एक युवाले एटिएमकार्ड र पैसा जस्ताको तस्तै सम्बन्धित व्यक्तिलाई बोलाएर फिर्ता गरे
काठमाडौं, कार्तिक १९ । बैंकको एटिममा पिन कोड डायल गरेर कार्ड र निकालेको पैसा नलिइकन छोडेर गएको अवस्थामा फेला पारे तपाईँ के गर्नुहुन्छ? कति पैसा सकिन्छ त्यति निकालेर एटिएम फ्याँकिदिनुहुन्छ वा सम्बन्धित व्यक्तिलाई बुझाउनुहुन्छ? तर, पर्वतका एक युवाले उक्त एटिएमकार्ड र पैसा जस्ताको तस्तै सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट बैंकको भृकुटीमण्डपस्थित एटिएममा शुक्रबार पिन कोड हानेर रकम निकालेर मेसिनमै छोडिएको अवस्थामा फेला पारेका पर्वत स्थानीय घरभई हाल काठमाडौंमा अध्ययनरत निरञ्जन पौडेलले खातामा ५ लाख ६० हजार रुपैयाँ भएको एटिमकार्ड र निकालेर छोडिएको १ हजार ५ सय रुपैयाँ खातावालालाई फिर्ता गरेका हुन्।
पौडेलले आइतबार खातावाला रच्चु गुरूङलाई एटिएमकार्ड र निकालेर छोडिएको नगद रूपैयाँ बैंकमा नै बोलाएर फिर्ता गरे।
आफ्नै जिम्मामा चलाइने एटिएमकार्ड मेसिनमा छिराएर पिनकोर्ड हानेर छोडिएको अवस्थामा फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु भनेको नौलो र आश्चर्यजनक भएको नेपाल इन्भेष्टमेन्ट बैंक, नयाँसडक शाखाका सुपरभाइजर दीपक भट्टराईले बताए। उनले कार्ड हराएपछि प्रयोगकर्ताले आफ्नो कार्ड फिर्ता पाउने आशा निकै कम राख्ने हुँदा पौडेलले कार्ड फिर्ता गरेर प्रशंसनीय काम गरेको बताए।
‘विगतमा मेसिनमा कार्ड अड्किने समस्या धेरै आउने गरेको थियो,’ उनले भने, ‘अहिले कार्ड मेसिनमा नै भुल्ने गरेको पाइन्छ। तर, यसरी छोडिएका कार्ड फेला पार्ने मानिसले फिर्ता गरेको आफूले निकै कम देखेको र सुनेको छु।’ यस्ता घटनामा बैंकको कुनै दोष नहुने भएकाले प्रयोगकर्ता नै सचेत हुनुपर्ने देखिएको उनले बताए।
मेसिनमा कार्ड छोडेर हिडेकी रच्चु गुरूङले भनिन्, ‘मैले पर्यटकलाई सहयोग गर्नका लागि पैसा झिक्न पर्यटन बोर्डमा रहेको इन्भेष्टमेन्ट बैंकको एटिएममा पुगेकी थिए। हतारमा मैले कार्ड, पैसा र चलिरहेको ट्रान्ज्याक्सन बन्द गर्न भुलेछु।’ कार्ड फिर्ता गरेका पौडेलले आफुले कार्ड शुक्रबार बेलुकी फेला पारेर शनिबार नै फिर्ता गर्न खोजेपनि कार्ड वहाकसँग सम्पर्क गर्न नसकिएकाले आइतबार मात्रै फिर्ता दिएको बताए।

