विश्वविख्यात टिनएजर सेलिब्रेटी के तपाईलाई थाहा छ ?
टिनएज जीवनको महत्त्वपूर्ण समय। यो उमेरमा धेरैको जीवनको लय तय हुने गर्छ। यस्ता केही व्यक्ति पनि छन्, जो टिनएजमै विश्वविख्यात सेलिब्रेटी बनेका छन्। आफ्नै कर्मले करोडौंका मालिक बनेका छन्।
मलाला युसुफ
मलाला युसुफ
११ वर्षको उमेरदेखि ब्लगमार्फत किशोरी शिक्षाका लागि आवाज उठाउन थालेकी मलाला युसुफ पाकिस्तानी विद्रोही समूह तालिवानको तारो बनिन्। तापनि उनी निर्धक्क भएर आफ्नो अभियानमा लागिरहिन्।
सन् २०१२ मा स्कुल गइरहेका बेला तालिवान लडाकुले उनलाई टाउकोमा गोली हाने तर उनी बाँच्न सफल भइन्। यो घटनाले उनलाई संसारभर चर्चित बनायो। किशोरी शिक्षाका लागि आवाज उठाएकाले उनले नोबेल शान्ति पुरस्कार जितिन्।
राष्ट्रिय युवाशान्ति पुरस्कार, राष्ट्रिय बालशान्ति पुरस्कार पाइसकेकी उनलाई जर्मन चान्सलर एन्जेला मर्केलले 'आइडिन्टिटी अफ पाकिस्तान'को संज्ञा दिएकी छन्।
सेलेना गोमेज
किशोरावस्थामै विश्वसंगीतमा ख्याति कमाएकी सेलेना गोमेजलाई उनकी आमाले १६ वर्षमै जन्माएकी थिइन्। सेलेना पाँच वर्षको हुँदा आमाबाबु छुट्टिए। आमाबाबु सँगै नहुँदा उनलाई पीडा हुन्थ्यो।
आम्दानी केही नभएकाले छोरीको पालनपोषणमा आमाले धेरै दु:ख गरिन्। हुने बिरुवाको चिल्लो पात भनेझैं सानो उमेरमै टेलिभिजन सोमार्फत करिअर सुरु गरेकी सेलेना गायनमार्फत छोटो समयमै विश्वभर प्रख्यात बनिन्।
बाल्यकालमा धेरै दु:ख भोगेकी उनले अहिले विभिन्न अवार्ड जितिसकेकी छन्। सेलेना अहिले करोडौं डलरकी मालिक बनेकी छन्।
डेनियल रेडक्लिफ (ह्यारी पोर्टर)
बहुचर्चित बेलायती लेखिका जेके रोलिङको जादुमय कथा हो, ह्यारी पोर्टर। यो कथाका लागि एक जना पात्रको खोजी भइरहेका बेला डेनियल रेडक्लिफ फेला परे। त्यस बेला डेनियल १० वर्षका थिए।
डेनियलका अभिभावक उनलाई चलचित्रको आठ सिरिजमा काम गर्ने गरी अनुबन्ध गर्न मञ्जुर भए। सहमतिमा हस्ताक्षर गर्दासमेत चलचित्र हुने वा नहुनेमा उनी अन्योलमा थिए। डेनियलले ह्यारी पोर्टरमा काम गर्नुभन्दा पहिला बीबीसीको एक सोमा अभिनय गरेका थिए।
ह्यारी पोर्टरमा अभिनय सुरु गरेपछि उनको नाम विश्वभर फैलियो। उनले विभिन्न अवार्ड जिते। लन्डननिवासी डेनियल ह्यारी पोर्टरका कारण टिनएजसम्म आइपुग्दा विश्वविख्यात सेलिब्रेटी बनिसकेका थिए।
माइली साइरस
सन् २०११ मा हलिउडमा 'सम्पन्न किशोरी'का रूपमा घोषणा भइन् माइली साइरस। प्रख्यात नायिका तथा गायिका उनी टिनएजर सेलिब्रेटीमध्ये आर्थिक रूपमा सबभन्दा अब्बल मानिन्छिन्।
१८ वर्षको उमेरमा आइपुग्दा चारवटा एल्बम निकालिसकेकी माइलीको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ। ११ वर्षको उमेरमा टेलिभिजन सिरिजबाट करिअर सुरु गरेकी उनी अहिले विश्वभर रुचाइएकी नायिका तथा गायिका हुन्।
टेलर स्विफ्ट
१६ वर्षको उमेरमा टेलर स्विफ्टले पहिलो एल्बम विश्वबजारमा ल्याएकी थिइन्। सानैदेखि गायनमा रुचि भएकी उनी अहिले संसारकी शक्तिशाली सेलिब्रेटीमध्ये ६९औं स्थानमा छिन्।
सानो उमेरमा अत्यन्तै धेरै अवार्ड हात पार्ने सेलिब्रेटीका रूपमा समेत चिनिएकी उनको अहिलेसम्म २० मिलियनभन्दा बढी एल्बम बिक्री भइसकेको छ। विभिन्न हलिउड चलचित्रमा अभिनय गरेकी अमेरिकी पपस्टार तथा नायिका टेलरको सबभन्दा चर्चित गीत हो, 'लभस्टोरी'।
जस्टिन बिबर
क्यानडेली पपगायक तथा गीतकार जस्टिन बिबर अर्का विश्वविख्यात टिनएजर सेलिब्रेटी हुन्। 'माई वर्ल्ड' नामक गीतबाट चिनिएका उनले सन् २०१० र २०१२ अमेरिकामा 'आर्टिस्ट अफ द इयर'को उपाधि जितेका थिए।
सानै उमेरमा गायनबाट विश्वभर लोकप्रिय जस्टिन पनि संसारका शक्तिशाली सेलिब्रेटीमध्ये एक मानिन्छन्। गायनमा उनको दखल र लगाव देखेर आमाले उनलाई गायनमै अगाडि बढाएकी थिइन्।

