Header Ads

मलेसियाबाट घर फर्कने नेपाली ठगिए

मलेसिया । मलेसियाबाट घर फर्कन चाहाने भिसा नभएका नेपालीलाई बिचौलियाले ठग्ने गरेको पाइएको छ। क्वालालाम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाबाट नेपाल जान चाहाने भिसा नभएका नेपालीलाई सहज रुपले घर पठाइदिने भन्दै केही बिचौलियाले अत्याधिक रकम असुल्ने गरेको पाइएको हो। घर जाने नेपालीसँग बिचौलियाले नेपालीले काम गर्ने कम्पनीमै गएर दुई हजारदेखि २५ सय रिङ्गेटसम्म उठाउने गरेको गुनासो आएको नेपाली दूतावासका उपनियोग प्रमुख हेमलाल भट्टराईले बताए।

मलेसिया सरकारले आजभोलि ‘अबैध विदेशी घर फर्क’ अभियान चलाएर भिसा नभएका विदेशीलाई सहजै स्वदेश फर्काइरहेको छ। यो अभियानमा सरिक भएर घर जान अबैध विदेशी नागरिकले आफ्नो देशको दूतावासबाट एकतर्फी यात्रा अनुमतीपत्र बनाई स्वदेश फिर्तिका लागि हवाईटिकटसमेत लगेरे अध्यागमन विभागमा आत्मसमर्पण गर्नुपर्छ। आत्मसमर्पण गरी ४ सय रिङ्गेट जरिवाना तिरेपछि अध्यामन विभागले स्वदेश फर्कने अनुमती पत्र दिने गरेको छ। मलेसिया सरकारले यस्तो अभियान थालेपछि नेपाली दूतावासले नेपालको परराष्ट्र र श्रम मन्त्रालयको अनुमतिमा अध्यागमनका पूर्व कर्मचारीको संगठन ‘कोपरासी’सँग सहकार्य गरी भिसा नभएर अबैध बनेका नेपाली नागरिकलाई घर पठाइरहेको छ।

नेपाली दूतावाससँगको सहकार्यमा अबैध नेपालीलाई घर पठाइरहेको कोपरासीले एकजना नेपालीसँग हवाई टिकट, अध्यागमनमा विभागमा तिर्नुपर्ने जरिवाना र अध्यागमनमा जाँदा आउँदा लाग्ने भाडासहित एक हजार दुई सय ८० रिङ्गेट लिने गरेको छ। दूतावासले कोपरासीसगको सहकार्यमा सहज ढङ्गबाट नेपालीलाई घर पठाइरहेका बेला केही बिचौलियाले नेपालीसँग चर्को रकम उठाएको भन्दै यात्रा अनुमति पत्र बितरणमा कडाइ गरेको छ। दूतावासले लिखित सूचना जारी गरी बिना भिसा नेपाल जान चहानेले कोपरासीमा एकहजार दुई सय ८० रिङ्गेट तिरेर फाराम भरेको रसिद पेश गरे मात्रै यात्रा अनुमति पत्र दिने जनाएको छ।

 घर जाने नेपालीलाई बिचौलियाले ठगेको गुनासो आएपछि दूतावासले यात्रा अनुमति पत्र वितरणमा कडाई गरेको उपनियोग प्रमुख भट्टराईले नागरिकन्यूजलाई जानकारी दिए। उनले भने, ‘दूतावासले १२ सय ८० रिङ्गेटमा घर पठाइरहेका बेला केही बिचौलियाले २ हजार, २५ रिङ्गेट उठाएर ठगी गरिरहेको गुनासो आएपछि यात्रा अनुमती पत्र वितरणमा कडाई गरेका हौं। हाम्रो उद्देश्य नेपाली नागरिक नठगिउन् भन्ने हो।’ केही बिचौलिया अबैध नेपालीले काम गर्ने कम्पनीमै गएर घर पठाइदिने भन्दै दुई हजारदेखि २५ सय रिङ्गेटसम्म असुल्ने र पैसा उठाएर घर नपठाउने गरेको पाइएको छ। त्यस्तो ठगी नियन्त्रण गर्न दूतावासले यात्रा अनुमति पत्र वितरणमा कडाई गरिएको भट्टराईले बताए। दूतावसले यात्रा अनुमतिपत्र वितरणमा कडाइ गरेपछि अबैध नेपालीलाई घर पठाउने काममा सक्रिय केही नेपाली एजेन्टले भने आपत्ति जनाएका छन्।

अबैध नेपालीलाई घर पठाउन सक्रिय मध्यका प्रदीप लामाले दूतावासले यात्रा अनुमतिपत्र लिन कोपरासीकै फाराम भर्नुपर्ने बाध्यकारी नियम बनाएर अन्य नेपाली व्यवसायी माथि अन्याय गरेको दाबी गरे। अबैध नेपाली कोपरासीबाट मात्रै घर जान पाउने नियम मलेसिया सरकारले नबनाएको भन्दै दूतावासले विदेशी संस्थासग मिलेर नेपाली व्यवसायीको रोजीरोटी खोसेको बताए। आफूले दूतावासले आरोप लगाएजस्तो २ हजारदेखि २५ सय रिङ्गेट नउठाएको दाबी गर्दै घर जाने नेपालीबाट प्रति व्यक्ति १५ सय रिङ्गेट भने उठाउने गरेको स्विकार गरे। त्यस्तै नेपाल मलेसिया बिजनेस अर्गनाइजेसन अफ एशोसियसनका पूर्वअध्यक्ष राजेश श्रेष्ठले घर जान चहाने अबैध नेपाली कोपरासीबाटै जानुपर्ने बाध्यता नभएको भन्दै आफै अध्यागमनमा गएर आत्मसमर्पण गरी जान सक्ने भएकाले दूतावासले यात्रा अनुमती पत्र वितरणमा कडाई गर्न नहुने बताए।

 अध्यागमनमा आत्ममर्पण गर्न जादा कोपरासीकै माध्यमबाट जानै पर्ने बाध्यकारी नियम भने अध्यामगनले बनाएको छैन्। जुनसुकै देशको अबैध नागरिक पनि आफ्नो देशको दुतावासबाट यात्रा अनुमति पत्र र हवाइ टिकट लगेर आत्मसमर्पणका लागि अध्यामगमन विभाग जान सक्छ। तर, नेपाली दुतावासले धेरै अबैध नेपाली एक्लै अध्यागमनमा आत्मसमर्पण गर्न जान नसक्ने र जादा असुक्षित समेत भएको पाइएकाले कोपरासीसग सहकार्य गरी उनिहरुलाई सुरक्षित तरिकाले आत्मसमर्पणका लागि अध्यागमन लगिने गरेको जनाएको छ। यसबैबिच,एनआरएन मलेसियाका केही जिम्मेवार व्यक्तिले समेत दुतावासले यात्रा अनुमति पत्र वितरणमा कडाइ गरेको प्रति आपत्ति जनाएका छन्।
 उनिहरुले दुतावास र एनआरएनबीच सोमबार बेलुका भएको छलफलमै आपत्ति जनाएका हुन्। स्रोतका अनुसार एनआएरएन मलेसियाका प्रतिनिधिले घर जानलाई कोपरासीकै फाराम भर्नुपर्ने नियम गलत भएको भन्दै त्यस्तो नियम हटाउन राजदुत निरन्जनमानसिंह बस्न्यातलाई आग्रह गरेका थिए। तर, राजदुत बस्न्यातले भने अबैध नेपालीमाथि धेरै ठगी हुन थालेपछी यात्रा अनुमति पत्र बितरणमा कडाइ गरिएको भन्दै यसमा आफू पछी नहट्ने जवाफ दिएका थिए। ‘बरु म नेपाल फर्कन तयार छु।’

राजदुतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,’तर,नेपाली ठगिन दिन्न। यो मेरो व्यक्तिगत स्वार्थ होइन। घर फर्कने नेपालीको स्वार्थ हो।’ छलफलमा राजदुत बस्न्यातले आफूले सधै नेपालीको पक्षमा काम गर्ने भन्दै नेपालीलाई ठगिनबाट जोगाउन कोपरासीसग सहकार्य गरिएको बताएको बैठकका एक सहभागीले बताए।- स्रोत/नागरिकन्युजबाट
Powered by Blogger.