Header Ads

एएफसी–यु १४ : नेपालले इरानको सामना गर्ने

काठमाडौँ, वैशाख ६ । भोलिदेखि राजधानीमा सञ्चालन हुने १४ वर्ष मुनिका महिला खेलाडी सम्मिलित एसियाली फुटबल महासङ्घअन्तर्गतको पहिलो खेलमा नेपालले इरानको सामना गर्ने भएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)को कार्यक्रमअनुसार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा इरानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रतियोगितामा नेपालसहित श्रीलङ्का, इरान, माल्दिभ्स, भारत, भुटान र बङ्गलादेश गरी सात टोलीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोविन लिगको आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’मा परेको छ ।

त्यस्तै इरान, माल्दिभ्स र श्रीलङ्का पनि समूह ‘ए’ मा नै छन् । भारत, भुटान र बङ्गलादेश समूह ‘बी’ मा रहेका छन् । राउन्ड रोविनपछि समूहको शीर्ष दुई स्थानभित्र पर्ने टोली अन्तिम चारमा पुग्नेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ७२ लाख खर्च लाग्ने आयोजक एन्फाको अनुमान छ ।
Powered by Blogger.