Header Ads

२ सय देशको झण्डा किन फहराइँदै छ विश्वको उच्च शिखर सगरमाथामा ?

काठमाडौँ, चैत २५ । विश्व शान्ति र मित्रताको भावना जगाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथामा १९३ राष्ट्रका झण्डाहरू फहराइने भएको छ । विश्व शान्ति मितेरी मञ्च नेपालको ’विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण -२०१५’ नामक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको हो ।

 मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठी शेर्पाले १९३ राष्ट्रसङ्घ सदस्य मुलुकको राष्ट्रिय झण्डा लिई आगामी २०७२ जेठ महिनामा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउने संस्थाद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । आरोहण सम्पन्न गरेपछि आगामी असारभित्र राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रको सगरमाथामा फहराइएको झण्डाको तस्विर सम्बन्धित राष्ट्रप्रमुखहरूलाई र राष्ट्रसङ्घको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताका लागि ध्यानाकर्षणपत्रका साथमा पठाइने मञ्चले जनाएको छ ।
शान्ति स्थापनाका लागि व्यक्ति, समाज र देशको प्रयासमात्र अपर्याप्त हुने भएकाले विश्वभर एकीकृत पहल होस् भन्ने हेतुले अभियान सुरु गरिएको मञ्चका अध्यक्ष विनय शाक्यले बताए । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डा फहराई विश्वभर शान्तिको सन्देश प्रवाह गर्न अभियान फलदायी हुने दाबी गरे ।

 आरोही शेर्पाले कुनै कीर्तिमान राख्न र तोड्न नभई विशुद्ध शान्ति र मित्रताको भावना विश्वभर जगाउन सर्वोच्च शिखरबाट झण्डा फहराउन लागेको बताए । आरोहणका लागि झण्डै रु. १८ लाख लाग्ने र सो रकम आफैंले बेहोर्ने जानकारी पनि उनले दिइन्। सो अवसरमा सगरमाथाबाट फहराइने सबै राष्ट्रका झण्डाहरूको नमूना प्रदर्शन गरिएको थियो ।
Powered by Blogger.