Header Ads

यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक प्रभावकारी

कञ्चनपुर । पिपलाडी स्वास्थ्य चौकीले यहाँ सञ्चालनमा ल्याएको किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक प्रभावकारी भएको छ । स्वास्थ्य चौकीले क्लिनिक सञ्चालन भएको एक वर्षको अवधिमा दुई हजार ७ सय ३५ किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी उपलब्ध गराएको छ ।

जानकारी लिनेमा किशोरको तुलनामा किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी रहेको छ । हप्ताको शुक्रबारका दिन मात्रै सञ्चालन हुने क्लिनिकमा किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य र यौनबारे सूचना, परामर्श तथा उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको स्वास्थ्य चौकीका प्रमुख रतन बिष्टले बताए । क्लिनिकमा आफ्ना कुरा निर्धक्कसँग राख्ने, रोग लुकाउने र समस्या भन्न नसक्नेहरू क्लिनिक सञ्चालनपछि खुलस्त रूपमा आउन थालेको चौकी प्रमुख बिष्टले जानकारी दिए ।

किशोर अवस्थामा नै बालबालिका बिग्रने भएकाले उनीहरूलाई कुलत, धुम्रपान, मद्यपान र लागुऔषधबाट टाढा रहने सल्लाहका साथै समाजमा विद्यमान कुरीति र विसङ्गति हटाउनका लागि भूमिका खेल्नका लागि उत्प्रेरित गराउने कार्यले समाजमा बिस्तारै परिवर्तन ल्याउन थालेको उनले बताए । किशोरीमा रजस्वला हँुदा पार्ने प्रभाव, शारीरिक परिवर्तन, मनोवैज्ञानिक असर, पोषणयुक्त खानेकुराको प्रयोग र अभिभावकको भूमिकाबारे क्लिनिकमा परामर्श दिइने गरिएको छ ।

‘ग्रामीण क्षेत्रमा किशोरकिशोरीको सानै उमेरमा बालविवाह हुँदै आएकामा त्यसलाई रोक्नका लागिसमेत परामर्श दिने गरेका छौँ’–स्वास्थ्य चौकीका अनमी नारा पन्तले भने,‘बालविवाह भइसकेका किशोरकिशोरीलाई सानै उमेरमा बच्चा जन्माउनु हुँदैन र त्यसले पार्ने प्रभावबारे जानकारी दिँदा उनीहरू सचेत भएका छन् ।’

क्लिनिकमा पुग्ने किशोरकिशोरीलाई जानकारीमूलक पुस्तकसमेत पढ्नका लागि दिइने गरिएको छ । जसबाट उनीहरूले किशोर अवस्थाले शरीरमा ल्याउने परिवर्तन बारेमा बुझ्ने गरेका छन् ।-राष्ट्रियखबर बाट

Powered by Blogger.