Header Ads

आजबाट हिन्दूहरुको महान व्रत स्वस्थानी व्रत आरम्भ

काठमाडौँ । आजदेखि हिन्दूहरुको महान व्रत श्रीस्वस्थानी व्रत प्रारम्भ भएको छ । आजबाट व्रत सुरु भए पनि पौष शुक्लपूर्णिमा भोली भएकोले माघ स्नान र कथा वाचन भोलिदेखि प्रारम्भ हुने छ ।

 आजदेखि हिन्दूहरुको घर–घरमा श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ । एक महिनासम्म चल्ने उक्त व्रतमा आजदेखि माघ शुक्ल पूर्णिमासम्म पूजा आराधना गरी कथा श्रवण गर्ने र सुनाउने गरिन्छ । यस पर्वमा विशेषगरी महिलाहरु बिहान सबेरै उठी स्नान गरेर महादेवको पूजा आराधना गर्छन् र बेलुका घरका सदस्यहरुबाट तथा आफै पनि श्रीस्वस्थानीको कथा वाचन गर्ने र सुन्ने गर्दछन् ।

काठमाडौको शालीनदीमा आजदेखि एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ । शालीनदीमा एक महिने व्रत बस्ने व्रतालुहरुका लागि विशेष व्यवस्था मिलाइएको शालीनदी माधवनारायण मेला मूल व्यवस्थापन समितिले जनाएको छ । विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य एवम् उच्च प्रतिष्ठाको कामना गरी व्रत बस्ने गर्छन् भने अविवाहित युवतीहरुले महादेव जस्तो योग्य पति पाउ भनि व्रत बस्ने गर्दछन् ।

एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पुर्णिमाको दिन विशेष पूजा लगाई रातभर जाग्राम बस्ने, सेलरोटी खाने, नाचगान र रमाइलो गरी समापन गर्ने चलन छ ।
Powered by Blogger.