Header Ads

टुँडिखेलमा तीन दिनकी सुत्केरीका आँसु यसरी बगी रहे ...

कुरा सुरु नहुँदै मुना कार्कीका आँखा आँसुले भरिए । भुकम्पले विचल्ली भएकी सुत्केरी मुनाको काखमा १० दिनको नानी दुध खाइ रहेको थियो । सुत्केरीका आँसु गाला हुँदै शिशुको शरीरमा झरे । सुत्केरी कार्की बोलिन, ‘अप्रेसन गरेको १० दिन भयो । अप्रेसन गरेको तीन दिनमा टुँडिखेल आएँ ।’ मुना थोरै बोलेर आँसु धेरै झारिरहिन । अस्पतालले भुइँचालो जानसाथ ‘डिस्चार्ज’ दिएपछि सुत्केरीको यो विचल्लि भयो । बगी राखेका आँसु पुछ्दै थोरै बोल्ने साहस बटुलिन ‘भूइँचालो गएपछि प्रसुति गृह थापाथलीबाट हिड्दै हिड्दै आएकी हुँ ।

 टुँडिखेलमा आएर खुला ठाउँमा बसेकी थिए । दुई रात खुला आकाशमै बिते । सोमबार भने सेनाले ‘टेन्ट’ बनाइदियो ।’ आँखामा आँसु नथामिए पनि मन समालेर फेरी आँसु सँगसँगै अर्को पटक बोलिन —‘सबैको यस्तै छ । मेरो बिजोक कसले हेर्ने.?’ जति प्रश्न गर्यो उति आँसु मात्र झर्छन् । फेरी प्रश्न अघि सारेँ, खाना के खाँदै हुनुहुन्छ ? प्रश्न कानमा नपर्दै दुई पटक आँसु झरे अनि जवाफ आयो, ‘आइतबार र सोमबार त थोरै जाउलो बाहेक केही खान पाइन । जीउ करकली खान्छ । मैले केही खान सकेकै छैन । मेरो भन्दा पनि नानीको चिन्ता छ । नानीलाई न्यानो बनाएर राख्न नसकेकोमा चिन्ता छ ।’

अर्को प्रश्नले अझ बढी आँसु झरे, ‘दूध आएको छ ?’ केही जवाफ आएन सानो शिशुको अनुहारमा हेरेर घुक्कघुक्क गरिन् र अनुहारमा हेरेर बर्रर आँसु झारिन । छोरा कि छोरी ? आँसु सँगै जवाफ आयो, ‘छोरा..’ लामो रुवाई… काठमाडौँ नरदेवीमा कोठा लिएको घर पनि पुरै चर्किएको छ । घरको कुरागर्दा भनिन्, ‘नरदेवीमा हामी बसेको घर पुरै चर्किएको छ भन्ने सुनेकी छु । गाउँमा पनि सबै घर भत्किए अरे । खै कहिलेसम्म यो दुःख सहनु पर्छ ।’ भुइँचालो जानसाथ अस्पतालले डिस्चार्ज दिएछ । जति प्रश्न गर्छु उत्ति नै आँसु मात्र झार्छिन् । लगातार आँसु झरिरहे, भनिन् ‘अस्पतालले भुइँचालोले हल्लाउनासाथ एक दुई दिन भएका सबै सुत्केरी डिस्चार्ज गरिदियो ।’ फेरी पनि आँसु थामिएनन् । आँसुको धारा सँगै अस्पतालले जबरजस्ती डिस्चार्ज गरेको सुनाइन, ‘मलाई गाह्रो भइरहेको छ भने तर उनीहरुले उल्टै गाली गरे, ‘अस्पताल नै भत्किएपछि कहाँ बस्नुहुन्छ ? बाहिर तपाईंभन्दा सिरियस बिरामी आएका छन् तपाईं निस्कनुहोस् ।’ निरन्तरको रुवाइ ।

सबै प्रश्नले उनलाई रुवाएमात्र, बच्चालाई दूध पुगेको छ ? लामो रुवाइ ..‘छ ।’ उनका आँसु थाम्न टुँडिखेल कहिले छोड्नु हुन्छ ? प्रश्न तेस्याएँ । त्यसले झन् दुःखायो । रुदै रुदै भनिन्, ‘गाउँमा पनि घर भत्किएको छ कहाँ जाने ? यहाँ पनि कोठा भत्किएको छ । अब कहाँ कोठा खोज्ने ? अब म सँग केही किन्ने पैसा पनि छैन । बस्ने ठाउँ पनि छैन । मात्र एउटा १० दिनको बच्चा छ ।’ सरकारले केही राहात दिएन ? ‘चामल दिएको छ भनेर खबर आउँछ । गएर लाइन बस्न सक्दिन । ससुराले एक माना चामल ल्याउनु भएको थियो त्यो अस्ति नै सकियो ।’ एउटा टेन्टमा धेरै बस्नुपर्दाको पीडा समेत मुनामा छ । भनिन्, ‘सेनाले बनाइदिएको टेन्ट भित्र २०—३० जना बसेका छौँ । यो भिडमा मेरो पीडा कस्ले बुझ्ने ?’ सुत्केरी हुँदा माइतीको माया समेत नपाएको उनको गुनासो छ । भुकम्पका कारण माइतीघर पनि भत्किएको छ । माइतीका कुरा गर्नासाथ उनका आँसु थपिए । काभ्रेको पाँचखालमा माइती घर हो के गर्नु भुइचालोले माइती घर पनि छैन । सबैको विचल्ली छ ।’ कार्की श्रीमान बलराम सँगै सडकमा कपडा व्यापार गर्थिन ।

 एक दिनको कमाइ नै बेलुकाको हातमुख जोड्ने गरेका कार्की दम्पत्ति अहिले विचल्लिमा परेका हुन् । भुकम्पले व्यापार नहुँदा खर्चको समस्या भएको उनको गुनासो छ । सुत्केरीको पीडा एकातिर छ । भुकम्पले बिचल्लि बनाएको छ । अनि अप्रेसन गरेको ठाउँ दुख्ने गरेको तर केही उपाय नभएको बताइन,‘दुःखी हाल्छ नि ! तर कहाँ गएर कसलाई दुःख सुनाउनु ?’ ‘ड्रेसिङ’ गरेको ठाउँ दुख्ने गर्छ होला नि ? पीडादायी रुवाइ सहित ‘दुख्छ । दुख्न थालेपछि बस्दा पनि दुख्छ । उठ्दा पनि दुख्छ । सिधा उभिन त सक्तै सक्तिन । सबै हस्पतालमा भुकम्प पीडितका घाइतेमात्र छन् मलाई कुन अस्पताललले हेर्छ र ?’ कसैले सहयोग नगरेको गुनासो पनि उनीसँग छ ‘सबै आआफ्नो मान्छेलाई मात्र हेर्छन ।

 आआफ्नो मान्छेलाई राख्ने गर्छन । आफ्नो मान्छे नहुनेको खोइ कहाँ के नै हुन्छ र ?’ दुःख सुनाउँदा सुनाउदै थाकिसकेको भन्दै भनिन, ‘आफ्नो दुःख आफैँ सँग छ । अब लडाईं लड्न सक्दिन । रोएर बस्नु बाहेक अर्को विकल्प छैन ।’

 ससुराका कुरा
‘बुहारी सुत्केरी छ । सुत्केरी बुहारी सँगै टुँडिखेलमा बसेको छ दिन भयो । दुई दिन त सुत्केरी बुहारीसँगै खुला आकाशमा बस्नु पर्यो । सोमबार सेनाले टेन्ट लाइदिएपछि टाउको लुकाउने ठाउँ भएको छ ।’ दोलखाका टेकबहादुर कार्कीले दुखेसो गरे ।

थपे, ‘सुत्केरी हुँदा समेत बुहारीको राम्रो स्यहार गर्न सकिन । जाउलो पकाएर खुवाउछु । यहाँ भएका दुइटै बुहारी सुत्केरी छन् । एउटी आज (बिहिबार) १० दिनकी भइ अर्की दुई महिनाकी ।’ दुईटी बुहारी सँगै उनलाई गाउँको पनि चिन्ता छ, ‘बुढी गाउँमा छ । घर लड्यो भन्छन् । फोन पनि लाग्दैन । चार्ज सकिएपछि फोन चार्ज गर्ने ठाउँ पनि छैन । अत्यासै अत्यासमा दिन बित्दै छन् ।’ प्रस्तुति : लुइटेल दिनेश/नयापेज डट कम
Powered by Blogger.