यिनी हुन् आकाशमा डर नलाग्ने एयरहोस्टेज - रोशनी
काठमाडौं । जहाज हल्लिन थालेपछि रोशनीले सिटको दुवैतिर दरोसँग समातेर आमालाई सम्झिरहिन्। दुवै आँखा बन्द थिए। दुई सेकेन्डमै अग्नि एयरको जहाज पहाडबाट घस्रिँदै खोलाकिनारमा गर्ल्याम्गुर्ल्लुम्म खस्यो।
आँखा खोल्दा रोशनीको अगाडि कोही थिएन। जहाज कच्याक्कुचुक भएको थियो। यात्रुहरू चिच्चाइरहेका थिए। कसैको हातमात्र देखिएको थियो, कसैको टाउकोमात्र, कोही ढलिरहेका थिए। केही मधुरो स्वरमा 'हेल्प... हेल्प' भनिरहेका थिए।
पछाडि डेनमार्ककी एउटी युवती देखेर रोशनीले 'हेल्प मी' भनिन् तर 'सरी आइकान्ट हेल्प यु'भन्दै ती युवती बाहिर निस्कन खोजिन्।
रोशनी सिटबेल्ट फुकालेर उठ्न खोजिन् तर सकिनन्। खुट्टा कसैले च्याप्प समातेको थियो। करिब ६ वर्षीया भारतीय बालिकाले डराएर दुवै हातले उनको खुट्टा समातेकी रहिछन्। एयरहोस्टेज रोशनीको मन बालिकाको पीडाले झनै दु:खी भयो।
उनले उठाउन खोज्दा बालिकाले मानिनन्, मम्मीमम्मी भन्दै रोइरहिन्। जति कोसिस गरे पनि रोशनीले न ती बालिकालाई निकाल्न सकिन्, न आफैं बाहिर निस्कन सकिन्।
दुर्घटनास्थल जोमसोम ब्यारेकनजिकै भएकाले तत्कालै सेनाको टोली पुगेर उद्धार सुरु गर्यो। उद्धारटोलीका कसैले उनलाई भन्यो, 'मिस त बाँचिरहनुभएको रहेछ।' रोशनी झसंग भइन्, 'के त्यसो भए अरू सबै मरिसके?'
उनले उद्धारटोलीसँग आग्रह गरिन्, 'मलाईभन्दा पनि यो बच्चालाई बचाउनुहोस्।'
सेनाको टोली भित्र आउन खोज्दै थियो। ती बालिका चिच्चाउन थालिन्। बालिका धेरै चिच्चाउन थालेपछि द्रवित भएकी रोशनी उनलाई सकिनसकी निकाल्दै थिइन्। जहाजको ढोका ड्या म फुत्कियो र उनको खुट्टामा बज्रियो।
...
दुर्घटना हुने दिन साढे ९ बजे पोखरा-जोमसोमको उडान भर्न उनको टोली काठमाडौंबाट त्यहाँ पुगेको थियो।
त्यो दिन पोखरामै बसेर रमाइलो गर्न अन्य दुई एयर होस्टेज, पाइलट र कर्मचारी गरी नौजनाको टोली काठमाडौंबाट गएको थियो।
रोशनी बिहानै जोमसोमका तीन उडान गरिसकेर चौथो र त्यो दिनको अन्तिम उडान गर्दै थिइन्। मौसम राम्रै थियो। पाइलट प्रभुशरण पाठकले पनि पोखरा घुमाउन काठमाडौंबाट बुबाआमा बोलाइसकेका थिए।
जोमसोम विमानस्थल पुग्नै लाग्दा 'एयर ट्राफिक' भएको सूचना आएपछि आकाशमै राउन्ड लाउनुपर्ने भयो। एकपटक राउन्ड लगाइसकेपछि जहाज ल्यान्ड गर्नुपर्नेमा मास्तिर गयो। विमानस्थल देखिइरहेकै थियो। एक्कासि कहिलै नसुनेको आवाज कानमा गुञ्जियो। क्षणभरमै जहाज तल्तिर झर्न थाल्यो।
दुर्घटनामा स त घाइते रोशनीलाई सेनाले उद्धार गरेर पोखराको मणिपाल अस्पताल पुर्यायो। उनको खुट्टा 'फ्याक्चर' रहेछ। 'खुट्टा एकदमै दुखेको थियो तर म होसमै थिएँ', उनले तीन वर्षअघिको त्यो भयानक दुर्घटनाको बेलिबिस्तार लगाइन्, 'केहीबेरअघि पोखराबाट उडेका सबै यात्रु र पाइलटलाई सम्झिएँ, मसँगैको सिटमा बसेर लामो समय नेपाल घुम्ने योजना बुन्दै गरेको जोडी मरिसकेको रहेछ।'
रोशनीले याद गरेकी हिन्दी चलचित्र 'पा'की बालकलाकार १३ वर्षीया बालिकाको पनि दुर्घटनास्थलमा ज्यान गएको थियो। धन्य, उनको खुट्टा समातेर कहालिइरहेकी भारतीय बालिकालाई केही हुन पाएन। २१ जना चढेको जहाज दुर्घटनामा उनी, ती भारतीय बालिका, दुई डेनिस र अर्का एक भारतीय बाँचे।
'दुर्घटनापछि मेरो दुखाइभन्दा अरूलाई सम्झिँदा पीडाले मन भरियो', उनी दु:खी भइन्', जीवन भनेकै नसोचेको नतिजा रहेछ भनेर चित्त बुझाएँ।' मणिपालमा सामान्य उपचार गरेपछि उनलाई राजधानीको शिक्षण अस्पताल ल्याइयो। कतिपय टेलिभिजनले उनी मरेको स्कुप मारिसकेका रहेछन्।
'गलत समाचार मिडियामा भाइरल भएपछि बुबा आत्तिएर पोखरा पुग्नुभएको थियो', रोशनीले भनिन्, 'मिडियाको काम सत्य खोज्नुपर्नेमा बाँचेको मान्छेलाई मारिदिए।'
बाल्यकालदेखिको एयर होस्टेज बन्ने सपना पूरा भएको ६ महिना भएको थियो। हँसिली र साथीसँग छिट्टै घुलमिल हुने उनलाई यात्रा जहिले पनि छोटो लाग्थ्यो। हरेक दिन घरबाट निक्लनुअघि राशिफल हेर्ने बानी थियो उनको।
हतार भए पनि त्यो दिन उनले राशिफल हेर्न छुटाइनन्। 'यात्रा गर्दा ध्यान पुर्याउनुहोला' लेखिएको थियो।
'अस्पतालको शय्याबाट मैले बिहान पढेको स झें, त्यसपछि मलाई राशिफलप्रति अलि विश्वास लाग्न थाल्यो', रोशनी हाँसिन्।
...
२०६८ जेठ दुई गते रोशनीले पुनर्जन्म पाएको दिन थियो। 'आफ्नै आँखाअगाडि १६ यात्रुले ज्यान गुमाए, तर भगवान्ले मलाई अर्को जीवनको उपहार दिनुभयो, त्यसपछि मैले जन्मदिन मनाउन सुरु गरें', काठमाडौं लोकन्थलीकी २१ वर्षीया रोशनी हाँयजूले अन्नपूर्णसँग भनिन्।
तीन वर्षअघिको त्यो त्रासदी अहिले पनि उनको आँखामा घुमिरहन्छ। घाइतेहरूको चिच्चाहट कानमा गुञ्जिरहन्छ। तर त्यसले उनको मनमा डर उब्जाउँदैन। त्यो भयानक दुर्घटनाले आफूलाई कमजोर होइन, अझ साहसी बनाएको उनको अनुभव छ।
'मान्छेहरू एकपटक दुर्घटनामा परेपछि कहिल्यै यात्रा नगर्ने प्रतिज्ञा गर्छन्, अरूलाई पनि सकेसम्म जहाजमा यात्रा नगर भनेर सल्लाह दिन्छन्, मलाई झन् यात्रा गर्न मन लाग्यो, झन् निडर हुन मन लाग्यो', रोशनीले भनिन्, 'सायद मलाई भगवान्ले अझ राम्रो काम गर भनेर दोस्रो जीवन दिनुभएको होला, मनदेखि डर सधैंका लागि भाग्यो।' त्यति भन्दा उनका आँखा रसाइसकेका थिए।
'मैले कहिलै नसोचेको घटना भयो, सबैले प्लेन दुर्घटनामा कोही पनि बाँच्दैन भन्थे, तर म कसरी बाँचे छक्क पर्छु', उनी ग भीर भइन्, 'मृत्युलाई नजिकैबाट नियालेको भएर होला मृत्युदेखि अब डर लाग्दैन अहिले, सोच्छु जीवन सुन्दर रहेछ, यसको महत्त्व समयमै बुझ्नुपर्ने रहेछ।'
दुर्घटनापछि झन्डै नौ महिना आराम गर्दा कामको यादले धेरै सतायो उनलाई। अग्नि एयरको उडान बन्द भएपछि अन्य एयरलाइन्समा विज्ञापन खुलेको थिएन। समयको सदुपयोग गर्न उनले च्यानल नेपालमा कार्यक्रम चलाउन थालिन्।
एयरहोस्टेजमै जमिसकेकी रोशनीले गोमा एयरमा भ्याकेन्सी खुलेको थाहा पाएपछि निवेदन हालिन्।
'मेरो अनुभवका आधारमा गोमाले छनौट गरेपछि मेरो भुइँमा खुट्टा भएन', उनले खुसी भइन्, 'सबैले तिम्रो अनुहारमा त्यति ठूलो दुर्घटनाको कुनै छनक छैन भन्छन्, बुवाआमाले पनि यही काममा आउन रोक्नुभएन।'
अहिले उनी गोमा एयरबाट लुक्ला, फाप्लु, जुम्ला, हुम्ला, कालीकोटजस्ता जोखिमयुक्त रुटमा उड्छिन्, एयरहोस्टेजकै रूपमा। 'जति जोखिमयुक्त ठाउँमा जाँदा मन अलिकति पनि डराउँदैन, बरु साहस मिल्छ', उनी मुस्काइन् र एयरपोर्टतिर दौडिन्।
अर्को उडानको समय भइसकेको थियो।
यिनी हुन् आकाशमा डर नलाग्ने एयरहोस्टेज - रोशनी/स्रोत अन्नपूर्ण बाट


