नबिल बैंकबाट किन आउँदैछ धमाधम संचालकहरुको राजीनामा ?

काठमाडौ, वैशाख २ । देशको प्रमुख बाणिज्य बैंक नबिल, त्यसमाथि अर्बपतिको सूचीमा परेर विश्वमा नै नाम कमाएका बिनोद चौधरीको हालीमुहाली । तर “खेताला” संचालक राखेर काम चलाउ ब्यवस्था गरिएपछि नबिल बैंकको प्रतिष्ठा झन् खस्कदै गएको छ । उद्योगपति चौधरीले नेपाल सरकारका उच्च पदमा पुगेर सेवा निबृत्त भएका कर्मचारीहरुलाई नबिल बैंकमा खेताला संचालक बनाएर लगे पनि उनीहरु अपमानित भएको महसुस गरी टिक्न नसकेर धमाधम राजीनामा गरी बाहिरिदा बैंकको प्रतिष्ठामै आघात पर्ने चिन्ता पनि बढेको छ ।
नेपाल सरकारका पूर्व बाणिज्य सचिव लालमणि जोशीले नबिल बैंकको संचालक समितिबाट राजीनामा गरेर छाडे लगत्तै अर्का विज्ञ संचालक शंकरप्रसाद पाण्डेले पनि राजीनामा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमार्फत बुधवार प्रबाह गरिएको सूचना अनुसार पाण्डेले दिएको राजीनामा गत चैत्र २५ गते बसेको संचालक समिति बैठकले स्वीकृत गरेको हो । पाण्डे नबिलमा विज्ञ संचालक चुनिनु अघि नेपाल सरकारका सचिव थिए । साधारणसभाबाट सञ्चालक चुनिएका पाण्डे र जोशीले अचानक राजीनामा दिएपछि नबिल बैंकमा हंगामा मच्चिएको छ । संचालकहरुले धमाधम राजीनामा गर्न थालेपछि नबिल भित्र “ खेताला” संचालकहरुले बिदा लिएको भन्दै कर्मचारीहरुले चर्चा गर्ने गरेको स्रोतको भनाई छ ।
जोशी र पाण्डे यसअघि नेपाल सरकारको सचिवको जिम्मेवारीमा हुँदा चौधरीको नमस्कार खाने गरेकोमा नबिलमा आएपछि अपमानित भएर उनकै खटन पटनमा हिड्नुपर्दाको पीडा बोध गरिरहेका थिए– स्रोतको भनाई छ । । नबिलमा अहिले राष्ट्र बैंकका पूर्व गभर्नर कृष्णबहादुर मानन्धर संचालक समिति अध्यक्ष छन् भने अन्य संचालकहरुमा चौधरीका छोरा निर्बाणकुमार चौधरी, शम्भुप्रसाद पौडेल, दयाराम गोपाल अग्रवाल, आशिश शर्मा र मोहिद्दिन अहमद बांकी छन् । सर्वसाधारण शेयरधनीका तर्फबाट चुनिएका संचालकहरुले धमाधम राजीनामा गरेर हिडेपछि यो प्रकरण झन् रहस्यमय बनेको छ । यस बारेमा बुझ्न नबिल बैंकका सूचना अधिकारी सुरेशप्रसाद त्रिपाठीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन तर बैंकका प्रमुख संचालन अधिकृत विनयकुमार रेग्मीले पाण्डेले राजीनामा गर्नुको कारण आफुलाई थाहा नभएको बताए । जोशी र पाण्डेले पनि संचालक पदबाट राजीनामा दिनुको कारणबारे सार्वजनिक रुपमा केही बताएका छैनन् ।

संचालक समितिमा प्रतिनिधित्व गराईएका पाण्डे र जोशी नबिल बैंकको धेरै शेयर ग्रहण गरेका वास्तविक लगानीकर्ता नभई बिनोद चौधरीको आग्रहमा संचालक बन्न आएकाहरु थिए । उनीहरुलार्इं आकर्षक भत्ता तथा सुविधा प्रस्ताव गरेर ल्याईएको थियो ।
गत बर्ष भएको नबिलको साधारण सभाले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार प्रति बैठक अध्यक्षले १५ हजार रुपैयाँ र सञ्चालकले १२ हजार रुपैयाँ भत्ता पाउनेछन् । उपसमितिहरुको बैठकमा सहभागि हुँदा पनि सोही अनुसार भत्ता पाउने साधारणसभाले पारित गरेको माइन्यूटमा उल्लेख छ । यसअघि प्रति बैठक अध्यक्षले १० हजार रुपैयाँ र सदस्यहरुले ८ हजार रुपैयाँ भत्ता बुझ्दै आएका थिए । यसरी भत्ता बृद्धि गर्दा पनि संचालकहरु धमाधम राजीनामा गरेर हिड्नुको पछाडि चौधरीले आफ्नो पक्षमा निर्णय गर्न बेला बेलामा दिने दबाब र स्वतन्त्र निर्णय गर्न नपाईने अबस्था नै रहेको बताईन्छ । चौधरीले केही बर्ष पहिले नेपाल राष्ट्र बैंकका गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई नबिल बैंकमा लगेर संचालक समितिमा राखेका थिए ।
त्यस्तै राष्ट्र बैंकका सेवा निबृत्त डेपुटी गभर्नर बीरबिक्रम रायमाझीलाई चौधरीले आफ्नो युनाईटेड ईन्स्योरेन्समा लगेर प्रमुख कार्यकारी बनाएका थिए तर बीमा समितिले चौधरीको थानकोटस्थित गोदाममा भएको आगलागीको घटनामा बढी बीमा भुक्तानी गरिएको लगायतका अनियमितता भेटेर कारबाही गर्न लागेको थाहा पाएपछि रायमाझी पनि युनाईटेडलाई बाई बाई गरेर हिडेका थिए ।
यसैबीच, नबिल बैंकको कम्पनी सचिवमा माधवप्रसाद रेग्मी नियुक्त भएको सूचना नेप्सेमार्फत दिईएको छ ।
-स्रोत/हाम्रो संदेश डट कम बाट
