Header Ads

एमालेले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौँ । नेकपा (एमाले) को आज बिहान बसेको स्थायी कमिटीको आकस्मिक बैठकले नेता रामनाथ ढकालको दुःखद निधन भएकामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
बैठकले उहाँको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टी झन्डा आधा झुकाउने, औपचारिक कार्यक्रम तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र आगामी २०७२ साल वैशाख ४ गते श्रद्धाञ्जलि सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीलाई निर्देशित गर्ने निर्णयसमेत गरेको एमालेले जनाएको छ ।
यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा राख्नु भएको छ । अध्यक्ष ओलीले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा ढकाल पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान् युवानेता हुनुभएको र उहाँले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रविरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल हुनुभएको उल्लेख छ ।
अध्यक्ष ओलीले दुःखको यस घडीमा एमाले केन्द्रीय कमिटीका तर्फबाट ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । ढकालको आइतबार स्वाइन फ्लुका कारण ग्रान्डी अस्पतालमा निधन भएको थियो । ढकालप्रति अहिले पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जलि दिने कार्यक्रम भइरहेको छ भने ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि अर्पण
नेकपा (एमाले)का दिवङ्गत नेता रामनाथ ढकालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि राखिएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाई नेता ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । श्रद्धाञ्जलि दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल पार्टीका अन्य नेताहरू तथा मन्त्रिगण, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, राज्यलक्ष्मी श्रेष्ठ, रञ्जित कर्ण, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एनेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।
पार्टीको आकस्मिक स्थायी कमिटीको बैठक जारी रहेको छ । उहाँको शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिने छ ।
Powered by Blogger.