कामदारबारे बुझ्न संसदीय टोली मलेसियामा
मलेसिया । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र मलेसियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिबीच सोमबार अन्तर्क्रिया भएको छ । सभापति प्रभु शाहको नेतृत्वमा आएको टोलीलाई मलेसिया सरकारसँग यथासक्य चांडो श्रम सम्झौताका लागि पहल थाल्न सुझाव दिएको छ ।

‘ पीडित नेपालीको समस्या समाधान गर्न र उनीहरुका पक्षमा लड्न समेत श्रम सम्झौता नहुंदा समस्या भइरहेको छ,’ कार्यक्रममा सहभागीहरु अधिकांशको भनाइ थियो ‘त्यसैले सबभन्दा पहिले त श्रम सम्झौता गर्नुपर्यो । त्यसपछि अन्य समस्या यसैअन्तर्गत समाधान हुंदै जान्छ ।’ भ्रमण विवादमा परेपछि त्यसलाई उपलब्धिमूलक बनाउन उनीहरुले प्रयास गरिरहेको दूतवाासका कर्मचारीहरुले जानकारी दिएका छन् ।
उनीहरु आफ्नै खर्चमा बसेको भनिए पनि भ्रमण के कस्तो तवरले भएको भन्नेमा दूतावासले अनभिज्ञता ब्यक्त गरेको छ । ‘उहाँहरु आउनु भएको छ । जानकारी लिनु भएको छ । के कस्तो खर्चमा आउनु भयो त्यो जानकारी भएन । होटमा बस्नु भएको छ । खर्च उहाँहरुले नै ब्यहोर्नु होला यसबारेमा जानकारी भएन’ राजदूत निरन्जनमान सिंह बस्न्यातले टेलिफोनमा बताए ।
टोलीलाई दुतावासमा कर्मचारी कम भएकाले पनि सेवा दिन ढिलाई एवं कठिनाइ भइरहेकोबारे समेत अवगत गराइएको थियो । अधिकांश नेपाली मलेसिया आउनुअघि नेपालदेखि नै ठगिने गरेको, मलेसिया आइसकेपछि सम्झौता अनुसार काम, तलबसुविधा नपाउने र कानुनी हैसियत गुमाउने गरेको भन्दै कामदार असुरक्षाबारे समेत जानकारी गराइएको थियो ।
टोलीमा समितीका बलबहादुर केसी, सोमप्रसाद पाण्डेय, भरत बहादुर खडा, कमलादेवी शर्मा, जितेन्द्र नारायण देव, सचीव शान्तकुमार तुलाधर, रमेश कोइराला लगायत छन् ।
