Header Ads

राष्ट्रपति यादव चीनबाट स्वदेश फिर्ता - ९० करोड युआन प्रदान गर्ने घोषणा

काठमाडौँ, चैत १८ । राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा उक्त मुलुकको बोआओ सहरमा भएको ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन्। स्वदेश फिर्ता हुने क्रममा राष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च पदाधिकारीलगायतले स्वागत गरेका थिए। राष्ट्रपति यादवको स्वागत समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति यादवको भ्रमणले नेपाल–चीनबीचको युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्धमा थप उचाइ पुर्‍याएको भ्रमणमा सहभागी सहरी विकास मन्त्री डा नारायण खड्काले बताए। राष्ट्रपति यादवको भ्रमणका बारेमा विमानस्थलमा जानकारी गराउँदै मन्त्री खड्काले नेपाल–चीन सम्बन्धको हीरक महोत्सवसमेत यही वर्ष परेको र यस अवसरलाई भव्यताका साथ मनाउन दुवै देशबाट उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि एक भएको हुँदा यस भ्रमणको विशेष महत्व रहन गएको बताए। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनमा राष्ट्रपति डा यादवले नेपालका तर्फबाट विशेष सम्बोधन गरेका थिए। सम्बोधनमा राष्ट्रपति यादवले सम्मेलन एसिया महादेश एवम् अन्य क्षेत्रका मुलुकले सामना गर्नुपरेको साझा मुद्दामा छलफल गर्ने एवम् अनुभव र विचारको आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च भएको बताउँदै नेपालको वर्तमान राजनीतिक आवस्थाका बारेमा पनि जानकारी गराएका थिए।

सम्मेलनमा नेपालसहित चीन, आर्मेनिया, अस्ट्रिया, इन्डोनेसिया, श्रीलङ्का, युगान्डा र जाम्बियाका राष्ट्रपति, अस्ट्रेलियाका गभर्नर जनरल, कजाखस्तान, मलेसिया, नेदरल्यान्ड, कतार र स्विडेनका प्रधानमन्त्रीलगायतले सम्बोधन गरेका थिए। भ्रमणका अवसरमा राष्ट्रपति यादवले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङसँग बोआओस्थित स्टेट गेष्टहाउसमा द्विपक्षीय वार्ता गरेका थिए। राष्ट्रपति यादवले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदा राष्ट्रपति सिले उपयुक्त समयमा भ्रमण गर्ने बताएका थिए। सौहार्दपूर्ण रुपमा भएको सो वार्तामा चिनियाँ राष्ट्रिपति सिले नेपालमा छिटो दीगो शान्ति र स्थायित्वको कामना गर्दै आर्थिक उन्नतिको पथमा अगाडि बढेको हेर्न चाहेको बताएको मन्त्री खडकाले जानकारी गराए। भ्रमणका अवसरमा राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए। भ्रमणका अवसरमा चीनले नेपालको सामाजिक–आर्थिक विकासका गतिविधिलाई द्रुत गतिमा अघि बढाउन र कोदारी राजमार्गको स्तरोन्नति तथा अन्य सडक निर्माण र पूर्वाधार विकासमा लागि ९० करोड युआन प्रदान गर्ने घोषणा गरेको छ

यसका साथै चीनले पाँच वर्षका लागि १५ सय तालिम छात्रवृत्ति प्रदान गर्नेसमेत घोषणा गरेको छ। भ्रमणको चौथो दिन ल्हासा विमानस्थलमा राष्ट्रपति यादवलाई तिब्बत स्वशासित क्षेत्र सरकारका अध्यक्ष लोसाङ जियाङछुन तथा तिब्बत परराष्ट्र कार्यालयका उच्चपदाधिकारीले स्वागत गरेका थिए। भ्रमणका अवसरमा राष्ट्रपति यादवले चीनको मुख्य भूमिबाट ल्हासा हुँदै सिगात्सेसम्मको रेलमार्गको अवलोकन गरेका थिए। चीनले आगामी सन् २०२० सम्ममा यस रेलमार्गको विस्तार गरी केरुङसम्म पुर्‍याउने योजना रहेको जानकारी गराएको थियो । राष्ट्रपति यादवले सो रेलमार्ग नेपालसँग जोडिएको खण्डमा व्यापार, पर्यटन र जनस्तरको आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको मन्त्री खड्काले बताए।

महत्वपूर्ण आर्थिक मञ्च बोआओ फोरम फर एसियामा १० वर्षपछि नेपाललाई प्राप्त भएको यस निमन्त्रणामा राष्ट्रपति यादवले भाग लिएर मन्तव्य दिन पाउनु नेपालका लागि गौरवको विषय भएको मन्त्री खड्काको भनाइ छ । नेपालमा गणतन्त्र स्थापना भएपछिको राष्ट्रपतिको यो पहिलो औपचारिक तथा दुई देशका राष्ट्रप्रमुखबीचको पहिलो द्विपक्षीय भेट हो । यो वर्ष नेपाल–चीन सम्बन्धमा हीरक महोत्सव विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुगेको बताइएको छ ।
Powered by Blogger.