Header Ads

लाप्राक गाउँ नै सार्नुपर्ने अवस्थामा

गोरखा, वैशाख ३१ । लाप्राकका ८७ वर्षीय गणपति गुरुङलाई विनाशकारी भूकम्पबाट मुस्किलले ज्यान जोगिए पनि बचेको सास अब कसरी अड्याउने भन्ने चिन्ताले सताइरहेको छ।

उनलाई १२ गतेपछिको हरेक पल कहालीलाग्दो भएको छ। ‘भुइँचालोले मर्ने त मरिहाले, हामी बाँच्नेहरूको उठिबास भएकाले अब कसरी बाँच्ने भन्ने चिन्ताले व्याकुल बनाइरहेको छ’, उनले भने, ‘जत हे:यो उतै बिजोग छ, मन बुझाउने ठाउँ छैन।’ भूकम्पले लाप्राकमा मात्रै २२ जनाको मृत्यु भएको थियो।

भूकम्पपछि ६ जना अझै बेपत्ता छन्। गाउँका सबै घर भताभुंग भएका र खेती गर्ने जमिन पनि चिराचिरा परेकाले लाप्राकका भूकम्पपीडितले बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग राखेका छन्। वर्षा भइरहेकाले चिरिएको भिरालो जमिनमा कुनै पनि बेला पहिरो जाने आशंकाले सताइरहेको छ।

 लाप्राकदेखि दुई घन्टाको पैदलयात्रापछि पुगिने उत्तर पश्चिमस्थित २७ सय मिटर उचाइको रिङछेलुङमा विस्थापितहरू पाल टाँगेर बसेका छन्। लाप्राकमा भूकम्पले ६ सय घर ध्वस्त बनाएको छ। आजको अन्नपूणै पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.