Header Ads

अमरेश, उपेन्द्र र महतोमाथि यसरी छानविन हुँदैछ संसदमा

काठमाडौं । देश टुक्राउने र पहाडियालाई तराईबाट लखेट्ने जस्ता सद्भाव विथोल्ने अभिव्यक्ति दिएको भन्दै अमरेश कुमार, सिंह, उपेन्द्र यादव, राजेन्द्र महतो सहितका सभासद्को अभिव्यक्तिबारे छानविन हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ, गृहमन्त्री वामदेव गौतमले केही सभासद्हरुले अभिव्यक्तिको श्रव्यदृश्य सामग्रीको प्रतिवेदन पेश गरेपछि संसदले छानविन गर्ने भएको छ ।

 संसद्मा सभासद्हरूले केही दिनअघि कैलालीको टीकापुरमा संघीय समाजवादी अध्यक्ष उपेन्द्र यादव, कांग्रेस सभासद् अमरेशकुमार सिंह, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका थिए । सोमबार संसद्मा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासद्जस्तो पदमा बसेर सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

 ‘‘माननीय सदस्यजस्तो गरिमामय पदमा बसेकाले दायित्व बिर्सेर हतियार उठाउनेजस्ता चेतावनी दिएको विषयमा सरकार र संसद्को गम्भीर ध्यान जानेछ,’ गृहमन्त्री गौतमले भने, ‘जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने आपत्तिजनक भाषणको अडियो रेकर्ड र आपत्तिजनक भाषण संसद्समक्ष प्रस्तुत गरेको छु ।’ सभामुख नेम्वाङले निर्देशन दिएपछि संसद्को राज्यव्यवस्था समितिले सभासद्हरूको विवादास्पद अभिव्यक्तिबारे अध्ययन थालेको छ ।

 मंगलबार बिहान समितिको बैठक बस्दै छ । समितिले अध्ययन–अनुसन्धान गरी दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउनेछ । ‘‘अहिले सभामुखको निर्देशनअनुसार राज्यव्यवस्था समितिले अध्ययन–अनुसन्धान गर्छ,’ संसद् सचिवालयका कानुनी सल्लाहकार रवि शर्मा अर्यालले भने, ‘के गर्ने भन्ने कुरा समितिको निर्णयबमोजिम हुनेछ ।’

 सभासद्हरूको मागअनुसार सोमबारको संसद् बैठकमा गृहमन्त्री गौतमले देशका विभिन्न भागमा २८ देखि ३१ साउनसम्म भएका आन्दोलनको विषयमा पनि जानकारी गराएका थिए । ‘संघीय प्रदेशको सीमांकनमा असहमत भई २८ देखि ३१ सम्म काठमाडौं, कैलाली, सुर्खेत, जुम्लालगायत ठाउँमा सरकारी सम्पत्तिमाथि तोडफोड गर्ने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि भएपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो,’ गौतमले भने ।
Powered by Blogger.