Header Ads

फेरि शक्तिशाली भूकम्प, साठीभन्दा बढीको मृत्यु,जनजीवन आतंकित

काठमाडौं । वैशाख १२ गतेको विनाशकारी भूकम्पको १८ औं दिन मंगलबार फेरि गएको शक्तिशाली भूकम्पमा परी साठीभन्दा बढीले ज्यान गुमाएका छन् । भूकम्पमा हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । मंगलबारको भूकम्पबाट पनि लाखौं मानिस प्रभावित भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार मध्यान्ह १२.५२ मा गएको ६.८ रेक्टर स्केलको भूकम्पको केन्द्र दोलखा र सिन्धुपाल्चोकको सिमानामा रहेको छ ।

 सामान्य अवस्थामा फर्किने तयारीमा रहेका जनजीवनलाई मंगलबारको भूकम्पले फेरी आतंकित तुल्याएको छ । तुलानात्मक रुपमा मानवीय तथा भौतिक क्षति कम भए पनि यसले सर्वसाधरणमा ठूलो त्रास पैदा गरेको छ । ठूलो भूकम्प आउँदैन भनेर घर फर्किसकेका राजधानीबासी तथा अन्य प्रभावित क्षेत्रका बासिन्दा फेरी पालभित्र छिरेका छन् । रातभर खुला आकाशमुनि बसेका छन् । गम्भीर अवस्थाका घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

रातिसम्म पनि सेनाको कमाण्डमा उद्धारको काम जारी थियो । भूकम्पमा परेका घाइते तथा फसेका व्यक्तिको उद्धार गर्ने काम बुधबार बिहानदेखि नै थालिने सेनाले जनाएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा धेरै क्षति बेहोरेका दोलखा र सिन्धुपाल्चोक नै मंगलबारको भूकम्पबाट पनि बढी प्रभावित भएका छन् । दोलखामा मात्रै ३४ जनाको ज्यान गएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा ४ जनाले ज्यान गुमाएका छन् ।

भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ उपत्यकामा ५ जनाको मृत्यु भएको छ।सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन् भूकम्पबाट एक हजारभन्दा बढी घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पबाट घाइते हुनेमा काठमाडौंमा ३ सय ५५, ललितपुरमा १ सय ६८, भक्तपुरमा १ सय ८२, सिन्धुपाल्चोकमा १ सय, दोलखामा २४, काभ्रेमा ३८, रामेछापमा ५, दाङमा २, तेह्रथुममा ४, सिराहामा ५, सप्तरीमा ३ र सुनसरीमा २ जना छन्। अन्य जिल्लाकासहित घाइतेको संख्या ११ सय माथि पुगेको हो । -अन्नपूर्ण पोस्टमा प्रकाशित सामाग्री साभार गरिएको हो ।
Powered by Blogger.