Header Ads

प्रहरी जवान भर्ना प्रक्रिया: एसएसपी खरेल विवादमा

काठमाडौं । एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्। भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य सदस्यलाई दबाबमा राखेर लोकसेवाको सिद्धान्तविपरीत बढी नम्बर दिएपछि जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ।

 लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा सिद्धान्तविपरीत गएर काम भएको भन्दै प्रहरी मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका लागि समय निर्धारण गरिएको हो। मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म जवानका लागि अन्तर्वार्ता लिने समय तोकेको छ। विभागका प्रमुख एआईजी रमेशशेखर बज्राचार्यले विशेष कारणवश अन्तर्वार्ता परीक्षा रद्द गरिएको बताए। तर विभागकै अर्का एक अधिकृतले भने लोकसेवाको सिद्धान्तविपरीत भएकाले रद्द गरिएको जानकारी दिए। अन्तर्वार्ताको पूर्णांक २० मध्ये कम्तीमा ८ र अधिकतम १२ नम्बर दिनुपर्ने प्रावधान छ।

तर अन्तर्वार्ता दिएका धेरै परीक्षार्थीलाई अधिकतम १२ नम्बरभन्दा बढी दिएको स्रोतले बतायो। स्रोतका अनुसार अन्तार्वार्तामा १७ नम्बरसम्म पाउने परीक्षार्थी पनि छन्। आयोगको सिद्धान्तअनुसार १२ नम्बरभन्दा बढी दिनुपरेमा विशेष कारण खुलाएरमात्रै दिनुपर्छ। तर खरेल अध्यक्ष रहेको परीक्षा समितिले चित्तबुझ्दो कारण नखुलाई अधिकतम नम्बर दिएको छ। भरतपुर तालिम केन्द्रबाट जवानका लागि तीन सय ७० जनाभन्दा बढीले अन्तर्वार्ता दिएका थिए।

 खरेल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका विश्वास पात्र भएकाले उनीमाथि कुनै कारबाही प्रक्रिया अगाडि नबढाइएको मुख्यालयका एक उच्च अधिकृतले बताए। 'खरेलको कार्यशैली प्रहरीको चेन अफ कमान्डभन्दा बाहिर छ तर संगठनले उनलाई कारबाही गर्ने हिम्मत नदेखाउँदा अचम्म लाग्छ', ती अधिकृतले भने। संगठनभित्र खरो स्वभावका मनिने खरेलले आफू मातहतका प्रहरी अधिकृतको बढुवामा पैसाको चलखेल भएको अभिव्यक्ति दिएर चर्चामा आएका थिए। उनले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाटसमेत हात धुनुपरेको थियो।

 पछिल्लो जवान भर्ना प्रक्रियामा आफूखुसी चल्न खोजेको आरोप लागेका खरेललाई अन्तर्वार्ता टोलीमा सहभागी नगराउनसमेत लोकसेवाले सुझाव दिएको स्रोतले बतायो। एसएसपी खरेलले भने आफूलाई त्यसबारे केही थाहा नभएको भन्दै पन्छिन खोजे। उनले बिहीबार साँझ अन्नपूर्णसँग भने, 'परीक्षा रद्द भएको हो र? मलाई त केही थाहा छैन, म बुझ्छु।' - See more at: http://annapurnapost.com
Powered by Blogger.