछिल्लो गन्तिमा प्रेम प्रस्ताव राख्नेको संख्या १०१ पुगेको छ । तर म एउटैको प्रेममा छु । हा हा हा ।
उनीहरुले कसरी प्रेम प्रस्ताव राख्थे ?
– उनीहरुले सभ्य तरिकाले नै आफ्नो कुरा राख्थे । स्कुले जीवन र कलेज जीवनमा खासगरी, सोझासिधा साधारण जीवनस्तर भएकाले नै मलाई प्रेमप्रस्ताव राख्थे । बाटोमा जिस्काउने, छेड हान्ने पनि थिए । धेरैजसोले मलाई बुझेर, मेरो कामलाई बुझेर नै प्रेमप्रस्ताव राखेका थिए ।
धेरै प्रेमप्रस्तावबीच कसैको प्रस्ताव अस्वीकार गरेकोप्रति पछुतो छ कि ?
– असल लाग्ने एक–दुईजना पढेलेखेका र सफलले पनि मलाई प्रेमप्रस्ताव गरेका थिए । आफ्नै समुदायका पीएचडी पढ्दै गरेकाले पनि प्रेम प्रस्ताव गरेका थिए, जो देशमै केही गर्न चाहन्छन् । तर, उनीहरुको सफलतालाई हेरेर आकर्षित भइनँ भनौँ । कसैको प्रस्ताव अस्वीकार गरेकोमा मलाई ठूलो पछुतो छैन ।
पार्टीभित्र वा अन्य पार्टीका कुनै नेताले प्रेम प्रस्ताव वा अनैतिक सम्बन्धको प्रस्ताव राखे कि ?
– त्यस्तो त होइन । तर, पुरुषको महिलालाई हेर्ने दृष्टिकोण जुन छ, त्यो पारा नदेखाउने भन्ने होइन । पुरुष प्रवृत्ति देखाउने पनि छन् । तर, मसँग सेक्सको प्रस्ताव त नेताहरुले राखेका छैनन् तर प्रेम प्रस्ताव त आयो ।
रंगमञ्च क्षेत्रमा हिरोइन् बनाइदिन्छु, मोडल बनाइदिन्छु भनेर महिलालाई शोषण गर्ने कुरा पनि बाहिर आएका छन् । राजनीतिक क्षेत्रमा पनि यस्तो समस्या छ कि ?
– नेताले नेता बनाउनै सक्दैन । समाजमा आफ्नो नेतृत्व स्थापित गर्नु सामान्य कुरा होइन । समाज र राजनीति बुझ्न जरुरी हुन्छ । महिलाका समस्या बुझेर, राजनीतिक परिवेश बुझेर भोलिको देश बनाउने नेता कसैले बनाएर बन्न सक्दैन । यसमा आफ्नो भिजन चाहिन्छ । निरन्तरता र सक्रियता चाहिन्छ । कुनै ठूलो नेताले चाहेर नेता बन्ने क्षणिक कुरा हो । मैले सुनेकी पनि छु, कुनै ठूलो नेताकै गर्लफ्रेन्ड भएका कारण कोही सभासद् भएका छन् रे । यो क्षणिक कुरा हो । कसैको आश्वासनमा कोही मिसयुज हुन पनि सक्छन् । यसबाट नयाँ पुस्ता जोगिन जरुरी छ ।
नविना एकजनाको प्रेममा छे । तर, नविनाको आशमा धेरै छन् भन्ने पनि चर्चा छ नि ?
– मलाई यस्तो लाग्दैन । तर, कस्तो आशा भन्ने प्रश्न आउँछ । सास रहेसम्म आश हुन्छ भन्छन् । धेरैले मबाट आशा गर्नु राम्रै कुरा हो ।
नविनालाई केही आरोप छन्, नविना केटीभन्दा केटा साथी बढी बनाउँछे पनि भन्छन् नि ?
– यो स्वाभाविकै हो । राजनीतिमा महिलाको सहभागिता कम छ । जहाँ महिलाको सहभागिता न्यून छ, त्यहाँ संगत पनि न्यून नै हुन्छ । राजनीतिमा लागेपछि भेटघाट, छलफल र अभियानमा लाग्नैपर्छ । राजनीतिमा पुरुष नै बढी छन्, सक्रिय छन्, जिम्मेवार पदमा छन् । काम गर्ने, संगठन विस्तार गर्ने सन्दर्भमा यसै पनि पुरुषहरुसँग बढी भेटघाट, छलफल गर्नुपर्ने हुन्छ । अहिले हाम्रो संगठनमा महिलाको सहभागिता बढ्दो छ । अब महिलासँग बढी संगत होला कि ।
नवीनालाई राजनीतिकी चतुर खेलाडी पनि भन्छन् । तर, महाधिवेशनमा केन्द्रीय सदस्य हुने तपाईंको दाउ चलेन नि ?
– राजनीतिमा म त्यति चतुर खेलाडी होइन । मेरो कुनै तिगडम छैन । तर, संगठनमा आफ्नो भूमिका निभाएरै हस्तक्षेप गर्न सक्छु भन्ने विश्वास छ । कुनै तिगडम गरेर मान्छे मन जित्नेमा मलाई विश्वास छैन । प्रस्ट कुरा गर्ने छवि नै मेरो अहिलेसम्मको पुँजी हो । चाकडी गर्ने मेरो स्वभाव छैन । कुनै नेतालाई चाकडी गरेको भए, केन्द्रीय सदस्य हुन्थेँ पनि होला । मैले कुनै सर्त र स्वार्थमा काम गरिनँ । अहिले म जहाँ छु, कार्यकारी पदमा छु, मेरा जिम्मेवारी थुप्रै छन् र म सन्तुष्ट छु ।
नविनाले केटाहरुलाई मख्ख पारेर राजनीतिमा सफलता पाउँछे भन्छन् नि ?
– मख्ख पार्ने भनेको आश्वासन दिने मात्रै होइन । मैले जे बोल्छु, त्यो गरेर देखाउँछु । यसमा मलाई विश्वास गर्नेहरु पनि छन् । मेरो काम र व्यवहारबाट कोही प्रभावित हुन्छन्, मख्ख पर्छन् भने त्यसलाई आफ्नो सफलता नै मान्छु ।
पुरुष प्रवृत्तिका कारण महिलालाई राजनीतिमा स्थापित हुन बाधा वा अप्ठेरो परेको अवस्था छ कि ?
– यो व्यक्तिमा भरपर्ने कुरा पनि हो । फेरि पनि समाज पुरुषवादी नै छ । उनीहरुलाई कसरी लिने, कसरी सामना गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । केही–केही पुरुषले महिलाको कुरा काट्ने पनि गर्छन्, फलानी यस्ती–उस्ती भन्ने खालका । यस्ता कुराले कहिलेकाहीँ तनाव हुन्छ ।
राजनीतिमा आउन चाहने नयाँ पुस्ता नारीका लागि तपाईंको खास सुझाव ?
– प्रमुख कुरा त, विचार र व्यवहार नै हो । विचार स्पष्ट हुनुप¥यो । यसमा महिला अधिकारका एजेन्डा पनि आउने नै भयो । आफ्नो विचार, व्यवहार र त्यसको निरन्तरताले नै समाजलाई प्रभावित गर्ने विश्वास लिनुपर्छ । आफूले बोकेको विचार, व्यवहार र मुद्दाबाट अरुलाई आकर्षित गर्न सक्नुपर्छ । सबैसँग घुलमिल हुनुपर्छ । कतिपय महिलामा आफैँ खाउँ, आफैँ लाउँ र आफैँ मात्र पदमा पुगौँ भन्ने प्रवृत्ति पनि हुन्छ, यसलाई त्याग्नुपर्छ । चरित्र असल हुनुपर्छ । र, नेता भइसकेपछि ज्ञान लिने र चेतना फैलाउने काम गर्नुपर्छ । यसो गर्ने नेतालाई नै पछिसम्म समाजले पछ्याउँछ ।
कहिलेकाहीँ नविनाले आवेशमा आएर संवेदनशीलता गुमाउँछे भन्ने पनि चर्चा चल्छ । सम्झना हुनेगरी यस्तो भएको छ कि ?
– आवेशमै आएर संवेदनशीलता गुमाएको जस्तो लाग्दैन । यद्यपि, मान्छेका कमजोरी हुन्छन्, गल्ती हुन्छन् नै । म पनि आवेशमा आएँ हुँला । तर, परिणाममुखी कुनै गल्ती गरेजस्तो लाग्दैन ।
तपाईंले कुनै नेतालाई मुखै छाडेर गाली गर्नुभएको छ कि ?
– यस्तो कुनै घटना छैन । तर, कहिलेकाहीँ गुटबन्दीमा एकखालको तिगडम, बाझाबाझ भने हुन्छ नै । समकालीनहरुसँग तँ–तँ, मम नहुने होइन ।

स्रोत/एसकाठ्मान्डु डट कम 
Powered by Blogger.