Header Ads

एमाओवादी नेतृत्वको बन्द दैनिक १२ घण्टा

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आह्‍वान गरेको तीन दिने आमहडताल दैनिक १२ घण्टामा सीमित राखिने भएको छ। गठबन्धनको सोमबार सिंहदरवारमा बसेको बैठकले आमहडताललाई बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राख्ने निर्णय गरेको हो।

गठबन्धनले मंगलबार,बुधबार र बिहिबार बन्द आब्हान गरेका छन। बन्दको विकल्प खोज्न सरोकारवालाले दिएको दबाब र बहुमतीय प्रक्रिया अघि बढाउन बोलाइएको संविधानसभाको बैठक एक साताका लागि स्थगित भएका कारण गठबन्धनले बन्दलाई खुकुलो बनाउँदै दैनिक १२ घण्टामा सीमित गर्ने निर्णय गरेको हो। 'अहिलेलाई हामीले मंगलबारको बन्दलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेका छौ' मधेशी जनअधिकार फोरमका नेता शिवजी यादवले अन्नपूर्णसँग भने'मंगलबार साँझ ५ बजे गठबन्धनको बैठक बसेर थप निर्णय हुन्छ।' सहमतिका आधारमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन गठबन्धनले बन्द आब्हान गरेको हो। बन्द फिर्ता लिन प्रधानमन्त्री सुशील कोइरालाले सोमबार मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष बिजय गच्छादार,तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई र आइतवार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर आग्रह गरेका थिए।

 बन्दमा प्रेस,एम्बुलेन्स र कुटनीतिक नियोगलाई दुरुपयोग गर्ने माथि कडा निगरानी राखिने यादवले बताए। 'वास्तविक प्रेस,एम्बुलेन्स र कुटनीतिक नियोगका सवारी साधनलाई भने रोकिने छैन'उनले अन्नपूर्णसँग भने। उनका अनुसार बन्दलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरिएको छ। मसाल जुलुस निकाल्नु अघि नै प्रहरीले अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा हस्तक्षेप गरी सचिव रञ्जित तामाङसहित उमेश थापा,देवेन्द्र पाख्रिन,प्रकाश घिमिरे,केशव इटनी लगायतका बिद्यार्थीलाई पक्राउ गरेको छ।

'प्रहरी हस्तक्षेपका बाबजुत पनि हामीले मसाल जुलुस निकालेका छौ' अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेश पुनले बताए। पुनका अनुसार आमहडतालको आब्हान गर्दै एमाओवादीले काठमाडौका प्रत्येक निर्वाचन क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको छ। नेपालगञ्जमा भएको मसाल जुलुसमा नेता नरेन्द्र न्यौपाने लगायत दर्जनौलाई प्रहरीले घाइते बनाएर अस्पतालमा भर्ना गरिएको अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले बताए।
Powered by Blogger.