Header Ads

९० सालको भूकम्पपछि निब्र्याजी ऋण पनि लिन डराउँथे जनता !

काठमाडौं । अचेल डेढहजार रुपैयाले के आउँछ ? महंगी यति धेरै अकाशियो कि त्यति रकमले १० प्लेट मम पनि आउन छाडिसक्यो । तर कुनै जमानामा त्यति रकम पनि ठूलै हुन्थ्यो । नब्बे सालको महाभूकम्पका कारण घर गुमाएकालाई राहत उपलब्ध गराउँन प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पीडितोद्धार फन्ड स्थापना गरे र त्यसमा ५० लाख भन्दा बढी रकम जम्मा गरियो ।

 त्यही रकमबाट अधिकतम डेढ हजार रुपैयाँसम्म निब्र्याजी ऋण उपलब्ध गराउन घोषणा गरी वितरण पनि गरियो । ललितपुरको चलाछेँस्थित इन्द्रलाल चखुँको घर पनि क्षतिग्रस्त भयो र उनले पनि मौका छोप्दै ऋण लिए । इन्द्रलालका छोरा कन्हैयालालले आफ्ना बाबुले ऋण लिएर बनाएको घर देखाउँदै भने, ‘मेरो पिताजीले यो चार तल्ले घर बनाउने भयो र त्यही रकमबाटै सामान्य रुपमा भत्किएका पुराना घर पनि मर्मत गर्नुभयो । ’

इतिहासकार पुरुषोत्तम शमशेरका अनुसार जुद्ध शमशेरले ऋण वितरण गर्दा राजाजीहरुको नेतत्वमा कारिन्दाहरु दिएर ठाउँ–ठाउँमा पठाएका थिए । स्वर्गीय इन्द्रलाल प्रधानमन्त्रीका कारिन्दा थिए । कन्हैलालालकाअनुसार बाबु इन्द्रलाललाई पनि भूकम्प पीडितलाई राहतस्वरुप ऋण दिने कार्यमा खटाइएको थियो । पीताजी पाटनमा खटिनु भएको थियो कन्हैयाले भने – उहाँले चारसय मात्रै ऋण लिनु भयो ।

जुद्ध शमशेरका कारिन्दा भएका कारण इन्द्रलालका लागि काठपातको व्यवस्था प्रधानमन्त्रीले नै गरिदीएका थिए । अधिकतम डेढहजार दिन सकिने भनेर जुद्ध शमशेरले ९० साल फागुन २९ गते इस्तिहार जारी गरेका थिए । अझैसम्म कन्हैयालालसँग सो इस्तिहारको एक प्रति सुरक्षित छ । इस्तिहारमा कर्जा लिएको छ महिनासम्म पनि घर बनाउन नलागेमा वा अन्यत्र खर्च गरेमा रकम तुरुन्त फिर्ता लिइ सयकडा १० दण्ड पनि दिने र अन्य बेला ऋण नदिने उल्लेख छ । ऋण चुकाउन चार वर्षभित्र पटक पटक गरेर बुझाउन भनिएको थियो ।

 त्यसबेला १ हजार ५ सयसम्म ऋण दिने सुविधा सरकारले दिएको थियो । तर पाटनका धेरैजसोले दुई –चार रुपैया मात्रै ऋण लिएका थिए । ऋण निब्र्याजी थियो । तर धेरै जसो सोझा जनता पछि तिर्न गाह्रो हुन्छ भनेर डराइ गराई ऋण लिन्थे । १९९२ मा ऋण बुझाउन नसक्नेको सबै मिन्हा भयो ।

१९९० सालमा एक तोला सुन ३९ रुपैयाँमा पाइन्थ्यो । त्यसबेला डेढ हजार रुपैयाँमा ३९ तोला सुन पाइन्थ्यो । अहिले एक तोला सुनको मूल्य ५० हजार छ । त्यसबेलाको डेढ हजारलाई सुनमा बदलेर अहिलेको मूल्य निकाल्ने हो भने झण्डै सवा १९ लाख रुपैयाँ हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
Powered by Blogger.