Header Ads

बिस्केट जात्राको रथ तान्ने क्रममा ढुङ्गा हानाहान दर्जनौ घाइते

भक्तपुर, चैत २८ । नयाँवर्षको आगमनसंगै भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ शुक्रबारु बिहान गःहिटी ल्याइएको छ । शुक्रबार साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ शनिबार बिहान प्रहरीले गःहिटी ल्याएको हो ।

रथ तान्ने क्रममा र जात्रामा ढुङ्गा हानाहान हुँदा नौ जना घाइते भएका र भक्तपुर अस्पतालमा उपचारपछि उनीहरू घर फर्केका अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिए । तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आ–आफ्नो क्षेत्रमा तानेर लैजाने गर्छन् । रथ तानेर साकोथा पुगेपछि ढुङ्गा हानाहान भएकामा प्रहरीकै संयमता र सक्रियतामा स्थितिलाई नियन्त्रणमा लिएर पुनः रथ तान्न सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए ।

  तौमढीस्थित गःहिटी ल्याएर राखेको उनले जानकारी दिए । जात्राको पहिलो दिन तानेको रथलाई गःहिटीमै पु¥याउनुपर्ने परम्परा छ । तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवम् सांस्कृतिक महत्व बिस्केट जात्रा नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन चलाएअनुसार अहिलेसम्म त्यही प्रचलन जारी छ ।

 प्रत्येक वर्ष वैशाख ५ गते जात्राको अन्तिम दिन हुने भएकाले उक्त दिन पाँचतले मन्दिरस्थित तौमढी भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्केट जात्रामै चैत ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र दिनभर जात्रा गरी साँझ त्यसलाई ढाल्ने गरिन्छ ।
Powered by Blogger.