Header Ads

इन्धनको मूल्य घट्यो, पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ कायम

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा घटेको मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो । पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटेको छ । डिजेल तथा मट्टीतेलमा ५ रुपैयाँ ५० पैसा घटाइएको छ ।

 अब नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरको ११६ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडान तर्फ १० रुपैयाँ घटेर प्रतिलिटर १३३ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत (प्रतिसिलण्डर १४ सय ७० रुपैयाँ) राखिएको छ । 

निगमलाई ४८ करोड ५९ लाख नाफा 
मूल्य समायोजनपछि नेपाल आयल निगमलाई मासिक ४८ करोड ५९ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ । आयल निगमका अनुसार पेट्रोलमा २१ करोड ७९ लाख, डिजेलमा ९ करोड ९२ लाख र मटि्टतेलमा ३ करोड ९ लाख नाफा हुने छ । 

यसैगरी हवाई इन्धनमा (आन्तरिक तर्फ) १२ करोड ५३ लाख र हवाई इन्धनमा (अन्तराष्ट्रिय तर्फ) ४४ करोड ८७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । खाना पकाउने ग्यासमा भने मासिक ४३ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको निगमले जनाएको छ । हाल नेपालमा पेट्रोल २० हजार किलोलिटर खपत हुने गर्दछ ।

 यस्तै डिजेल ७५ हजार किलोलिटर र मटि्टतेल २५ सय किलोलिटर खपत हुने गरेको छ । यस्तै हवाई इन्धन -आन्तरिक तर्फ) ३ हजार किलोलिटर र अन्तराष्ट्रिय तर्फ ७ हजार किलोलिटर खपत हुने गरेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास भने १५ लाख थान खपत हुन्छ ।
Powered by Blogger.