Header Ads

मलेसियालाई ३६ रनले हराएसँगै नेपाल डिभिजन २ मा बढुवा , भोलि युगाण्डासँग खेल्ने

काठमाडौं, कात्तिक १२ । नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा बढुवा भएको छ । मलेसियाको क्वालालम्पुरमा बुधबार भएको खेलमा मलेसियालाई डिएल मेथडमार्फत ३६ रनले पराजित गरेसँगै नेपाल डिभिजन २ मा बढुवा हुन सफल भएको हो ।

 पाँच खेलमा चारमा जित एकमा हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै डिभिजन टूमा उक्लिएको हो । मलेसियाले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाउँदा खेल वर्षाले प्रभावित भएपछि खेलको निर्णय डकवर्थ लुइस नियमका आधारमा लिइएको थियो । नेपालका लागि नरेश बुढायरले नटआउट ४२ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ रन बनाए ।

यस्तै सुवास खकुरेलले ३ तथा कप्तान पारस खड्काले नटआउट १ रन बनाए । यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि व्याटिङ गरेको मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४२ रन बनायो । नेपालका कप्तान पारस खड्काले ४ विकेट लिए । यस्तै भुवन कार्कीले ३, शक्ति गौचनले २ तथा सागर पुनले १ विकेट लिए । मलेसियाको ब्याटिङमा अनुवारले सर्वाधिक ६९ रनको योगदान दिँदा खिजार र दुरासिंघमले समान २३–२३ रनको योगदान दिएर आउट भए । अन्य ब्याट्नम्यानहरुले गतिलो रन बनाउनै सकेनन् ।

नेपालले अब डिभिजन थ्रीको उपाधिका लागि बिहीबार युगाण्डासँग खेल्नेछ । चारमा जित र एक मा हार व्यहोरेको युगाण्डाको पनि ८ अंक नै भएपनि रनरेटमा नेपाल अघि छ । नेपालले अब आउँदो सन् २०१५ जनवरी १७ देखि नामिबियामा हुने डिभिजन टू क्रिकेटमा नामिबियासँगै केन्या, नेदरल्याण्डस्, क्यानडा र युगाण्डासँग खेल्नेछ ।

Powered by Blogger.