Header Ads

नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बन्न सफल ३६ वर्षीया सविना

काठमाडौँ । ३६ वर्षीया सविना श्रेष्ठ नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बन्न सफल भएकी छन् । यसलाई उड्डयनको भाषामा 'आईपी रेटेड क्याप्टेन’ भनिन्छ । यो साता नेपाली उड्ययन क्षेत्रमा फेरि अर्को खुसी थपियो । यति एयरलायन्समा १६ वर्षदेखि जहाज उडाउँदै आएकी ३६ वर्षीया वरिष्ठ क्याप्टेन सविना श्रेष्ठ नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बन्न सफल भइन् ।

यसलाई उड्डयनको भाषामा 'आईपी रेटेड क्याप्टेन' भनिन्छ । 'नेपाली महिला पाइलटका लागि ठूलो उपलब्धि हो,' अवकाशप्राप्त वरिष्ठ पाइलट केबी थापा भन्छन् । पाइलटहरूको नियमन गर्ने नागरिक उडड्यन प्राधिकरणका अनुसार अहिलेसम्म ५ सय ८३ जनाले 'एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स' लिएका छन् । यसमध्ये करिब ३० जना महिला उडान भरिरहेका छन् । यसभित्र करिब आधा दर्जन हाराहारी महिला साना जहाजको क्याप्टेनसिप सम्हालिरहेका छन् भने ठूलो जहाज बोइङको क्याप्टेन एकजना मात्रै छिन, सोनी राणा । अब सविना पहिलो आईपी रेटेड क्याप्टेनका रूपमा चिनिनेछिन् ।

यती एयरलायन्सका ब्रान्ड म्यानेजर रोशन रेग्मीका अनुसार, यो साता नागरिक उड्डयन प्राधिकरणले सविनालाई आईपीका लागि अनुमतिपत्र दिएको हो । उनीसहित यतीमा अब ५ जना आइपी पुगे । दोस्रो विश्वयुद्धपछि लोकप्रिय बनेको जेटस्टि्रम विमानका लागि दिइएको आईपी पाएपछि सविनाले यसको श्रेय अभिभावकलाई दिएकी छन् । 'अझै पनि छोरीको पढाइमा भन्दा बिहेमा धेरै खर्च गर्ने नेपाली समाजमा प्रशिक्षक पाइलटको उपाधि पाएकोमा म मेरा आमा र बुवालाई यसको श्रेय दिन्छु,' बिहीबार त्रिभुवन विमानस्थलस्थित जेटस्टि्रमको ककपिटमा कान्तिपुरसँगको कुराकानीका क्रममा सविनाले भनिन् ।

 'छोरीलाई घर बाहिर नपठाउने समाजमा मेरा अभिभावकले आजभन्दा १७ वर्षअघि मलाई विश्वास गरेर पाइलट कोर्सको तालिमका लागि अमेरिका पठाउनुभयो,' उनले थपिन्, 'पाइलट पढ्न गएपछि आईपी बन्ने सपना थियो, आज पूरा भयो । अबका दिन सविनाले जेटस्टि्रम विमान सञ्चालन गर्ने निजी तथा सरकारी कम्पनीमा जहाजको रुट जाँच्ने, पाइलटहरूलाई क्पाप्टेन बनाउने, टेस्ट फलाइट गर्ने, उड्डयन सम्बन्धित तालिम दिने, विज्ञका रूपमा काम गर्नेछिन् । किनकि उनले पाएको यो आईपी सर्टिफिकेट अन्तर्राष्ट्रिय उड्डयन संगठनको मान्यता प्राप्त हो । यो आईपी लिनका लागि मात्रै कम्तीमा १० लाख रुपैयाँ खर्च हुन्छ ।

तर उनलाई अमेरिकाको ओक्लहमा रहेको 'वमेन पाइलट एसोसिसएसन' जो (९९ का नामले विश्वभर चिनिन्छ) ले फेलोसिप दिएको हो । यो संस्थाले सन् २०१३ मा दिएको एमिलिया इयरहार्ट मेमोरियल स्कोलरसिपअन्तर्गत सविनाले अमेरिकामा ६ महिना कोर्स गरेकी थिइन् । २०५५ माघमा यती एयरमा जुनियर पाइलट भई उडान सुरु गर्दा सविनाले टुइनअटर विमान उडाएकी थिइन् । १० वर्ष टुइनअटर उडाएकी सविना नेपालका ३२ वटा आन्तरिक विमानस्थलमध्ये अधिकांशमा उडान भरेकी छन्, यतीको विमानमा सुरुमा कोपाइलट र पछि क्याप्टेन भई । ६ वर्षयता जेटस्टि्रम उडाउँदै आएकी सविना अहिले ट्रंकरुट (भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी) मा उड्दै आएकी छन् ।

राजधानीको मध्यबानेश्वरमा जन्मे-हुर्केकी उनलाई बाजुरा, हुम्ला, जुम्ला, डोप्ला, मुगु, मनाङको उडान भने साहसिक लाग्छ । 'मलाई मौसम राम्रो भए सबै ठाउँ उस्तै लाग्छन् तर दुर्गम भेगको उडान सधैं सम्झिनलायक हुन्छन्,' चार वर्षकी छोरी साम्भवीकी आमा सविनाले भनिन् । करिब करिब देशभरको उडान चाखिसकेकी सविनाको रोजाइमा पोखरा उडान भर्न र घुम्न आनन्द लाग्छ । 'खास मेरो रोजाइको ठाउँ त छैन सबै उस्तै लाग्छन् तर पोखरा अलि मन पर्छ,' सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी पढेकी उनले भनिन् । सविनालाई अहिलेको अवस्थासम्म ल्याउन उडानमा सघाउने केही वरिष्ठ पाइलटहरूका अनुसार, उनी मेहेनती र सिक्न चाहने स्वभावकी पाइलट हुन् ।

'उनको उमेरमा धेरै महिला पाइलटहरूले व्यवसाय बदलेका छन्, कम्पनी फेरेका छन् तर उनी नेपाली आकाशमा फरक खाले पाइलट हुन्,' अवकाशप्राप्त एक वरिष्ठ पाइलटले भने । 'सबै क्पाप्टेनले चाहेर पनि आईपी उपाधि पाउन सक्दैनन्, यो कठिन प्राविधिक काम हो । त्यत्तिकै त पाइलट पेसा केटाले गर्ने काम हो केटी डराउँछन् भन्ने मान्यता बोकेको समाजमा सविनाको उपलब्धि धेरै ठूलो हो,' ती पाइलटले भने । सातामा एक दिनमात्रै छुट्टी मनाउने सविनाको आगामी दिन थप व्यस्ततामा बदलिनेछ । किनकि अब उनले २५ हजार फिटमाथि उडाइरहेको जेटस्टि्रमसँगसँगै नयाँ क्याप्टेन बनाउने काममा पनि उड्डयन क्षेत्रमा सघाउनुपर्नेछ । नेपालमा जेटस्टि्रम उडान भर्ने पाइलटले करिब ३ लाख रुपैयाँ पारिश्रमिक पाउँछन् ।

सविना पनि यसै सूचीमा पर्छिन् । तर, उनले पाएको आईपी उपाधिले उनको मानका साथसाथै दाम पनि केही बढाउनेछ । सानो छँदा बादलभित्र हराउने सपना देख्ने सविना जहिल्य र जुस्तोसुकै चुनौती स्विकार्न तयार हुने पाइलटको सूचीमा पर्छिन् । अरूले जोखिमपुर्ण काम भने पनि सविना आफ्नो पेसालाई 'एक्साइटिङ, एडभेन्चर र फन फिल्ड' भन्छिन् । जीवनसाथीको विषयमा पनि उनी भाग्यमानी छिन् ।

किनकि यही पेसामा रहेका भुवन प्रधान उनका श्रीमान् हुन आइपुगेका छन् । सेनाको लेफ्टिनेन्ट कर्णेल रहेका प्रधान एमआई हेलिकप्टरका पाइलट हुन् । सविनाकी छोरी पनि आमाको पेशामा अभ्यस्त बनिसकेकी छन् । हरेक दिन बिहान उनलाई एयरपोर्टसम्म पुर्‍याउने गाडी दैलोमा आइपुग्दा छोरी साम्भवी आमालाई उडानका लागि बिदाई गर्न आतुर भइहाल्छिन् ।-तस्बिर/ईकान्तिपुर
Powered by Blogger.